ती मदन भण्डारी, यी बालेन शाह


समाचार टिप्पणी
काठमाडौं। ३४ वर्ष अघि बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी निर्वाचित भएका थिए। बहुदलीय व्यवस्था स्थापना भएपछि तत्कालीन प्रधानमन्त्री भट्टराईको नियती ‘जेन-जी’ आन्दोलनपछि प्रधानमन्त्रीबाट हटेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोगेका छन्। फागुन २१ गते भएको निर्वाचनमा ओली आफ्नै गृह क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग नराम्रोसँग पराजित भएका हुन्। भण्डारीले भट्टराईलाई हराए जस्तै गरी बालेनले ओलीलाई झापा-५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजित गरेका छन्।

२०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकबाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई उम्मेदवार बनेका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका कार्यवहाक सभापति भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। २०४७ सालको संविधान जारी भएपछि २०४८ वैशाख २९ गते चुनावको मिति घोषणा गरियो। उक्त निर्वाचनमा भट्टराई काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवार बने। भट्टराईविरूद्ध तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीले उम्मेदवारी दिए। भण्डारीले भट्टराईलाई उक्त क्षेत्रबाट ७५१ मतान्तरले चुनाव हराएका थिए। अहिले झापा-५ मा नेकपा एमालेका अध्यक्ष ओलीलाई बालेनले झन्डै ५० हजार मतान्तरले चुनाव हराएका छन्।
३८ वर्षको उमेरमा भण्डारीले काठमाडौं १ र ५ बाट उम्मेदवारी दिएका थिए। भण्डारीलाई पार्टीले मोरङ-२ बाट चुनाव लड्न भनेको थियो। बालेनले पनि काठमाडौं-२ मा चुनाव उठ्न भन्दाभन्दै साहस गरेर ओलीसँग प्रतिस्पर्धा गर्न झापा-५ मा गएर उम्मेदवारी दिएका थिए। भण्डारीभन्दा ३ वर्ष कान्छो उमेरका (३५ वर्षीय) बालेनले निवर्तमान प्रधानमन्त्री ओलीलाई चुनाव हराएर देशको प्रधानमन्त्री बन्ने तयारीमा छन्।
भण्डारीले आफ्ना प्रतिस्पर्धी भट्टराईलाई गाली नगरी काठमाडौं-१ बाट चुनाव जितेका थिए। भण्डारीले काठमाडौं-५ मा पनि कांग्रेसका हरिबोल भट्टराईलाई चुनाव हराएर निर्वाचित भएका थिए। अहिले बालेनले पनि निर्वाचनको दौडानमा ओलीलाई एक शब्द पनि गाली नगरी चुनाव हराइदिएका हुन्।
नेकपा एमालेका अध्यक्ष ओलीले ५२ हजारभन्दा बढी मत ल्याएर झापा-५ मा चुनाव जित्ने अभिव्यक्ति दिँदै आएका थिए। ओलीको गृहमन्त्री घोषणा गरेका महेश बस्नेतले ठूलो मतान्तरले ओलीले चुनाव जित्ने घोषणा गरेका थिए। भट्टराईको चुनावी कमाण्डर रहेका तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्यायले ‘४० हजार मत मेरो खल्तीमा छ’ भनेर भट्टराईलाई उकासिरहेका थिए। अहिले बस्नेतहरूले ओलीलाई उकासे जस्तै। तर, भट्टराई २६६२१ मतमा सीमित हुँदै भण्डारीसँग चुनाव हारेका थिए। उक्त निर्वाचनमा भण्डारी काठमाडौं-१ बाट २७३७२ मत ल्याएर विजयी भएका थिए। उसबेलाको योगप्रसाद उपाध्यायको जस्तै अहिले महेश बस्नेतहरूको भविष्यवाणीले फेल खाएको छ। बालेनले झापा-५ मा ६८,३४८ मत ल्याएर विजयी हुँदा आफूलाई रैथाने दाबी गर्ने ओली १८,७३४ मतमा सीमित भएका छन्।

बालेनले झापा गएर ओलीले उपहारस्वरूप दिएको तबला ओलीले नाच्नै नसक्ने र बुझ्‍नै नसक्ने तालमा बजाइदिएका छन्। बजाउन पनि यसरी बजाएकी नेपालको संसदीय निर्वाचनको अभ्यासमा आजपर्यन्त कसैले नल्याएको मत ल्याएर ओलीकै किल्लामा गएर इतिहास रचिदिएका छन्। मदन भण्डारीले पनि उसबेला कांग्रेसको ‘कोर एरिया’ मानिने बानेश्वरको किल्लामै भट्टराईलाई हराइदिएका थिए।

बहालवाला प्रधानमन्त्री भट्टराईलाई हराएर भण्डारीले चुनाव जितेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा निकै चर्चामा आएका थिए। बालेन ओलीको गृह क्षेत्रमै चुनाव उठ्ने साहस देखाएर पुगेपछि चुनाव जित्नु अगाडि नै उनी अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चामा आउन सफल भएका छन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमै अहिले चर्चामा रहेका बालेन नेपालको प्रधानमन्त्री बन्दैछन्। प्रधानमन्त्री बन्न लागेका बालेनमाथि आम नेपालीले ठूलो आशा र भरोसा राखेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ