गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. सुनीलकुमार शर्मा
काठमाडौं। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा सुनीलकुमार शर्माले पाएका छन्।फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्।
नेतृत्व हस्तान्तरणपछि शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक र व्यावसायिक जीवनको गहिरो सम्बन्ध रहेको स्मरण गरे। कार्यक्रममा उनले राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सुजाता कोइरालालाई भारत हुँदै अमेरिका र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएर नेपालको प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने अभियानमा आफू जोडिएको विषय सुनाए।
त्यतिबेला नजरबन्दमा रहेका गिरिजाप्रसाद कोइरालालाई कसरी बाहिर निकाल्ने भन्ने विषयमा समेत अन्तर्राष्ट्रिय तहमा पहल भएको उनले बताए ।
‘गिरिजाप्रसाद कोइराला नभएको भए अहिलेको सुनील शर्माको मेडिकल विरासत हुने थिएन,’ शर्माले भने, ‘गिरिजाबाबुले निःस्वार्थ रूपमा कुनै कुरा नमागी नोबेल मेडिकल कलेजको सम्बन्धन दिलाइदिनुभएको हो। त्यसकै आधारमा काठमाडौं मेडिकल कलेजसम्म आइपुगियो।’ शर्माले आफूलाई गिरिजाप्रसाद आफ्नो ‘अर्को बुबा’ भएको उल्लेख गरे।
‘आज बुबाको मुख हेर्ने दिन भएकाले बिहानै जैविक बुबाको हातबाट टीका लगाएर आएको हुँ। मेरा बायोलोजिकल बुबा–आमाले मलाई यहाँसम्म ल्याउनुभयो। तर, व्यावसायिक संस्थालाई कर्पोरेट हाउसका रूपमा विकास गर्न गिरिजाबाबुले दिनुभएको आशीर्वादले पनि मलाई यहाँसम्म ल्यायो,’ उनले भने ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस