सर्वोच्च बारका सचिव रमण कर्णको महोत्तरी-२ मा लज्जास्पद हार


काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनका सचिव रमणकुमार कर्णले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लज्जास्पद हार बेहोरेका छन्। सर्वोच्च बारको सचिवमा काम गर्न कानुन व्यवसायीहरूले दिएको मतको अवमूल्यन गर्दै जनादेश पार्टी नेपालबाट महोत्तरी-२ मा उम्मेदवार बनेका कर्णले लज्जास्पद हार बेहोरेका हुन्। उनले जमानत समेत जोगाउन सकेनन्।

मोबाइल चुनाव चिन्ह लिएर चुनाव लडेका कर्णको मत परिणाम मोबाइलको ‘टर्च लाइट’बालेर खोल्दा पनि भेट्न मुस्किल छ। जम्मा ९९ मत ल्याएका कर्ण १३ औं स्थानमा देखिछन्।

महोत्तरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक कुमार साह ३२,७२२ मत ल्याएर विजयी हुँदा कर्ण १३ औं स्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपाल शरतसिंह भण्डारीको १०,१९८ मत आएको छ। ९,७४५ मतका साथ नेपाली कांग्रेसकी किरण यादव तेस्रो स्थानमा छिन्। नेकपा एमालेका कासिम नदाफ ३,५२४ ल्याएर चौथो भएका हुन्। नेपाली कम्युनिष्ट पार्टी लक्ष्मण कुमार यादव ७३७ मतमा सीमित हुँदै पाँचौ स्थानमा छन्।

जनमत पार्टीका जय कुमार पाण्डेयले ४६३ मत, स्वतन्त्र उम्मेदवार सकिन्‍दर महरा ३३१ मत, राष्ट्र निर्माण दल नेपाल तुफान नटले २४६ मत, उज्यालो नेपाल पार्टीका राकेश मण्डलले २२२ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका राज नारायण झाले १७४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामलखन साह कानुले १५७ मत र श्रम संस्कृति पार्टीका आलम कवारीले १०५ मत पाएका छन्। महोत्तरीमै श्रम संस्कृति पार्टीका उम्मेदवारभन्दा पछाडि परेका सर्वोच्च बारका सचिव कर्ण बेमत भएका हुन्।

नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसनबाट टिकट लिएर सर्वोच्च अदालत बारको सचिव बनेका अधिवक्ता कर्ण जनादेश पार्टी नेपाल खोलेर चुनावमा होमिएका थिए। तर, उनलाई जनताले जमानत जोगाउने समेत जनादेश नदिएको पाइएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ