भ्रष्टाचार मुद्दा दायर भएपछि नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेल निलम्बित


काठमाडौं। भ्रष्टाचार मुद्दा दायर भएपछि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार पौडेल निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाई उदयपुर सिमेण्ट उद्योग लिमिटेडमा महाप्रबन्धक हुँदा भएको घोटालामा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उदयपुर सिमेण्ट उद्योग लिमिटेड तत्कालीन महाप्रवन्धक पौडेलसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रहेका पौडेल निलम्बनमा परेका छन्।

पौडेल र नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई १२ कराेड ४७ लाख २२ हजार २ सय ४२ विगाे माग दाबी गरिएको छ। तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी, बिक्री विभाग प्रमुख  रामबहादुर जीसीसहितलाई जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ बिगो मागदावी सहिल भ्रष्टाचार मुद्दा दायर गरिएको हो। आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्ममा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको अख्तियारको निष्कर्ष छ।

अख्तियारले पौडेलविरुद्ध उक्त उद्योगमै रहँदा अध्ययनबिना आवश्यक नभएको सामग्री खरिद गरेको आरोपमा २२ लाख ७८ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त भ्रष्टाचार मुद्दा भने पौडेलले विशेष अदालतबाट सफाइ पाइसकेका छन्। उनीविरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो। पछिल्लो मुद्दाक कारण पौडेल निलम्बनमा परेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ