एमालेको हेडक्वार्टरमा रास्वपाले बजायो घण्टी


काठमाडौं। नेकपा एमालेको हेडक्वार्टरमा राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी बजाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि सचिव महेश बस्नेतसम्म रास्वपाका उम्मेदवारसँग पराजित भएका छन्। ओली, बस्नेतहरूले किल्ला ठान्दै आएको क्षेत्रमा क्षेत्रबाहिरबाट आएका रास्वपाका उम्मेदवारले घण्टी बजाइदिएका हुन्।

एमाले अध्यक्ष ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उनकै आधार इलाकामा हराइदिएका हुन्। प्रतिनिधिसभा झापा क्षेत्र नम्बर पाँचमा झन्डै ५० हजार मतान्तरले ओली बालेनसँग पराजित भएका छन्। बालेनले ६८,३४८ मत ल्याउदा ६० हजार मत ल्याएर जित्ने दाबी गर्ने ओलीले लज्जास्पद हार बेहोरेका हुन्। ओली १८,७३४ मतमा सीमित हुँदै पराजित भएका छन्। झापाका जनताले ओलीको अहंकार ढालिदिएका हुन्। आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेका ओलीलाई हराएर बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन्।

‘जेन-जी’लाई आतंककारी घोषणा गर्ने नेकपा एमालेका सचिव महेश बस्नेतले पनि आफ्नो आधार इलाकामै पराजय भोगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले बस्नेतलाई भक्तपुर दुईमा झन्डै ३१ हजार मतान्तरले पराजित गरेका छन्। खत्रीले ४२,३३४ मत ल्याउदा बस्तेत १०,९९६ मतमा सीमित हुँदै पराजित भएका हुन्। ओली सरकारको गृहमन्त्री घोषणा गरेका बस्नेतलाई भक्तपुरबाट हराएका खत्रीलाई सरकारमा उचित भूमिका दिनुपर्ने आवाज उठ्न थालेको छ। ‘जेन-जी’ शहीद परिवार र घाइतेहरूलाई न्याय दिनका लागि पनि सरकारमा खत्रीको भूमिका खोजिएको हो।

एमालेका महासचिव शंकर पोखरेल पनि रास्वपाका उम्मेदवारसँग पराजित भएका हुन्। महासचिव पोखरेलको आधार इलाका दाङ दुईमा रास्वपाका विपिन कुमार आचार्यले धमाका मच्चाइदिएका हुन्। आचार्यसँग पोखरेल २८ हजार बढी मतान्तरले पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका आचार्य ४३,५५९ मत ल्याएर निर्वाचित हुँदा एमाले महासचिव पोखरेल १५,२८७ मतमा सीमित हुँदै पराजित भएका हुन्।

एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि आफ्नो आधार इलाकामै रास्वपाका सुलभ खरेलसँग पराजित भएका छन्। ‘जेन-जी’ आन्दोलन दमनका बेला ओली सरकारको अर्थमन्त्री रहेका पौडेल खरेलसँग झन्डै ४४ हजार मतान्तरले पराजित भएका हुन्। रास्वपाका खरेलले ५६,५५० पाएर निर्वाचित हुँदा पौडेल १२,८६१ मतमा सीमित हुँदै लजास्पद हार बेहोरेका छन्।

एमालेका वरिष्ठ नेता समेत रहिसकेका इश्वर पोखरेलले काठमाडौं पाँचबाट लज्जास्पद हारेका छन्। रास्वपाका सस्मित पोखरेलसँग प्रतिस्पर्धा गरेका इश्वरको जमानत जफत भएको छ। सस्मित ३०,७३७ ल्याएर विजयी हुँदा इश्वर ४,७०१ मा सीमित हुँदै तेस्रो भएका हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ९,१५९ मत ल्याएर दोस्रो भएका छन्।

एमालेका उपाध्यक्ष एवं ओली सरकारका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि रास्वपाका उम्मेदवारसँग नराम्रोसँग हारेका छन्। ‘बालेन को हो’ भनेर सार्वजनिक रूपमै बोलेका गुरूङलाई उनको आधार इलाकामै रास्वपका धर्मराज केसीले १७ हजार मतान्तरले हराइदिएका छन्। रास्वपाका केसी ३३,८९८ मत ल्याएर निर्वाचित हुँदा एमाले उपाध्यक्ष गुरुङ १६,८७६ मतमा सीमित हुँदै लज्जास्पद हार बेहोरेका हुन्। गुरूङले बालेनको हैसियत बल्ल थाहा पाएका छन्।

नेकपा एमालेका उपाध्यक्ष गोकर्णराज विष्ट पनि लाल किल्लामै रास्वपाका गोविन्द पन्थीसँग पराजित भएका छन्। स्वापाका पन्थी १६,९६७ मत प्राप्त गरी निर्वाचित हुँदा विष्‍ट १६,४०६ ल्याएर झिनो मतान्तरले पराजित भएका हुन्।

एमाले उपमहासचिव रघुवीर महासेठ पनि आधार इलाकामै रास्वपाका राज किशोर महतोसँग झन्डै ३७ हजार मतान्तरले पराजित भएका छन्। रास्वपाका महतो ४८,२७० मत ल्याएर निर्वाचित हुँदा महासेठ ११,५२९ मतमा सीमित हुँदै तेस्रो भएका हुन्। उक्त क्षेत्रमा नेपाली काँग्रेसका महेन्द्र यादव १५,८०९ मत ल्याएर दोस्रो भएका छन्। एमालेका अर्का उपमहासचिव लेखराज भट्ट पनि कैलाली चारमा रास्वपा कै खेम राज कोईरालासँग १९ हजार मतान्तरले तेस्रो भएका छन्। रास्वपाका कोइराला २८,५५६ मत प्राप्त गरी निर्वाचित हुँदा ९,४४४ मत मात्र ल्याएर भट्ट तेस्रो भएका हुन्। उक्त क्षेत्रमाने पाली काँग्रेसका गोरख बहादुर विष्ट ११,३०१ मत ल्याएर दोस्रो भएका छन्।

एमालेका सचिव राजन भट्टराई रास्वपाका पुकार बम सँग लड्दा जमानत जफत भएको छ। काठमा काठमाडौं चारबाट रास्वपाका बमले २९,१४२ मत ल्याएर विजयी हुँदा भट्टराई ५,७३३ ल्याएर हारको ह्याट्रिक चाखेका हुन्। उक्त क्षेत्रमा नेपाली काँग्रेसका सचिन तिमल्सेना ८,८२४ मत ल्याएर दोस्रो भएका हुन्।

एमालेका सचिव भानुभक्त ढकाल र शेरधन राई पनि पराजित भएका छन्। ढकाल तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भएका हुन्। राई भोजपुरबाट श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग चुनाव हारेका हुन्। ढकाल र राईबाहेक एमालेका चुनाव लडेका सबै पदाधिकारी रास्वपाका उम्मेदवारसँग पराजित भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ