‘गलत विवरण बुझाएर जागिर खाने संगितामाथि अख्तियारले एक्सन लिन सक्छ’,


काठमाडौं । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले गलत विवरण बुझाएर स्वास्थ्य मन्त्रालयको एघारौं तहमा जागिर खाने डा. संगिता कौशल मिश्रामाथि अख्तियारले एक्सन लिन सक्ने बताएका छन् ।

स्वास्थ्य लाइभसँग कुरा गर्दै पूर्व अध्यक्ष मैनालीले लोकसेवाबाट पास भएर जागिर खाएको भएपनि गलत विवरण बुझाएको पाइए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सक्ने प्रतिक्रिया दिए ।

स्वास्थ्य लाइभले डा. मिश्राले अमेरिका पढ्न गएको अवधिमा पनि नोबेल अस्पतालबाट एक वर्ष सेवा गरेको ‘फर्जी’ कागजात तयार पार्न लगाएर लोकसेवामा पेश गरी एघारौं तहमा नाम निकाले समाचार प्रकाशित गरेपछि मैनालीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्वास्थ्य सेवाको अधिकृत एघारौं तहमा जागिर खान एमबीबीएस गरेपछि ७ वर्ष काम गरेको हुनुपर्ने प्रावधान रहेको छ । तर डा. मिश्रा एमबीबीएस गरेको ६ वर्षमै अमेरिकामा पढ्न गएकी थिइन् । अमेरिकामा पढ्न गएकी संगिताले तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई प्रयोग गरेर त्यो अवधिमा पनि नोबेल अस्पतालमा काम गरेको कागजात तयार पारेर पेश गरेको खुल्न आएको छ ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार डा. मिश्राले एक वर्ष सेवा गरेको नक्कली प्रमाण लोकसेवामा पेश गरेर अधिकृत एघारौं तहको जागिर खाएकी हुन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी तत्कालीन डा. मिरा उपाध्याय र डा. संगित कौशल मिश्राले खुला प्रतिस्पर्धामा भाग लिएका थिए । तर, संगिताको एमबीबीएस गरेर सात वर्ष पुगे पनि सेवा अवधिको हिसाबले ६ वर्ष मात्रै पुगेकाे थियाे ।

तत्कालीन स्वास्थ्य सचिव डा. मिश्रको अनुरोधमा नोबेल मेडिकल कलेजले काम नगर्दाको समेत काम गरेको भन्दै डकुमेन्ट विषयमा स्वास्थ्य लाइभले नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई बुझ्न खोज्दा उनले कसैले भविष्य बिगार्न आफूले नचाहने भन्दै दिन मानेनन् । उनीसँगै प्रतिस्पर्धामा रहेकी डा. मिरा उपाध्यायले पनि त्यो विषयमा उजुरी गरेपनि लोकसेवाले सुनुवाई नगरेको दाबी गरेकी छिन् ।

लोकसेवा आयोगका पूर्व अध्यक्ष मैनाली भने गलत विवरण बुझाएर जागिर खाएकोमा अख्तियारले जुनसुकै बेला एक्सन लिन सक्ने बताउँछन् ।

‘लोकसेवा आयोगले अन्तर्वार्ताकै क्रममा ती कुराहरू ध्यान दिनु पर्ने थियो’, स्वास्थ्य लाइभसँग कुरा गर्दै पूर्व अध्यक्ष मैनालीले भने, ‘लोकसेवाबाट ध्यान नपुगेर जागिर खाएको भएपनि अख्तियारले तत्काल लोकसेवाबाट कागजात झिकाएर एक्सन लिन सक्छ । अख्तियारले फर्जी कागजात बुझाएर जागिर खाएकोमा मुद्दा चलाउन सक्छ ।’, उनले यो विषयमा प्रहरीले पनि किर्तेमा छानबिन गर्न सक्ने धारणा राखे ।

स्वास्थ्य अन्तर्गतको बढुवा समितिले डा. मिश्रालाई प्रमुख विशेषज्ञ (बाह्रौं तहमा) बढुवाका लागि सिफारिस गर्ने तयारी गरिरहेको छ । बढुवा समितिको बैठक आज बस्ने तयारी छ । पूर्व अध्यक्ष मैनालीले प्रमुख विशेषज्ञमा बढुवाका लागि बढुवा समितिले कासमू मात्र हेर्ने भएकाले अख्तियारले कागजात तानेर रोक्न सक्ने तर्क गरे । विवादित व्यक्तिलाई सिफारिस गरेर बढुवा समिति पनि विवादमा तानिने सम्भावना रहेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

यता लोकसेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदी अख्तियार र अदालतले आवश्यक निर्देशन दिए आयोगले डा. मिश्राको नियुक्ति फायल खोल्ने बताउँछन् । सेवा अवधि नपुगेको विषयमा छानबिन गर्न निर्देशन भएको खण्डमा आयोगले फायल खोल्ने प्रवक्ता सुवेदीको भनाइ छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## लोकसेवा आयोग, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #डा. संगिता कौशल मिश्र, #पूर्व अध्यक्ष उमेश मैनाली, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com