बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा मेहता
काठमाडौं। बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा मेहता कोलम्बो पुगेकी छिन्। श्रीलंकाको कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (BIMSTEC) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी हुन्।
बैठकमा मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोगको नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध, जलवायु परिवर्तनको स्वास्थ्यमा परेको प्रभाव, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा नेपालको प्राथमिकता र धारणा प्रस्तुत गरेकी थिइन्।
बैठकका क्रममा विमस्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरू तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भएका भेटघाट र छलफलसमेत भएको छ। छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, अनुभव तथा प्राविधिक ज्ञान आदानप्रदान र साझा स्वास्थ्य चुनौतीको सामूहिक समाधानका विषयमा विचारविमर्श भएको छ। नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस