अस्पतालमा ‘डेढ दिन’ बिदा


काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै स्वास्थ्य क्षेत्रमा भने छुट्टै मोडालिटी लागू गर्ने तयारी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा ‘डेढ दिन’ मात्र बिदा दिने गरी अन्तिम तयारी भइरहेको छ। यस अनुसार शनिबार पूर्ण बिदा हुनेछ भने आइतबार आधा दिन सेवा सञ्चालन गरिनेछ।

स्रोतका अनुसार आइतबार सञ्चालन हुने सेवा “झारो टार्ने” शैलीमा नभई नियमित कार्यदिवस सरह नै सञ्चालन गर्नुपर्ने स्पष्ट निर्देशिका बनाइँदैछ। बिरामीले सेवा पाउनमा कुनै अवरोध नहोस् भन्ने सरकारको प्राथमिकताका आधारमा यस्तो व्यवस्था गर्न लागिएको हो।

नेपालमा दैनिक ठूलो संख्यामा बिरामी स्वास्थ्य सेवामा निर्भर छन्। विभिन्न अध्ययन तथा यसअघि सार्वजनिक विवरणहरू अनुसार देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट दैनिक करिब ७ लाख बिरामीले सेवा लिने गरेका छन्। यस्तो अवस्थामा दुई दिन पूर्ण रूपमा सेवा बन्द गर्दा स्वास्थ्य सेवा प्रभावित हुने निष्कर्षपछि मन्त्रालयले विकल्पको रूपमा ‘आधा दिन सेवा’ मोडेल अघि सारेको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यो प्रस्ताव करिब टुङ्गोमा पुगेको छ र छिट्टै औपचारिक निर्णय सार्वजनिक गरिने तयारी भइरहेको छ।

सरकारले अन्य सरकारी कार्यालयमा भने शनिबार र आइतबार पूर्ण बिदा दिने व्यवस्था लागू गरिसकेको छ। तर स्वास्थ्य, आपतकालीन सेवा लगायत अत्यावश्यक क्षेत्रलाई निरन्तर सञ्चालनमा राख्ने नीति अनुसार अस्पतालमा फरक अभ्यास अपनाउन लागिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ