नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरू भटाभट थुनामुक्त हुँदै
काठमाडौं। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा अपराधीहरू भटाभट थुनामुक्त हुँदैछन्। उक्त काण्डका योजनाकार भनिएका टोपबहादुर रायमाझी बिहीबार थुनामुक्त भएका हुन्। ४ वर्ष कैद सजाय तोकिएका रायमाझी जेष्ठ नागरिकको सुविधा प्रयोग गर्दै थुनामुक्त भएका छन्।
यसअघि जेष्ठ नागरिकको सुविधा प्रयोग गर्दै तत्काल गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई थुनामुक्त भइसकेका छन्। ४ वर्ष कैद सजाय तोकिएका राई ७५ वर्ष पूरा भएका जेष्ठ नागरिक भएकाले रायमाझीभन्दा अगाडि नै थुनामुक्त भएका हुन्।
काठमाडौं जिल्ला अदालतले रायमाझी र राईलाई नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार ठहर गर्दै ४/४ वर्ष कैद सजाय तोकेको थियो। दुबैले जेष्ठ नागरिकको सुविधा प्रयोग गरेर थुनामुक्त भएका हुन्।
उक्त प्रकरणमा बेचन झा यसअघि नै तोकिएको सजायभन्दा बढी थुनामा बसेकाले अदालतको फैसलाका आधारमा थुनामुक्त भइसकेका छन्। एक वर्ष कैद सजाय पाएका झा फैसला आउनेबित्तिकै थुनामुक्त भएका थिए। झासँग जोडिएका आरजु राणा देउवा, मञ्जु खाणलगायतमाथि भने थप अनुसन्धान हुन सकेको देखिँदैन।
उक्त प्रकरणमा जोडिएका नरेन्द्र केसी, शम्शेर मियाँ, केशव दुलाल, सानु भण्डारी, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राईहरूको भने केही महिना कैद भुक्तान गर्न बाँकी छ। आङटावा शेर्पा, बालकृष्ण खाँण, टेकनाथ रिजालले एक वर्ष बढी कैद बस्नु पर्ने देखिन्छ। यिनीहरूमध्ये केही जेल बाहिरै रहेका छन्। जेल बस्ने भने कैद भुक्तान गरेर रायमाझी जस्तै बाहिरिसकेका छन्। कैद बाहिर बस्ने भित्र जानु पर्ने देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस