कोभिडको महामारीमा सेटिङ मिलाएर स्वास्थ्यमा लुट मच्चाएका थिए शंकर अग्रवालले, एक्सन लिएला बालेन सरकारले?

स्वास्थ्यमा लुट मच्चाउने शंकर सरकारद्वारा समाजसेवीको हैसियतमा विभूषित


समाचार टिप्पणी

काठमाडौं। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ। सरकार नै फेर्न सक्ने तागत राख्ने चर्चित माफिया दिपक भट्टसँग कनेक्सन भेटिएपछि शंकरलालले पक्राउ खाएका हुन्। उनी अहिले अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छन्।

शंकरलाल अग्रवाललाई बालेन सरकारले अर्को भ्रष्टाचारमा पनि तत्काल छानबिन गर्नुपर्ने देखिन्छ। शंकरले कोभिडको महामारीमा सेटिङ मिलाएर स्वास्थ्यमा लुट मच्चाएका थिए। उक्त लुटको विषयमा पनि एक्सन लिने समय आइसकेको छ।

कोभिडको महामारीमा स्वास्थ्यमा लुट मच्चाउनेमा ओम्नीपछि शंकर ग्रुप पर्छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र स्वास्थ्य सचिव लक्ष्मण अर्यालसँग सेटिङ मिलाएर शंकरले १ दर्जन सरकारी अस्पतालहरूमा लिक्विड अक्सिजन ट्यांक बेच्न सफल भएका थिए। सचिवले नै दबाब दिएपछि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टिचिङ अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुरका दुईवटै अस्पताल, नारायणी अस्पताल विरगञ्ज, धनगढीलगायत १ दर्जन सरकारी अस्पतालले शंकरको लिक्विड अक्सिजन ट्यांक जडान गर्न बाध्य भएका थिए। ७० देखि ८० लाख रुपैयाँ मूल्य पर्ने लिक्विड अक्सिजन ट्यांक सचिव अर्यालसँगको सेटिङमा एकाधिकार जमाएर शंकर अक्सिजन प्रालिका अध्यक्ष शंकरले सरकारी अस्पतालहरूलाई भिडाएका थिए। उक्त विषयमा समेत बालेन सरकारले तत्काल छानबिन अघि बढाउन जरुरी छ।

शंकरले सचिव अर्यालकी श्रीमती निता पोखरेल अर्याल (हाल सामान्य प्रशासन मन्त्रालयकी सहसचिव) भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा इकोनोमिक मिनिस्टर भएकाले सेटिङमा अक्सिजन ट्यांक नेपाल भित्र्याइएको आरोप लाग्दै आएको छ। लक्ष्मणले कमिसन समेत उतै व्यवस्थापन गरेको आरोप त्यहिँ बेला लागेको थियो। लक्ष्मणले जोडबल गरेर शंकरलाई पदक दिलाएपछि झन् सेटिङ रहेको आरोपमा बल पुग्यो। तर, उनीहरू झन् शक्तिशाली भए। बल्ल बालेन सरकारको फेला परेका छन्।

बालेन सरकारले सम्पत्ति शुद्धीकरणलगायतका कसुरमा पक्राउ गरेका शंकरलाई सरकारले पदक दिएको थियो। तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याल कै सेटिङ र सिफारिसमा सरकारले शंकरलाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरेको थियो। उनै अग्रवाल अहिले सम्पत्ति शुद्धीकरणलगायतका कसुरमा पक्राउ परेका छन्। स रकारी अस्पतालहरुमा लिक्विड अक्सिजन ट्यांक जडान गर्न लगाएर राज्यकोषमाथि लुट मच्चाएका शंकरलाई समाजसेवीको दर्जामा उक्त पदक दिइने घोषणा भएकाले समाजसेवाको मर्ममाथि नै सरकारले प्रहार गरेको स्वास्थ्य लाइभले टिप्पणी गरेको थियो। उनी सम्पत्ति शुद्धीकरणका कसुरमा समातिएकाले उक्त टिप्पणी सही सावित भएको छ।

सरकारी अस्पतालहरूले सेटिङमा शंकरसँग खरिद गरेको उक्त लिक्विड अक्सिजन ट्यांक अनियमिततामा अविलिम्ब छानबिन हुनुपर्छ। उनीसँग तत्कालीन स्वास्थ्य सचिव अर्याल र उनको परिवारलाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने देखिन्छ। सरकारले शंकरलाई दिएको समाजसेवीको पदक (विभूषण) समेत फिर्ता लिने निर्णय गर्नुपर्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## लक्ष्मण अर्याल, #शंकर अक्सिजन प्रालि, #शंकरलाल अग्रवाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ