लाइसेन्स गडबडी प्रकरणमा लुम्बिनीका कानुन सचिव सुनार अख्तियारको फन्दामा


काठमाडौं। सवारी चालक अनुमतिपत्र लाइसेन्स गडबडी प्रकरणमा लुम्बिनी प्रदेशका कानुन सचिव लोकबहादुर सुनार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) रहेका बेला सुनारले लाइसेन्समा गडबडी गरेको आरोपमा अख्तियारको फन्दामा परेका छन्। प्रदेश सचिव सुनार निलम्बनमा परेका हुन्।

सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सचिव (सहसचिव) लोक बहादुर सुनार निलम्बनमा परेका हुन्। प्रदेशसचिव सुनारसहित ११ जना उपर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

जिल्ला बाँके, यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका कम्प्युटर अधिकृत छैटौं शक्ति ठाकुर समेतले सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरी गैरकानुनी लाभ हानी पुर्‍याउने बदनियतले गलत लिखत तयार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनीहरू संलग्न रहेको अख्तियारको अभियोगमा उल्लेख छ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्ज, बाँकेका कम्प्युटर अधिकृत शक्ति ठाकुर र शत्तिश जङ्ग शाह, अधिकृत छैटौं प्रेमप्रसाद उपाध्याय र पूर्णमान वली, नायब सुब्बा चित्रबहादुर महतारा र मुकुन्दराज केसी, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका तत्कालीन प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण आचार्य र अर्का तत्कालीन प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दकुमार पोखरेल तथा न्यू मामा भाञ्जा ड्राइभिङ्ग ट्रेनिङ सेन्टरका सञ्चालक शरदकुमार गोराथोकी समेत उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका छन्।

यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी अर्को आरोपपत्र पनि दायर भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ