चार वर्षदेखि ‘भूत बंगला’ र दुर्व्यसनीको अखडा बन्यो अग्नीहोत्रशाला


काठमाडौं। पशुपति क्षेत्र विकास कोषको मुटुमा रहेको अग्नीहोत्रशाला चार वर्षदेखि ‘भूत बंगला’ र दुर्व्यसनीको अखडा बनेको छ। अत्यन्तै पवित्र मानिएको अग्नीहोत्रशाला दुर्व्यसनी र व्यभिचारीहरूको अखडा बनेको हो। उक्त अग्नीहोत्रशाला पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानको अवहेलनामा परेको छ।

वैदिक सनातन धर्मको मूलरूप र तीर्थहरूभन्दा पनि पवित्र मानिएको अग्नीहोत्र गुठी संस्थान र कोषमा उक्त अग्नीहोत्रको विषयमा नबुझेका व्यक्तिहरू आउदा लोप हुने अवस्था आएको हो। मठ, मन्दिर, देवालयभन्दा प्राचिन तीर्थस्थल हो। त्योभन्दा पनि प्राचिन अग्नीहोत्र हो। वैदिक सनातन परम्पराको अनादि धर्म अग्नीहोत्र हो। सबै धर्मको विकास भएको अग्नीहोत्र अहिले दुर्व्यसनी र व्यभिचारीको अखडा जस्तो बनेको छ। यो विषयमा पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानको तत्काल ध्यानाकर्षण हुन जरूरी देखिन्छ।

अग्नीहोत्रशाला कसरी सञ्चालन हुन्छ?

विधिवत् रूपमा वेद पढेको, बिबाह भएको, सन्तान भएको कुलिन ब्रहामणले विधिपूर्वक अग्नीहोत्री विज्ञ गुरूबाट दिक्षा लिएर बिहान र बेलुका नित्य हवन गर्ने र त्यो अग्नीलाई जीवनभर जोगाइ राख्ने काम गर्नुपर्छ। त्यस्ता अग्गीहोत्रीले औंसी र पूर्णिमामा विशेष अनुष्ठान गर्नुपर्छ। ति अग्नीहोत्री त्यहाँबाट अग्नी छाडेर अन्यत्र जान मिल्दैन। अग्नीहोत्रभन्दा बाहिरको आगोमा पकाएको खाना पनि खानु हुँदैन। तीर्थयात्रा गर्नेदेखि आय आर्जनका अन्य कुनै पनि काम गर्न समेत नपाइने वेदमा उल्लेख छ। अग्नीहोत्रीले अनिवार्य गाई पाल्नु पर्छ। गाईको दूधले नियमित हवन गर्नुपर्छ। गोबरको गुइँठाले अग्नी जगाउने र यज्ञशाला लिप्ने जस्ता काम गर्नुपर्छ। यस्ता अग्गीहोत्रको नियम पालन हुँदै आएको अग्नीहोत्रशाला आज दुर्व्यसनी र व्यभिचारीशाला जस्तो बनेको हो।

पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानको उदासिनताका कारण विश्व कै विशिष्ट र पवित्र अग्नीहोत्र सम्पदा अस्तित्व मेटिने अवस्थामा पुगेको छ। जसरी पशुपतिनाथ मन्दिर प्राचिन सम्पदा हो त्यसरीनै अग्नीहोत्रलाई पनि सनातन धर्मको प्राचिन र विशिष्ट सम्पदाको रूपमा लिइन्छ। तर, अहिले उक्त पवित्र स्थल लोपउन्मुख अवस्थामा पुगेको हो। अग्नीहोत्र बेगर वैदिक सनतान धर्मको कल्पना पनि गर्न सकिँदैन। अग्नीहोत्र परम्परा वैदिक सनातन धर्मको श्रीगणेश भएकाले त्यस्तो ठाउँलाई उपेक्षा गर्नु वैदिक सनातन धर्ममाथिको बेइमानी हो।

क्याटेगोरी : समाचार
ट्याग : #अग्नीहोत्रशाला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ