भूमिमन्त्री इङनामले पोल खोलेका पूर्वमन्त्री अधिकारीले पाएनन् टिकट
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङनामले पोल खोलेका पूर्व मन्त्री बलराम अधिकारीलाई एमालेले टिकट दिएन। गत २०७९ सालको प्रतिनिधिसभा सदस्यको चुनावमा एमालेबाट टिकट पाएर निर्वाचित भएका अधिकारी यसपटक हिस्स परेका छन्। चिनियाँ लामा नियुक्तिमा ‘घूस’ खाएको आरोप लागेका पूर्व मन्त्री अधिकारीलाई एमालेले टिकटबाट बञ्चित गरेको हो।
कपिलवस्तु-१ मा विश्राम चौधरीलाई टिकट दिएर विवादित अधिकारीलाई रोकेको हो। उनको टिकट रोकिनुमा भूमिमन्त्री इङनामले गरिरिएको खुलासालाई पनि खास कारण मानिएको छ।
२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका चक्रपाणि खनाललाई हराएर अधिकारी निर्वाचित भएका थिए। त्यसपछि उनी भूमि मन्त्रीमा ‘ह्याट्रिक’ हान्न सफल भए। उनै अधिकारीले काण्डमा पनि ‘ह्याट्रिक’ हाने। पोखराको लिचीबारी बगैंचाको जग्गा काण्डमामा पनि अधिकारीको नाम मुछियो। ‘घूसिया’ उपसचिव रामचन्द्र अधिकारीलाई पोखरामा ल्याउन र चिरञ्जीवी पौडेललाई हटाउन अधिकारीका नाममा तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घूस डिल गरेका थिए। गुप्ता अहिले पुर्पक्ष का लागि थुनामा रहेका छन्। कास्कीको भूमि आयोग अध्यक्ष बनाउने नाममा आर्थिक चलखेल भएको कुरा पनि छरपस्ट भइसकेको छ। सबै प्रपञ्च सरकारी/सार्वजनिक जग्गा भूमाफियालाई दिनका लागि हो भन्ने कुरा प्रस्ट भइसकेको छ।
अधिकारी भूमि मन्त्री हुँदा आर्थिक चलखेलका आधारमा पठाइएका मालपोत हाकिमलाई भूमि मन्त्री इङनामले हायलकायल बनाएका छन्। बौद्धस्थित बौद्धनाथ स्तुपास्थित बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा भूपतिबज्रलाई चिनियाँ लामा बनाउँदा ५ करोड लेनदेन भएको मन्त्री इङनामले खुलासा गरिदिए। उक्त काण्ड सार्वजनिक भएपछि रक्षात्मक बनेका अधिकारी टिकटबाट समेत बञ्चित भएका छन्। भूमि मन्त्री हुँदा आफ्नै सहपाठी टेकराज पौडेलदेखि गुठी माफिया दिपकराज पाठकलाई गुठी संस्थानको सञ्चालक समिति सदस्य बनाएर गुठीको हुर्मत लिएका अधिकारीलाई ‘देवस्व’ लागेको छ। उब उनलाई नेपाली जनताले मन्त्रीका रूपमा झेल्नुनपर्ने भएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस