रास्वपाका महाधिवेशन प्रतिनिधि बीपी क्यान्सर अस्पतालको सञ्चालक समितिमा नियुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि डा. डिल्लीराम भण्डारी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयले भण्डारीलाई अस्पतालको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगद्वारा प्रकाशित राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावलीमा डा. भण्डारीको नाम सिरियल नम्बर ६०३ मा उल्लेख छ। उनी बागमती प्रदेश, चितवनबाट महाधिवेशन प्रतिनिधि बनेका हुन्।

नयाँ सरकार गठनपछि सार्वजनिक संस्थामा दलीय राजनीतिकरण अन्त्य गर्ने र योग्यता तथा प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। तर, सत्तारूढ दलकै महाधिवेशन प्रतिनिधि क्यान्सर अस्पतालको सञ्चालक समितिमा नियुक्त भएपछि उक्त प्रतिबद्धताको कार्यान्वयनमाथि प्रश्न उठेको छ।
स्वास्थ्य मन्त्रालयले भदौ २४ गते अन्तर्वार्तामा सहभागी हुनुअघि सबै उम्मेदवारलाई आफू कुनै पनि राजनीतिक दलको सदस्य वा जिम्मेवारीमा आबद्ध नरहेको स्वघोषणापत्रमा हस्ताक्षर गराएको थियो। तर नियुक्त भएका भण्डारी रास्वपाको महाधिवेशन प्रतिनिधि रहेको आधिकारिक नामावलीले देखाउँछ।
रास्वपा भरतपुर महानगर समितिले असोज ३ र ४ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत भण्डारी सहभागी भएको विवरण सार्वजनिक भएको छ।
समितिमा क्यान्सर रोग विशेषज्ञ, अनुभवी स्वास्थ्यकर्मी तथा जनस्वास्थ्य विज्ञहरू प्रतिस्पर्धामा हुँदाहुँदै पशु चिकित्सकलाई नियुक्त गरिएको भन्दै प्रतिस्पर्धीहरूले असन्तुष्टि जनाएका छन्।
उनीहरूले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ विपरीत नियुक्ति भएको दाबी गर्दै भण्डारीको नियुक्ति बदर गर्न माग गरेका छन्। छनोट प्रक्रियामा राजनीतिक पहुँच र शक्तिको प्रयोग भएको उनीहरूको आरोप छ।
रास्वपाले राज्यका निकायमा राजनीतिक पूर्वाग्रह नराखी प्रतिस्पर्धात्मक क्षमताका आधारमा नियुक्ति गर्ने तथा नातावाद र कृपावादविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएको थियो। तर पार्टीकै महाधिवेशन प्रतिनिधि सरकारी अस्पतालको सञ्चालक समितिमा नियुक्त भएपछि पार्टीको प्रतिबद्धता र व्यवहारबीचको अन्तरबारे प्रश्न उठेको छ।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस