झापा-५ मा केपी ओलीसहित सबै उम्मेदवारभन्दा बालेनले ल्याए दोब्बर बढी मत
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले धमाका मच्चाएका छन्। बालेनले ओलीसहितका सबै उम्मेदवारको भन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका हुन्।
झापा-५ मा बालेन, ओलीसहित २४ जना उम्मेदवार रहेका थिए। तर, सूर्य, रूख, ढुंगा, माटो सबैको पक्षमा झरेको मत जोड्दा पनि बालेनले ल्याएको मतको आधा पनि हुँदैन। सबैको मत एकातिर राखेर हेर्दा पनि बालेनले ल्याएको मत दोब्बर बढी हुन्छ। कुल सदर मतको ६५ प्रतिशतभन्दा बढी मत पाएका बालेनको असली शक्ति परीक्षण भएको छ।
झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेनले ६८३४८ मत ल्याएका छन्। उनीसँग भिडेका ओली, समिर तामाङ, मंधरा चिमोरिया, लक्ष्मीप्रसाद निरौला, रञ्जित तामाङसहित २३ जना उम्मेदवारको मत जोड्दा ३३९९० मत हुन्छ। यो मत भनेको बालेनले ल्याएको मतको आधा भन्दा कम हो।
झापा ५ मा सूर्य चिन्ह लिएर चुनाव लडेका नेकपा एमालेका उम्मेदवार ओलीले १८७३४ मत ल्याएर नराम्रोसँग पछारिएका छन्। उनीभन्दा ४ गुणा बढी मत ल्याएर बालेन निर्वाचित भएका हुन्। बालेनले झापामा ओलीको तबला राम्रैसँग बजाइदिएका छन्।
बालेन उठेको उक्त निर्वाचन क्षेत्रमा माटो चुनाव चिन्ह लिएर लडेका श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो भएका छन्। तामाङले ९२३३ मत पाएका हुन्। हर्क साम्पाङले बालेनसँग प्रतिस्पर्धा गर्न उठाएका उम्मेदवार तामाङ झन्डै ७ गुणा मतले पछाडि परेका छन्। उनको जमानत समेत जफत भएको छ।
चौथो स्थानमा रहेकी रूख चुनाव चिन्ह लिएर उठेकी नेपाली कांग्रेसको उम्मेदवार मंधरा चिमरियाले १८२१ मत पाएकी छिन्। जमानत समेत जोगाउन नसकेकी चिमरियाको मत हेर्दा निकै दयनीय स्थिति देखिन्छ। पाँचौ स्थानमा हलो चुनाव चिन्ह रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला रहेका छन्। संग्रौलाको १५३६ मत आएको छ।
त्यस्तै तारा चुनाव चिन्ह लिएर उठेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले १५३६ मत प्राप्त गरेका छन्। टर्च बालेर खोज्दा पनि नभेटिने अवस्थामा रहेको रञ्जितको मत हेर्दा उनी छैटौं स्थानमा पुगेका छन्। पुष्पकमल दाहाल प्रचण्डले जितेर आए मन्त्री बनाइदिने आश्वासन दिएका रञ्जितको बेमत भएका हुन्। जनमत पार्टीका उम्मेदवार अमृतलाल महतोले २९६ मत प्राप्त गरेका छन्। राष्ट्रिय परिवर्तन पार्टीका सविन राईले २०४ मत, मंगल नेशनल अर्गनाइजेसन पार्टीका सानबहादुर मेचेले १६६ मत र स्वतन्त्र उम्मेदवार शोभा भण्डारीले ८२ मत ल्याएकी छिन्।
बालेनसँग नेकपा माओवादीका उम्मेदवार सञ्जय राईले ७६ मत, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जवेगुले ७२ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पाङ राईले ७२ मत, जसपा, नेपालका धिरेन सुब्बाले ४२ मत, राष्ट्रिय मुक्ति पार्टीका अमृत रसाईलीले ३५ मत र पिपुल फर्स्ट पार्टीका धर्मराज गुरागाईंले ३४ मत ल्याएका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवारहरू खेमनाथ शिवाकोटी २५ मत, डम्बर शाहु २४ मत, पुस्कर खतिवडा २४ मत, विपुल गुरागाईं १९ मत, अर्जुन सापकोटा १५ मत, रञ्जना गौतम १० मत, मातृका भट्टराई ६ मत र प्रकाश नेपालले ३ मत पाएका हुन्।
झापा- ५ मा कांग्रेस, एमाले, श्रम संस्कृति, राप्रपा, नेकपा, जनमत, जसपालगायतले महागठबन्धन गरेको भएपनि बालेनको भन्दा आधा मत मात्र आउने देखिन्छ। यसले बालेन कति लोकप्रीय उम्मेदवार रहेछन् भन्ने कुरा मत परिणामले प्रस्ट देखाएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस