नारायण ढकालमाथि छानबिन गर्न अतिरिक्त स्वास्थ्य सचिव श्रेष्ठको नेतृत्वमा बन्यो समिति
काठमाडौं। औषधि व्यवस्था विभागबाट हटाइएका विवादास्पद महानिर्देशक नारायणप्रसाद ढकालमाथि छानबिन गर्न अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा छानबिन समितिले बनेको छ। समितिका स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कानुनविपरीत औषधि व्यवस्था विभागले महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको मूल्यवृद्धि गरेको विषयमा उजुरी परेको भनेर छानबिन गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री बालेनको निर्देशनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले अतिरिक्त स्वास्थ्य सचिव डा. श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएकी हुन्। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

अतिरिक्त स्वास्थ्य सचिव डा. श्रेष्ठ नेतृत्वको छानबिन समितिले औषधिको मूल्य निर्धारण प्रक्रिया, उक्त मूल्य निर्धारण प्रक्रिया पूरा गरे/नगरेको विषय, मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए संलग्न कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नाम किटान गरी प्रतिवेदन पेस गर्नु पर्नेछ। समितिको दिएको रिपोर्टका आधारमा ती व्यक्तिहरूमाथि एक्सन लिने प्रधानमन्त्री बालेनको तयारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले औषधिमा गरेकाे अनियमितताको विषयमा छानबिन गर्न सदनमा आवाज उठाएका हुन्। ढकालले वर्षौदेखि कानुन मिचेर आफूखुसी औषधिको मूल्यवृद्धि गरेको उनको आरोप थियो। ढकालको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि स्वास्थ्य मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिइएको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा छानबिन गर्न समिति गठन गरेको हो। उक्त समितिले औषधिका ‘विकल पौडेल’ले औषधिको मूल्यवृद्धिमा गरेकाे अनियमितता केलाउने छ।
क्याटेगोरी : समाचार
ट्याग : #कविन मलेकु, #गोपीकृष्ण रेग्मी, #डा. श्रीकृष्ण श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस