राप्रपाका मुख्यसचिव केदार बहादुर अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको मूल मन्त्र हो। तर, उनकै मुख्यसचिव केदारबहादुर अधिकारीलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। राप्रपाका मुख्यसचिव अधिकारीलाई अख्तियारले ४६ करोड १५ लाख बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तत्कालीन पर्यटन सचिव अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई प्रतिवादी बनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा अधिकारी भ्रष्टाचारमा डामिएका हुन्।
स्वास्थ्य सचिव समेत भइसकेका अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्यसचिवको भूमिकामा छन्। राप्रपाका अध्यक्ष लिङ्देनको कथनविपरीत मुख्यसचिव अधिकारी परामर्शदाता नियुक्तिमै भ्रष्टाचार गर्नेमा ‘दर्ज’ भएका हुन्। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, आयोजना प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरवका आयोजना निर्देशक बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, उपनिर्देशक प्रवीण न्यौपानेसहित डेढ दर्जन व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।







तपाईको प्रतिक्रिया दिनुहोस