यी हुन् अख्तियारले रोक्का गरेका माधवकुमार नेपाल जोडिएका पतञ्जलीका जग्गाहरू


काठमाडौं। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जोडिएका पतञ्जली योग पीठका हदबन्दी भन्दा बढीका प्रायजसो जग्गाहरू रोक्का रहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक लगायतका विभिन्न जिल्लामा पतञ्जलीका नाममा रहेका हदबन्दी भन्दा बढी जग्गाहरू रोक्का राखेको हो।

अख्तियारले एक दर्जन बढी जिल्लामा पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीको नाममा रहेका जग्गाहरू रोक्का राखेको पाइन्छ।पतञ्जलीका नाममा काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान, साँगामा हिनामिना भएको जग्गामा तत्कालीन प्रधानमन्त्री नेपाल समेतलाई भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले दर्जन बढी जिल्लामा पतञ्जलीका त्यस्तै प्रकृतिका जग्गाहरूमाथि अनुसन्धान गरिरहेको खुल्न आएको हो।

पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीको नाममा भूमिसम्बन्धी ऐन, २०२१ ले तोकेको भन्दा बढी जग्गा खरिद गरेको देखिंदा अनुसन्धानको कार्य सम्पन्न नहुँदासम्मको लागि उक्त कम्पनीको नाममा काठमाडौं, मोरङ, सुनसरी, सप्तरी, सिराहा, पाँचथर, धनुषा, बारा, कास्की, स्याङजा, पाल्पा, कैलाली, कञ्चनपुर, बझाङ र डोटी जिल्लाहरूमा कायम भएका जग्गाहरू र उक्त कम्पनीको नाममा थप जग्गा देखिन आएका सो जग्गाहरू समेत कुनै पनि व्यहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएको छ। त्यस्तै अख्तियारले विभिन्न कम्पनीहरूको शेयर हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गरिदिएको हो।

त्यसैगरी अख्तियारले पतञ्जली योग पीठका संस्थापक सदस्य शालिग्राम सिहको नाममा विभिन्न कम्पनी दर्ता भइ उक्त कम्पनीहरूको नाममा भूमिसम्बन्धी ऐन, २०२१ ले तोकेको हदभन्दा बढी जग्गा खरिद गरेको भेटेकाले निजको नाममा रहेको रुपन्देही, धनुषा, कास्की जिल्लामा रहेका विभिन्न कित्ता जग्गाहरू रोक्का राखेको खुल्न आएको छ। अख्तियारले पतञ्जली योगपीठका नाममा भएको जग्गा अनियमिततामा ठूल्ठूला मुद्दा दायर गर्ने सम्भावना देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ