यी हुन् अवकाशको मुखमा रहेका सिडिओसहित दर्जन बढी सहसचिव


काठमाडौं। शिक्षा प्रशासनतिरका सहसचिव इमानारायण श्रेष्ठ सचिव बढुवाको मुखमा अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष उमेर हदका कारण उनी मंगलबारबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। आदिवासी/जनजाति कोटाबाट शिक्षातिरका सहसचिव बनेका पाल्पाली श्रेष्ठ सचिव नबन्ने निश्चित जस्तै भएको छ। केही दिन सचिव खाएर घर जाने तयारीमा रहेका उनलाई बालेन सरकार आएसँगै गतिलो झड्का लागेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेल ५८ वर्ष लागेर बैशाख ५ गते अनिवार्य अवकाशमा जान लागेका छन्। तुलानात्मक रूपमा इमानदार छविका प्रशासक मानिने पोखरेल ५८ वर्ष लागेर दुई हप्ताभित्रै घर जाने सूचीमा रहेका छन्। विभिन्न जिल्लामा सिडिओ भइसकेको पोखरेल आपूर्तितिरबाटै घर जान लागेका हुन्।

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव थानप्रसाद पंगेनी बैशाख ११ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। लामो समय अर्थ र मातहतका निकायमा बसेर काम गरेका पंगेनी ५८ वर्ष लागेर ३ साताभित्रै अवकाशमा जान लागेका हुन्।

राष्ट्रिय सूचना आयोग सचिव(सहसचिव) दीर्घराज मैनाली बैशाख १३ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। राजस्व प्रशासनमा बसेर लामो समयदेखि तरमार्दै आएका सहसचिव मैनाली अर्थबाहिर पुगेर अनिवार्य अवकाशमा जान लागेका हुन्। राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग जस्ता निकायको नेतृत्व गरेर रजगज गर्दै आएका सहसचिव मैनाली राष्ट्रिय सूचना आयोगबाटै घर जान लागेका छन्। लेखेरै सहसचिव भएपनि मैनाली सहसचिव नभइ ५८ वर्ष लागेर घर जान लागेका हुन्।

राष्ट्रपति कार्यकालका सहसचिव एकनारायण शर्मा यहीँ बैशाख १६ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका छन्। सहसचिवमा बढुवा हुनेवित्तिकै राष्ट्रपति कार्यालयमा पदस्थापन भएका सहसचिव शर्मा छोटो समयमै घर जान लागेका हुन्। सहसचिवमा बढुवा भएको ४ महिनामै शर्मा अनिवार्य अवकाशमा जान लागेका हुन्।

गुमनाम जस्तै रहेका राजस्व प्रशासनतिरबाट आएका सहसचिव खिमबहादुर कार्की बैशाख १७ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका छन्। राजस्व समूहका उपसचिव कार्की सहसचिवमा बढुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाटै अवकाशमा जान लागेका हुन्। उनलाई सहसचिव बनाउनेबाहेक राज्यले केही पनि लाभ लिन पाएको देखिँदैन। कार्की सामान्यको अतिरिक्तबाटै सहसचिवको पद रिक्त बनाएर घर जाँदैछन्।

ललितपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराई ५८ वर्ष लागेर बैशाख २४ अनिवार्य अवकाशमा जान लागेका हुन्। मोरङ, भक्तपुरलगायत विभिन्न जिल्लाको सिडिओ भइसकेका भट्टराई एक महिनाभित्रै अनवार्य अवकाशमा जान लागेका छन्। एक महिनाभित्रै ललितपुरको सिडिओ खाली हुने भएको छ।

राष्ट्रिय किताबखाना (प्रहरी) हेर्ने सहसचिव पुष्कर न्यौपाने बैशाख २६ गते अनिवार्य अवकाशमा जाँदैछन्। राजस्व समूहबाट आएका न्यौपाने ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम ५८ वर्ष लागेर जेठ ३ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। अघिल्लो वर्ष सहसचिवमा बढुवा भएका गौतमको पहिलो पदस्थापना नै हेटौंडा उपमहानगरपालिकामा भएको थियो। अन्य सहसचिवहरू उपमहानगरपालिकामा जान नमानेको अवस्थामा गौतम भने १ वर्ष बढी हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर घर जाने भएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरिया असार ३ गते अनिवार्य अवकाशमा जान लागेका छन्। सर्लाही कै कडरियालाई कार्यविधिविपरीत उक्त जिल्लाको सिडिओ खटाइएको हो। एकनारायण अर्याल निकट रहेका कडरिया सहसचिव बन्नेवित्तिकै ‘क’ वर्गको धनुषा जिल्लाको सिडिओ भएका थिए। करिब ५ महिना धनुषाको सिडिओ भएका कडरिया गोरखा हुँदै सर्लाही पुगेका हुन्। उनी उतैतिर घर बस्ने भएका छन्।

गण्डकी प्रदेशको लोक सेवा आयोगका सचिव (सहसचिव) ध्रुव गिरी ५८ वर्ष लागेर असार १२ गते अनिवार्य अवकाशमा जान लागेका छन्। उनी गण्डकीबाटै घर जान लागेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव हेमराज सुवेदी ५८ वर्ष लागेर साउन ५ गते अनिवार्य अवकाशमा जाँदैछन्। राष्ट्रिय योजना आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरूवा भएर आएका सुवेदी यतैबाट घर जाने सम्भावना छ। आर्थिक वर्ष सुरु भएको हप्ता दिनभित्रै उनी घर जाने तयारीमा देखिन्छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं साउन २० गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाँदैछन्। बालेनसँग टक्कर लिएर महानगरमा रजगज चलाइरहेका नेकपा एमालेका ‘क्याडर’ गुरागाईं ४ महिनाभित्रै अनिवार्य अवकाशमा जान लागेका हुन्। काठमाडौं ‘भ्यू-टावर’को म्याद थप अनियमिततामा मुछिएका गुरागाईं बालेन सरकारको छानबिनमा पर्ने सम्भावना छ।

नेकपा एमाले निकट भएकै कारण अर्थ मन्त्रालयमा रजगज गरेका श्रीकृष्ण नेपाल भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेका छन्। अर्थ मन्त्रालयको बजेट, वैदेशिक जस्ता महत्त्वपूर्ण महाशाखामा बसेर एकछत्र राज गरेका नेपाल विष्णुप्रसाद पौडेलको निगाहमा एसियाली विकास बैंक (एडिबी)को मुख्यालय फिलिपिन्सको मनिला पुगेका हुन्। उपसचिव जाने गरेको उक्त पदमा एकपटक मुख्यसचिव भइसकेका सोमलाल सुवेदी गएका थिए। मासिक ३० लाख कमाइ हुने एडिबीमा तरमार्न पुगेका नेपाललाई बालेन सरकारले फिर्ता बोलाउने जोखिम देखिन्छ। लेखाका उपसचिव नेपाल सहसचिव भएपछि अर्थमा तरमारेर मनिला पुगेका हुन्। सचिव बढुवाको मुखमा रहेका उनी त्यतैबाट अवकाशमा जाने तयारीमा छन्। बालेन सरकारले सहसचिव नेपाललाई नेपालबाटै अवकाशमा जाने वातावरण बनाउनु पर्ने देखिन्छ।

यीबाहेक ६ महिनादेखि १ वर्षभित्र डेढ दर्जन प्रशासन सेवाका सहसचिवहरू अनिवार्य अवकाशको पर्खाइमा रहेका छन्। हरिशरण पुडासैनी, सुशील ढकाल, ओमबहादुर खड्का, लक्ष्मीप्रसाद निरौला, रुद्रप्रसाद लामिछाने, जयकुमार घिमिरे, तुलसी नाथ गौतम, दिपकराज नेपाल, मनोजकुमार आचार्य, राजेन्द्र देव पाण्डे र झापाका सिडिओ शिवराम गेलाल अनिवार्य अवकाशमा जाने सूचीमा छन्। त्यस्तै सहसचिवहरू केदारनाथ शर्मा, खिमबहादुर रायामाझी र विनोद लामिछाने, चन्द्रबहादुर शिवाकोटी, सन्तोष कुमार दाहाल र लेखनाथ ज्ञवाली ६ महिनादेखि १ वर्षभित्र अनिवार्य अवकाशमा जाने सूचीमा देखिन्छन्।

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ