स्वास्थ्य मन्त्रालयको नेतृत्व कसले लिने ? लेखजंग थापा अघि, तोशीमाको विगतले उठायो प्रश्न


काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा तीव्र चर्चा सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सम्भावित सरकार गठन प्रक्रियामा देशभर चासो बढिरहेका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व कसले गर्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन।

प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाह नेतृत्वको सम्भावित मन्त्रिपरिषद्‌मा अर्थ, गृह, भौतिक पूर्वाधार र परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी मोटामोटी टुंगो लागे पनि स्वास्थ्य मन्त्रालयको विषयमा भने छलफल जारी रहेको स्रोतले जनाएको छ।

सरकार गठनबारे चलिरहेको आन्तरिक छलफलमा डाक्टर तोशीमा कार्की र डाक्टर लेखजंग थापा मध्ये एकजनालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिने विषयमा बहस भइरहेको बताइन्छ। तर स्वास्थ्य क्षेत्रभित्र भने कार्कीको नामलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले स्वास्थ्य बाहेरकाे व्यक्ति बनाउन पनि सुझाव दिइरहेका छन् ।

कर्मचारी र स्वास्थ्यकर्मीबीच असन्तुष्टि

स्वास्थ्य मन्त्रालयका पूर्वकर्मचारी तथा स्वास्थ्य क्षेत्रका जानकार राजेन्द्र पन्तका अनुसार विगतका गतिविधिका कारण स्वास्थ्य क्षेत्रभित्र डा ताेसिमा कार्कीप्रति सकारात्मक धारणा बनेको छैन।

उनका अनुसार, “यदि स्वास्थ्य मन्त्रालय चिकित्सककै नेतृत्वमा चलाउने हो भने अहिलेको अवस्थामा डा. लेखजंग थापा उपयुक्त विकल्प हुन सक्छन्।” थापालाई स्वास्थ्य नीतिबारे स्पष्ट दृष्टिकोण भएका चिकित्सकका रूपमा स्वास्थ्य क्षेत्रभित्र चर्चा गरिन्छ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत केही कर्मचारी र स्वास्थ्यकर्मीहरू समेत कार्कीको विगतको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताइन्छ। उनीहरूले मन्त्री बनेमा मन्त्रालय सञ्चालनमा थप विवाद निम्तिन सक्ने चिन्ता व्यक्त गरेका छन्।

राज्यमन्त्री हुँदा विवादै विवाद

२०७९ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्री बनेपछि कार्की विभिन्न विवादमा तानिएकी थिइन्।

राज्यमन्त्रीको पदभार ग्रहण गर्न मन्त्रालय पुग्दा स्टेथोस्कोप भिरेर पुगेको दृश्य सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचनाको विषय बनेको थियो।

पदम गिरी स्वास्थ्य मन्त्री रहेका बेला मन्त्रीले हस्ताक्षर गरिसकेको फाइलमा आफूले पनि हस्ताक्षर गर्नुपर्ने भन्दै उच्च अधिकारीहरूलाई अप्ठ्यारोमा पारेकि थिइन् ।

त्यस्तै वीर अस्पतालमा नयाँ क्याथ ल्याब सेवा उद्घाटन कार्यक्रममा मन्त्री गिरीसँगै छुट्टाछुट्टै रिबन काटेको तस्वीर सार्वजनिक भएपछि पनि कार्की आलोचनामा परेकी थिइन्।

प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेपछि उपचाररत अवस्थामा रहेको किर्तिपुर अस्पतालको आईसीयूमा पुगेर भिडियो बनाएको विषयले चिकित्सकहरूबाट समेत तीव्र आलोचना खेप्नुपरेको थियो। आईसीयूको प्रोटोकल उल्लंघन भएको भन्दै स्वास्थ्यकर्मीहरूले विरोध जनाएका थिए।

लगातार विवादमा परेपछि त्यतिबेला स्वास्थ्यमन्त्री रहेका गिरीले कार्कीलाई अस्पताल अनुगमन गरेर सुझाव दिनेमात्र अधिकार प्रत्यायोजन गरेका थिए।

नयाँ सरकारमा स्वास्थ्य मन्त्रालय कसले सम्हाल्ला?

नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व कसले गर्ने भन्ने विषय अझै छलफलमा छ।

स्वास्थ्य क्षेत्रका कतिपय विज्ञहरू भने मन्त्रालयलाई स्थिर र परिणाममुखी बनाउन विवादरहित र नीतिगत दृष्टिकोण भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राख्छन्।

यस सन्दर्भमा स्वास्थ्य क्षेत्रभित्र डा. लेखजंग थापा लाई सम्भावित विकल्पका रूपमा चर्चा गर्न थालिएको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ