नेपाल प्रशासन सेवाको सहसचिवमा बढुवा हुने उपसचिवहरू


काठमाडौं। लोक सेवा आयोगले नेपाल प्रशासन सेवामा १४ सहसचिवका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले त्यसमध्ये बढुवा (जेष्ठता ५ र कार्यसम्पादन ५)मार्फत १० सिट, आन्तरिक प्रतिस्पर्धाबाट ३ र खुला प्रतिस्पर्धाबाट १ सिट पदपूर्ति गर्नेगरी विज्ञापन खुलाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाको रिक्त दरबन्दीभन्दा केही सिट बढाएर विज्ञापन गर्नका लागि लोक सेवा आयोगमा पठाएको देखिन्छ। सोही अनुसार लोक सेवा आयोगले विज्ञापन खुलाएको हो।

जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा नेपाल प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा ५ उपसचिव बढुवा हुँदैछन्। जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा उपसचिवहरू मोहनशरण भण्डारी, तीर्थप्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल सहसचिवमा बढुवा हुनेछन्।

२०६८ चैत ३ गतेका लेखाका उपसचिव भण्डारी मात्र उनको ‘ब्याच’बाट सहसचिवमा बढुवा हुन बाँकी छ। अघिल्लो वर्ष कार्यक्षमतामा चिप्लिएका भण्डारी यसपटक जेष्ठताको एक नम्बरमा उक्लिएका छन्। राजस्व न्यायाधिकरण, काठमाडौंका लेखा सदस्य रहेका भण्डारीको २०८५ भदौंसम्म जागिर बाँकी छ। उनलाई ५५ पारीको उमेरले धोका दिने सम्भावना पनि उत्तिकै देखिन्छ।

सहसचिव बढुवाका लागि जेष्ठतामै पर्ने तीर्थप्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल एकै ‘ब्याच’का उपसचिव हुन्। उनीहरू २०६८ चैत २४ गतेका उपसचिव हुन्।

पौडेल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन्। ३२ सालका उपसचिव पौडेलको ७ वर्ष जति जागिर बाँकी छ। रक्षा मन्त्रालय कार्यरत उपसचिव पोखरेल भने ५५ पारीका उपसचिव हुन्।

भूमि प्रशासन कार्यालय धनकुटाका प्रमुख रहेका कमलबहादुर थापा २०२९ साल असारका हुन्। जेष्ठताबाट बढुवा हुने सूचीमा रहेका पुष्पराज कटुवाल २०३५ सालका हुन्। उनले अझै ९ वर्ष जागिर खान्छन्। कटुवालको हालै व्यावसायिक तथा सीप विकास तालीम केन्द्र, इटहरीबाट सल्यानको कुपिन्डे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ। तर, उनी हाजिर भइसकेका छैनन्।

सहसचिवका लागि कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा उपसचिवहरू राजेन्द्रप्रसाद आचार्य, आत्माराम सत्याल, प्रदर्शनी कुमारी, गोमादेवी चेम्जोङ र दामोदर खत्री प्रतिस्पर्धामा रहेका छन्। अघिल्लो वर्षको (का.स.मू.)मा सत-प्रतिशत रहेकाले उनीहरू नै बढुवा हुने देखिन्छ। यसपटक (का.स.मू.) रेटिएको रहेछ भने केही तलमाथि हुन सक्छ। यसको ताजा उदाहरण मोहनशरण भण्डारी हुन्। राजेन्द्रप्रसाद आचार्य, आत्माराम सत्याल, प्रदर्शनी कुमारी र गोमादेवी चेम्जोङ २०६९ वैशाख १० गतेका उपसचिव हुन् भने खत्री ३ दिन पछाडिका लेखाका उपसचिव हुन्।

२०२८ साल माघका राजेन्द्रप्रसाद आचार्य जिल्ला समन्वय समितिमा कार्यरत छन्। २०३२ पुसका आत्माराम सत्याल रक्षा मन्त्रालयका उपसचिव हुन्। २०३६ साल बैशाखकी जन्मिएकी उपसचिव प्रदर्शनी कुमारीको गृह मन्त्रालयबाट बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ।

२०२९ साल जेठमा जन्मिएकी उपसचिव गोमादेवी चेम्जोङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छिन्। २०२९ साल भदाैका दामोदर खत्री कोशी प्रदेशको प्रदेश लेखा नियन्त्रकको भूमिकामा छन्।

१० जना सहसचिव बढुवा हुँदा ८ जना सामान्य प्रशासन समूह र २ जना लेखा समूहको पर्ने देखिन्छ। यो बढुवामा राजस्व समूहका उपसचिव सहसचिव नहुने भएकाले तत्काल ३०-५५ को कामना गर्नु पर्ने देखिन्छ। त्यो भयो भने राजस्व समूहका उपसचिव ताराप्रसाद सापकोटा, टिकाराम भुसाल सहसचिवमा बढुवा हुन सक्छन्। ३०-५५ आएन भने राजस्वको रथ छुट्ने निश्चित छ।

क्याटेगोरी : समाचार
ट्याग : #आत्माराम सत्याल, #कमलबहादुर थापा, #गोमादेवी चेम्जोङ, #तीर्थप्रकाश पौडेल, #दामोदर खत्री, #पुष्पराज कटुवाल, #प्रदर्शनी कुमारी, #मोहनशरण भण्डारी, #राजेन्द्रप्रसाद आचार्य, #रामेश्वर पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ