भत्ता बुझ्ने सरकारी स्वास्थ्यकर्मी, इज्जत धान्ने करार-ज्यालादारीका कर्मचारी


काठमाडौं ।  आज नेपालीहरुको महान पर्व विजया दशमी । यस अवसरमा मान्यजनहरुको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने चलन रहिआएको छ । राजधानी काठमाडौं सुनसान बनेको छ । सबै कार्यालय बन्द छन् । तर, अस्पतालहरु संचालनमा छन् । ओपिडी सेवा बन्द भएपनि आकस्मिक सेवा संचालनमा छन् ।

अस्पतालहरु खुला भएपनि सरकारी सेवामा आवद्ध भएका कर्मचारी सबै पर्व मनाउँन बिदा लिएर घर गएका छन् । दसैँमा सरकारी कर्मचारीले सुरु स्केल अनुसारको भत्ता बुझेका छन् । तलबसहित भत्ता बुझेर सरकारी कर्मचारी परिवारसँग दसैँ मनाउँन घर पुगेका छन् । छिटफुट कर्मचारी बाहेक सबै सरकारी कर्मचारी करारका कर्मचारीलाई काममा लगाएर बिदामा छन् ।

अस्पतालको जिम्मा करार र ज्यालादारी कर्मचारीलाई लगाएका छन् । नियम अनुसार सरकारी कर्मचारी नभएपनि ज्यालादारी र करारमा काम गर्नेहरुलाई ६ महिना कटेपछि भत्ता दिनुपर्छ । तर, उनीहरुलाई भत्ता समेत नदिइ चाँडबाडमा समेत काम लगाएर भत्ता बुझेकाहरु दसैँ मनाउँन घर गएका हुन् ।

वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, प्रसूति गृह अस्पताल, टेकु अस्पताल यी सबैमा अहिले करार र ज्यालादारी कर्मचारीले सेवा दिएका छन् । अझ विशेषज्ञ चिकित्सक छैनन् । करार र ज्यालादारीमा काम गरिरहेका मेडिकल अफिसरले सेवा दिएका छन् । भत्ता बुझेर आफू दसैँ मनाउन परिवारसँग जाने र सेवाको इज्ज अर्थात् तक्मा पाउनेसम्मको अवस्थामा भने भत्ता नपाएका करार र ज्यालादारी कर्मचारीले पुर्याइदिनुपर्ने आफैंमा लज्जाको विषय हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल सेवामा प्रवेश गरेको ६ महिना कटेपछि सरकारी सरह भत्ता पाउनु पर्ने बताउँछन् । ‘मानवताको धर्म ठान्नेहरुले दिएका छन्’ सचिव पोखरेलले भने, ‘कसैले दिएका छैनन् भनेपनि दिनुपर्छ ।’, उनले अहिले स्वास्थ्य क्षेत्र करार र ज्यालादारी कर्मचारीले धानेको भन्दै उनीहरुलाई यस अवसरमा धन्यवाद दिनुपर्ने समेत बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com