लेखाका २८ सय कर्मचारी हेर्न २ उपसचिव, सहलेखापाल सरूवा गरेर ज्ञवाली घर गए


काठमाडौं। महालेखा नियन्त्रक कार्यालयमा लेखाका २८ सय (२ हजार ८ सय) कर्मचारी हेर्न २ उपसचिव राखिएका छन्। संघ अन्तर्गत लेखाका उपसचिव, अधिकृत, लेखापाल र सहलेखापाल गरी २८ सयभन्दा केही बढी कर्मचारी रहेको पाइन्छ। ती कर्मचारीको सरूवा र काज व्यवस्थापन गर्न दुई उपसचिव राखिएको हो। महालेखा नियन्त्रक कार्यालयमा कर्मचारी प्रशासन शाखा (क) र कर्मचारी प्रशासन शाखा (ख) रहेको छ। एउटै प्रकृतिको दुई शाखा राखेर महालेखा नियन्त्रक कार्यालयमा जनशक्तिको हुर्मत लिएको पाइएको हो। एउटा उपसचिवको भागमा ८ सय कर्मचारी र अर्कोको भागमा २ हजार कर्मचारी पर्ने देखिन्छ।

महालेखा नियन्त्रक कार्यालयको कर्मचारी प्रशासन शाखा (क) लेखाका उपसचिवले हेर्छन्। कर्मचारी प्रशासन शाखा (ख) भने सामान्य प्रशासन समूहका उपसचिवले हेर्ने गरेका हुन्। कर्मचारी प्रशासन शाखा लेखाका उपसचिव विष्णुहरि रेग्मीले हेर्दै आएका छन्। रेग्मीको भागमा लेखाका १६२ उपसचिव र ६६० जना लेखा अधिकृत पर्छन्। वर्षमा त्यसका आधा जति कर्मचारीको सरूवा, काज व्यवस्थापन हुँदै आएको छ। त्यसका लागि छुट्टै उपसचिव राखिएको हो।

त्यस्तै सामान्य प्रशासन समूहका उपसचिवको भागमा १५५२ लेखापाल र ४५१ सहलेखापाल पर्ने गरेको छ। यसपटक लेखापाल र सहलेखापाल हेर्ने भूमिकामा रहेका उपसचिव विष्णुप्रसाद ज्ञवालीले ९१ सहलेखापालको सरूवा तथा फाजिल व्यवस्थापन गरेर घर गएका छन्। ज्ञवाली लेखापालको सरूवा नगरी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका हुन्।

उपसचिव प्रमुख जिल्ला अधिकारी भएका जिल्लामा पनि लेखाका उपसचिवको दरबन्दी रहेको छ। कतिपय लेखाका अनावश्यक अधिकृत रहेको देखिन्छ। करिब ८ सय उपसचिव र अधिकृत हेर्न लेखाको उपसचिवलाई जिम्मेवारी दिएको पाइन्छ।

अन्य निकाय/कार्यालयमा हेर्दा प्रशासन प्रशासन समूह कै कर्मचारीले हेर्ने गरेका छन्। तर महालेखा नियन्त्रक कार्यालयमा भने कर्मचारी प्रशासन शाखा (क) र (ख) बनाएर कर्मचारी प्रशासन शाखा (क)मा लेखाका उपसचिव राखेको पाइन्छ। कर्मचारी प्रशासन शाखामा बसेर लेखाका उपसचिव विष्णुहरि रेग्मीले आफ्नो सरूवा कोष तथा लेखा नियन्त्रक कार्यालय, भक्तपुरमा गराएका छन्। ६१ लेखा उपसचिवको सरूवा गर्दा रेग्मी भक्तपुरको प्रमुख कोष नियन्त्रक भएका हुन्। सरूवा बसेर उनी चाहेको कार्यालय जान सफल भएका छन्। त्यस्तै रेग्मीले एक लट ८१ र अर्को लट ८८ गरी १६९ जना लेखा अधिकृत पनि सरूवा गर्न भ्याएका छन्। अझै एक ‘लट’ लेखा अधिकृत सरूवा गरेर मात्र उनी आफैले सरूवा गरेको कार्यालयले जाने तयारीमा रहेकाे चर्चा छ। ठूलो संख्यामा सरूवा हुने लेखापाल सरूवा पनि रेग्मीको भूमिका रहने अवस्था आएको हो। यसअघि उक्त शाखामा बस्ने लेखा उपसचिवले पनि रेग्मीले जस्तै ‘आफ्नै हात जगन्नाथ’ गर्दै आएका थिए। उनले त्यसलाई निरन्तरता दिएका हुन्।

महालेखा नियन्त्रक कार्यालय स्रोतका अनुसार ५ सयभन्दा बढी लेखापालको सरूवा, काज तथा फाजिल व्यवस्थापन गर्ने तयारी भइरहेको छ। उक्त शाखा हेर्ने उपसचिव विष्णुप्रसाद ज्ञवाली ५८ वर्ष पूरा भएर तिहार बिदामा अवकाशमा गइसकेका छन्। ज्ञवाली हुँदा पनि रेग्मी नै हावी हुने गरेका थिए। उनी घर गएपछि रेग्मीलाई काइदा भएको छ। विदेश भ्रमण र सरूवाका लागि मात्र काम लाग्ने दुईवटा शाखा एउटै उपसचिवका लागि ठिक्क हुन्छ। तर, महालेखा नियन्त्रक कार्यालयमा दुई/दुईवटा राखेर राज्य कोषको दोहन गरिरहेको पाइन्छ।

महालेखा नियन्त्रक कार्यालयमा कर्मचारी प्रशासन शाखा मात्र होइन सहमहालेखा नियन्त्रक पनि एकजना बढी देखिन्छन्। दुईजना सहमहालेखा नियन्त्रकले मज्जाले चलिरहेको कार्यालयमा ३ जनाको दरबन्दी रहेको छ। यसमा पनि सरकारले उचित कदम चाल्न जरूरी छ। कर्मचारी प्रशासन ‘मर्ज’ र सहमहालेखा नियन्त्रकको अनावश्यक एक दरबन्दी कटौती गर्न तत्काल कदम चाल्नु पर्ने देखिन्छ।

संघमा लेखा समूहका कर्मचारीहरू

🌑लेखा उपसचिव-१६२

🌑लेखा अधिकृत-६६०

🌑लेखापाल-१५५२

🌑सहलेखापाल-४५१

 

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव विष्णुप्रसाद ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ