रामेश्वर खनालको सुशासनले हावा खायो: सामान्य प्रशासन मन्त्रालयमा ६ वटा महाशाखा कायमै


काठमाडौं। चुनावी सरकारका मन्त्री रामेश्वर खनालको सुशासनको नाराले हावा खाएको छ। सुशासन, मितव्ययिता र खर्च कटौतीलाई प्राथमिकता राखेका मन्त्री खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुग्दा नराम्रोसँग चुकेका छन्।

सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका खनालले सामान्यको कमाण्ड सम्हालेलगत्तै आन्तरिक व्यवस्थापन महाशाखा खारेज गर्ने घोषणा गरेका थिए। आन्तरिक व्यावस्थापन महाशाखा प्रमुख नितु अर्याल पोखरेललाई योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख बनाएर आन्तरिक व्यवस्थापन महाशाखा खारेजी गर्ने भनिएको थियो। तर, आफ्नै घोषणाविपरीत मन्त्री खनालले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखमा प्रदिप परियारलाई तोकेका छन्। खनालको उक्त निर्णयसँगै सुशासनले हावा खाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रकाश दाहाल, कर्मचारी प्रशासन महाशाखा पार्वती शर्मा, क्षमता विकास महाशाखा डिलाराम पन्थी र प्रशासन सुधार महाशाखा एकदेव अधिकारी रहेका छन्। त्यस्तै योजना तथा विकास सहायता समन्वय महाशाखा नितु अर्याल पोखरेल र आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी प्रदिप परियारले पाएका हुन्। योसँगै उक्त मन्त्रालयमा ६ वटै महाशाखाले नेतृत्व पाएको छ। ‘जेन-जी’ सरकारका मन्त्रीले नै सुशासनको हावा खुस्काइदिएपछि सामान्यमा असामान्य दरबन्दी सिर्जना गरेर बनाइएको ६ वटा महाशाखालाई नै निरन्तरता दिइएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४ वटा महाशाखा पनि बढी हुने टिप्पणी हुँदै आएको छ। सामान्यमा अनावश्यक महाशाखा राखेर राज्यकोषमाथि अतिरिक्त व्ययभार थप्ने काम भएको छ। मितव्ययिताको नीति अख्तियार गरेका मन्त्री खनाल पनि उक्त विषयमा नराम्ररी चुकेका हुन्। मन्त्री खनाल आफ्नै घोषणामा अडिग नहुँदा सामान्यमा आवश्यकताभन्दा बढी महाशाखा कायम रहेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ