एमालेको समानुपातिकमा तरमारा वर्गको हालिमुहाली: रामबहादुर थापादेखि पद्मा अर्यालसम्म समानुपातिक सांसद बन्दै
काठमाडौं। नेकपा एमालेको समानुपातिक सांसदमा तरमारा वर्गको हालिमुहाली हुने देखिन्छ। आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेकालाई समानुपातिक सांसद बनाउनु पर्नेमा नेकपा एमालेबाट पटकपटक मन्त्री र सांसद बनेका तरमारा वर्गलाई समानुपातिक सांसद बनाउन लागेकाे हो।
नेकपा एमालेबाट पूर्वमन्त्रीहरू रामबहादुर थापा बादल, पद्माकुमारी अर्याल र उषाकला राई समानुपातिक सांसद बन्न लागेका हुन्। त्यस्तै पूर्व सांसदद्वय निरुदेवी पाल र कोमल वली पनि समानुपातिक सांसद बन्ने देखिन्छ। संविधानले यस्ता तरमारा वर्गका व्यक्तिलाई समानुपातिक प्रतिनिधित्व गराउन भनेको हैन। तर, नेकपा एमालेले ‘जेन-जी’ आन्दोलनको अवमूल्यन गर्दै थापा, अर्याल, राई, पाल जस्तालाई प्रतिनिधिसभाको समानुपातिक सांसद बनाउन लागेको हो।
गृहमन्त्री हुँदा थापामाथि सर्लाहीका कुमार पौडेलको गैरन्यायिक हत्यामा अनुसन्धान गर्न सर्वाेच्च अदालतले परमादेश समेत जारी गरेको छ। थापा कै पालामा गृह मन्त्रालयमा भुटानी शरणार्थी काण्डले उग्र रूप लिएको थियो। उनका छोरा प्रतिक पनि उक्त काण्डमा मुछिएका छन्। गृह र रक्षामन्त्री समेत भइसकेका तरमारा वर्गका थापालाई एमालेले समानुपातिक सांसद बनाउन लागेको हो।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री हुँदा गिरीबन्धु टि-इस्टेट काण्डमा मुछिएकी पद्याकुमारी अर्याल पनि एमालेबाट समानुपातिक सांसद बन्न लागेकी छिन्। स्वास्थ्य राज्यमन्त्री, भूमि, कृषि जस्ता मन्त्रालयको कमाण्ड सम्हालेकी अर्याल खस, आर्य कोटाबाट समानुपातिक सांसद बन्ने देखिन्छ। पटकपटक सांसद भएकी तरमार वर्गकी अर्याललाई नेकपा एमालेले संविधानको मर्म र भावनाविपरीत समानुपातिक सांसद बनाउन लागेको हो।
कहिले संघ कहिले प्रदेश चाहार्दै सांसद र मन्त्री बनेकी उषाकला राई पनि नेकपा एमालेबाट समानुपातिक सांसद बन्ने भएकी हुन्। पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङकी श्रीमती समेत रहेकी उषाकला समानुपातिक सांसद बन्ने वर्गमा पर्दिनन्। तर, नेकपा एमालेले उनै तरमारा वर्गको उषाकलालाई समानुपातिक सांसद बनाउन लागेको हो।
पूर्व सांसदद्वय निरूदेवी पाल र कोमल वली पनि नेकपा एमालेबाट सांसद बन्दैछन्। पाल पूर्व प्रतिनिधिसभा सदस्य र वली पूर्व राष्ट्रियसभा सदस्य हुन्। आर्थिक, सामाजिक र शैक्षिक रूपले अगाडि रहेका पाल र वलीलाई नेकपा एमालेले संविधानको मर्म र भावनाविपरीत समानुपातिक सांसद बनाउन लागेको हो। सांसद समेत भइसकेका उनीहरू समानुपातिक सांसद बनाएर एमालेले तरमारा वर्गको हालिमुहाली गराएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस