कांग्रेस सभापति थापासहित चुनाव लडेका ८ पदाधिकारी पराजित भए
काठमाडौं। विशेष महाधिवेशनबाट आएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित ८ पदाधिकारीले प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेका छन्। कांग्रेस सभापति थापासहित महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदिप पौडेल सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदय शम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढाले निर्वाचनमा पराजय भोगेका हुन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही ४ बाट झन्डै १३ हजार मतान्तरले पराजित भएका हुन्। थापाले २२,८३१ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंह ३५,६८८ मत ल्याएर विजयी भएका हुन्। विशेष महाधिवेशनबाट आएका कांग्रेस सभापति थापाले लजास्पद हार व्यहोरेका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदिप पौडेलले पनि चुनाव हारेका छन्। घिमिरेले मोरङ र पौडेलले काठमाडौंबाट निर्वाचनमा पराजय भोगेका हुन्। महामन्त्री घिमिरे २८ हजार मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशीसँग पराजित भएका हुन्। मोरङ ४ मा राजवंशीले ४०,८३३ मत प्राप्त गरेर विजयी हुँदा घिमिरे १२,८१८ मतमा सीमित भएका छन्। उनले ठूलो मतान्तरले चुनाव हारेका हुन्।
कांग्रेसका अर्का महामन्त्री प्रदिप पौडेल पनि २१ हजार मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भएका छन्। पोखरेलले ३०,७३७ मत ल्याएर निर्वाचित हुँदा पौडेल ९,१५९ मतका सीमित हुँदै पराजित भएका हुन्।
नेपाली कांग्रेसका सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उदय शम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा पनि पराजित भएका छन्। बारा क्षेत्र नम्बर दुईबाट कांग्रेस सहमहामन्त्री मन्सुर ३० हजार मतान्तरले पराजित भएका हुन्। मन्सुरले १०,०५२ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साहले ४०,६९७ मतमा सीमित हुँदै पराजय भोगेका छन्।
कांग्रेस सहमहामन्त्री राणा पनि ललितपुर-१ मा १० हजार मतान्तरले पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीक बुद्ध रत्न महर्जन २३,३७३ मत प्राप्त गरी विजयी हुँदा राणाले १३,५२० मत ल्याएर चुनाव हारेका हुन्। बझाङबाट नेपाली कांग्रेसका अर्का सहमहामन्त्री प्रकाश रसाइली स्नेही दुई हजार बढी मतान्तरले पराजित भएका छन्। नेकपा एमालेकाऐन बहादुर महर १८,५४३ मत ल्याएर विजयी हुँदा रसाइली १६,३०४ मतमा सीमित हुँदै निर्वाचनमा पराजय भोगेका हुन्।
कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी २७ हजार बढी मतान्तरले पराजित भएका छन्। दाङ-१ बाट चौधरीले १५,२८० मत ल्याएर चुनाव हार्दा ४२,६०२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक निर्वाचित भएका हुन्। कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढा तेस्रो स्थानमा पुगेर नराम्रोसँग पराजय भोगेका हुन्। नेकपाका धनबहादुर बुढासँग कर्णले ३९ सय मतान्तरमा चुनाव हारेका हुन्। धनबहादुर ६८०२ मत ल्याएर निर्वाचित हुँदा कर्ण २९४७ मतमा सीमित हुँदै पराजय भोगेका हुन्।
प्रत्यक्षमा चुनाव उठेका विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका सबै पदाधिकारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने नराम्रोसँग चुनाव हारेका छन्। जनताले कांग्रेसका नयाँ पदाधिकारीलाई अनुमोदन नगरेको देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस