बीपी क्यान्सर अस्पतालको बोर्ड सदस्य नियुक्तिको निष्पक्षतामाथि प्रश्न
काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बोर्ड सदस्य नियुक्ति प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको छ। नियुक्ति प्रक्रिया पारदर्शी र मेरिटमा आधारित भए–नभएको विषयमा प्रश्न उठाउँदै छनोट प्रक्रियासँग सम्बन्धित विवरण सार्वजनिक गर्न माग गरिएको छ।
जीता बराल कोइरालाले अस्पतालको बोर्डमा राजनीतिक पहुँचका आधारमा नभई नीति, कानुन, अस्पताल व्यवस्थापन र निष्पक्ष अनुगमन गर्न सक्ने विज्ञलाई छनोट गर्नुपर्ने बताएकी छन्।
अस्पतालमा मेसिन बिग्रिएर बिरामीले लामो समय पालो कुर्नुपर्ने, बायोप्सी रिपोर्ट लामो समयसम्म अड्किने तथा औषधि खरिद र आवास वितरणमा अनियमितता हुने गरेको आरोप लगाउँदै उनले यस्तो अवस्थामा बोर्डको भूमिका अझ महत्वपूर्ण हुने बताइन्।
अस्पतालको नेतृत्व र व्यवस्थापनमाथि समेत प्रश्न उठाउँदै उनले संवेदनशील स्वास्थ्य संस्थामा राजनीतिक दलका कार्यकर्ता वा पहुँचवालालाई व्यवस्थापन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताइन्।
उनले बोर्ड सदस्य छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी भएको भए त्यसको प्रमाण सार्वजनिक गर्न सरकार, स्वास्थ्य मन्त्रालय र छनोट समितिसँग माग गरेकी छन्।
‘प्रक्रियाको नाटक बन्द गर्नुस्, सत्य सार्वजनिक गर्नुस्,’ उनले भनिन्, ‘छनोट साँच्चिकै निष्पक्ष, पारदर्शी र मेरिटमा आधारित थियो भने सम्पूर्ण अंकतालिका र स्वघोषणा पत्र जनताको अगाडि ल्याएर प्रमाणित गर्नुपर्छ।’
छनोट प्रक्रियामा गलत स्वघोषणा वा नातावाद भएको भए नियुक्ति खारेज गरी स्वच्छ छवि भएका विज्ञमध्येबाट पुनः निष्पक्ष छनोट गर्नुपर्ने उनको माग छ।
‘बीपी क्यान्सर अस्पताल नेपाली जनताको साझा सम्पत्ति हो। यसलाई राजनीतिक प्रयोगशाला वा पारिवारिक स्वार्थको थलो बन्न दिनु हुँदैन,’ उनले भनिन्।
क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस