निर्वाचन आचारसंहिता लागेपछि जलेको संसद् भवनमा ‘खरानी चाट्ने’ कर्मचारीको म्याद थप्न चलखेल
काठमाडौं। निर्वाचन आचारसंहिता लागेपछि जलेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ‘बिआईसीसी’ भवनमा ‘खरानी चाट्ने, फलाम चुस्ने’ करारका कर्मचारीको म्याद थप्न चलखेल भइरहेको छ। केही कर्मचारीहरू आर्थिक चलखेल गरेर म्याद थप्ने दौडधुपमा लागिपरेका छन्। संसद् भवन जलेर खरानी भइसक्दा पनि राजनीतिक पार्टीका भर्ति गरेका कार्यकर्ताहरू अझै खरानी चाट्न र फलाम चुस्न लागिपरेका छन्। बाँकी रहेको खरानी र फलाम पनि नछाड्ने नियतले अनावश्यक करारका कर्मचारीको म्याद थप्न चलखेल सुरू भएको हो। धरहरालगायतका विशिष्ट संरचना नै ल्याएर चलाउन नसकेको उक्त समितिलाई करारका कर्मचारीको म्याद थप्न भने हतारो देखिन्छ। यो विषयमा सहरी विकास मन्त्री कुमार इङनाम गम्भीर बनुपर्ने अवस्था आएको छ।
जलेर खरानी बनेको संसद भवनमा ४ दर्जन कर्मचारी करारका छन्। विगतका सहरी विकास मन्त्रीहरूले राजनीतिक भर्ति गरेका त्यस्ता कर्मचारीको म्याद थप्न चलखेल सुरू भएको पाइन्छ। सरकारी बाइक चढेर हिँड्ने करारका कर्मचारीहरू खरानी चाट्न लागिरहेका हुन्।
सहरी विकास सचिव गोपालप्रसाद सिग्देलको अध्यक्षतामा रहेको विशिष्ट संरचनाको तथा व्यवस्थापन विकास समितिको बैठक राखेर म्याद थप्न चलखेल भइरहेको छ। उक्त समितिमा अर्थ मन्त्रालयका सहसचिव थानप्रसाद पंगेनी, गृहबाट सहसचिव आनन्द काफ्ले, पर्यटनबाट जयनारायण आचार्य, सहरीबाट दिलिप भण्डारी, भवन विभागका महानिर्देशक रविन्द्र बोहरा, उद्योग वाणिज्य महासंघका प्रतिनिधि र होटल सङ्घ नेपालका अध्यक्ष सदस्य छन्। समितिको सदस्यसचिव नारायणप्रसाद मैनाली रहेका छन्। शुक्रबार उक्त समितिको बैठक बसेर खरानी चाट्ने कर्मचारीको म्याद थप्न खेल भइरहेको चर्चा सुनिन्छ । हतार गरेर तलब भत्ता खानका लागि अनावश्यक कर्मचारीको म्याद थप्ने तयारी भइरहेको हो।
जलेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र बिजुली शाखामा ६ जना कर्मचारी छन्। तिमध्ये ३ जना करारका छन्। स्थायी कर्मचारी काम नभएर घाम ताप्नु पर्ने अवस्थामा रहेका बेला डुलेर गफ दिँदै हिँड्ने करारका कर्मचारीको करार अवधि बढाउन चलखेल सुरू भएको छ।
संसद भवन जलेर एसीको नामोनिशान छैन। तर, उक्त शाखामा ४ जना करारका कर्मचारी छन्। पम्प शाखामा पनि करारकै कर्मचारीको हालिमुहाली छ।
संसद भवन जल्दा भाग्ने फायर शाखामा ४ जना कर्मचारी छन्। ४ मध्ये २ करारका कर्मचारी हुन्। स्थायी भगौडा कै काम नभएको बेला करारका कर्मचारी फलाम चुस्न लागिपरेका छन्। हुँदाहुँदा स्थायी कर्मचारी भएको प्रशासनमा समेत करारको अधिकृत राखेर राज्यकोष चुस्ने काम भइरहेको छ।
जलेको संसद् भवनको खरानी र कालो फलाम मात्र बाँकी छ। तर, करारमा बजार प्रवर्द्धन अधिकृत राखेर के प्रबर्द्धन खोजेको हो बुझ्न सकिएको छैन।
जलेको संसद् भवनमा नायब सुब्बास्तरका करारका राजनीतिक कार्यकर्ताको जगजगी रहेको छ। कम्प्युटर अपरेटर र सहायक अपरेटर पद राखेर कार्य कर्ता भर्ति गरेको पाइन्छ। कार्यालय गार्डेन हेर्नेदेखि सहयोगी समेत ठूलो संख्यामा करारमा राखिएको छ। आवश्यक र औचित्य हेरेर मात्र त्यस्ता कर्मचारीको विषयमा निर्णय लिन जरूरी छ।



तपाईको प्रतिक्रिया दिनुहोस