शोभाकान्त न भदौभित्र काठमाडौं आए न त राजीनामा दिए
समाचार टिप्पणी
काठमाडौं। मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले एउटा उद्घोष पूरा गरेको पाइँदैन। साउन १ गते महालेखा नियन्त्रकबाट बिदाइ हुँदा सहमहालेख नियन्त्रक, उपमहालेखा नियन्त्रकलगायतका कर्मचारीलाई राखेर एउटा उद्घोष गरेका थिए। शोभाकान्तले भनेका थिए, ‘सरकारले भदौभित्र काठमाडौं नल्याए राजीनामा दिन्छु।’, तर आज असोज १ गते भइसकेको छ। न उनी सरूवा भएर काठमाडौं आए न त राजीनामा नै दिए। शोभाकान्तको बोली एउटा र व्यवहार अर्कै छ भन्ने कुरा यसबाट पनि प्रस्ट हुन्छ।
शोभाकान्तको शक्ति
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पुराना तीनै दल सत्तामा हुँदा अर्थ मन्त्रालयमा राइँदाइँ गर्ने कर्मचारीमा शोभाकान्त पौडेल पर्छन्। निजामती सेवाको तल्लो तहबाट जागिर सुरू गरेका शोभाकान्त नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)को हैसियतमा कार्यरत छन्। उनी हाल मधेश प्रदेशको प्रमुख सचिवमा हुन्।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले पौडेललाई भन्सार विभागको महानिर्देशक बनाएका थिए। पौडेलले २०८० जेठ १७ गतेदेखि चैत १८ गतेसम्म १० महिना भन्सार विभागको महानिर्देशकमा काम गरे। त्यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पौडेल आन्तरिक राजस्व विभागको महानिर्देशक भएका थिए। २०७८ भदौ ३ गते आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका पौडेल २०७८ फागुन १ गतेसम्म उक्त जिम्मेवारीमा रहेका थिए। चर्चित बिचौलिया दिपक भट्टले आन्तरिक राजस्व विभागको डिजी बनाएका पौडेल ६ महिनामा त्यहाँबाट बाहिरिए। उनी दुवै विभागमा पुग्नुम ‘भट्ट फ्याक्टर’ले ठूलो काम गरेको पाइन्छ।
चूडामणि शर्मा आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा पौडेल ठूला करदाता कार्यालयको प्रमुख रहेका थिए। तत्कालीन महानिर्देशक शर्मा र पौडेलको मिलेमतोमा एनसेलको पूँजीगत लाभकर नतिरी टेलियासोनेराका तीन कर्मचारीलाई भगाउने काम गरेको आरोप लाग्दै आएको छ। अनुसन्धानका लागि उनीहरू पक्राउ पर्नुअघि सूचना चुहिएर भागिसकेका थिए।
पौडेल सचिवमा बढुवा भएपछि एक महिना पनि गण्डकी प्रदेश नबसी तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रयोग गरेर महालेखा नियन्त्रक बन्न सफल भए। तत्कालीन अर्थमन्त्री पौडेलका निजी सचिव मधुसूदन पौडेल (दोमासे)लाई परराष्ट्र मन्त्रालयमा पठाउने सर्तमा उनी गण्डकी प्रदेशको प्रमुख सचिवबाट महालेखा नियन्त्रक बनेर संघमा फर्किएका थिए। पौडेल महालेखा नियन्त्रक भएको एक महिना नबित्दै अर्थमन्त्री विष्णुका निजी सचिव रहेका लेखा उपसचिव मधुसूदन परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए। जबकी लेखा समूहका कर्मचारी सरुवा तथा काज व्यवस्थापन सम्बन्धी मापदण्डमा उपसचिव भएको दुई वर्ष पूरा नभइ परराष्ट्र मन्त्रालय पठाउन नमिल्ने व्यवस्था छ। मधुसूदन उपसचिव हुनेबित्तिकै अर्थमन्त्री विष्णुको निजी सचिव बने त्यसपछि एक वर्ष पूरा नभइ परराष्ट्र मन्त्रालय पुगेका थिए। शोभाकान्तले मधुसूदनलाई मापदण्डको खिल्ली उडाउँदै सुशासनलाई हावा खुवाएर परराष्ट्र मन्त्रालय पठाएका थिए।
मासु व्यापारीले जस्तो लेखाका कर्मचारी सरूवा गरेको आरोप लागेका शोभाकान्तले नातेदार व्यवस्थापनलाई उच्च प्राथमिकता दिए। उनी यति जान नानेदारलाई राम्रो ठाउँ पठाउनु छ भनेर खुलेरै हिँड्ने गरेका थिए। भेगीय हिसाबको सरुवामा उनको विशेष जोड रहँदै आएको पाइन्छ। शोभाकान्तले मापदण्ड मिचेर लेखामा यस्ता धेरै सरूवा गरेका छन्।
२०३० साल भदौमा स्याङ्जामा जन्मिएका शोभाकान्त पौडेलले खरिदारबाट सरकारी सेवा सुरू गरेका थिए। २०५३ जेठ ८ गतेबाट सरकारी जागिर खाएका उनको ३० वर्ष सेवा अवधि पूरा भइसकेको छ। राजस्व अधिकृतमा लामो समय जागिर खाएका पौडेल लेखाको उपसचिव भएर ३ वर्ष काम गरे। २०७० चैत २६ गते सहसचिव बनेका शोभाकान्त २०८२ वैशाख २९ गते सचिवा बढुवा भएका थिए।
सहसचिव हुँदा अधिकांश समय शोभाकान्तले अर्थ मन्त्रालयमा बिताए। अर्थ मन्त्रालय अन्तर्गतका शक्तिशाली भन्सार र आन्तरिक राजस्व विभागको महानिर्देशक बनेका शोभाकान्त दुबै विभागको कमाण्ड सम्हाल्ने औंलामा गर्न सकिने नाम हो।
सचिव भएपछि १५/२० दिन त शोभाकान्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमै हाजिर गरे। तत्कालीन मुख्यसचिव एकनारायण अर्याललाई ‘दाइ’ भनेर सम्बोधन गर्दै विशेष ‘भाइ’ बनेका शोभाकान्त प्रदेशमा सरुवा भएपनि प्रधानमन्त्री कार्यालयमै डेरा जमाएर बसे। साँझपख सिंहदरबारमा नेपाल नागरिक उड्डयन प्राधिकरणका विवादित तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘नारिएर’ हिँड्ने गरेका शोभाकान्त गण्डकी प्रदेशमा हाजिर भएको एक महिनामै संघमा फर्किए। बसाइका हिसाबले उनी १५ दिनपनि पोखरामा नबसी काठमाडौं फर्किएका हुन्। एकनारायणको ‘कुलिङ ग्याङ’को सदस्य भएर अग्रमोर्चामा देउसीभैलो खेल्न हिँडेका थिए। उनी आफूलाई निकै शक्तिशाली र चतुर कर्मचारी ठान्छन्।
शोभाकान्तले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष,नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्ष, नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षलगायत अर्थ मन्त्रालय अन्तर्गतका महत्त्व र संवेदनशील निकायको जिम्मेवारी सम्हालिसकेका छन्।
तर सधै रोजीराजी जिम्मेवारी पाउने तरमारा सचिव शोभाकान्तलाई बालेन सरकारले संघबाट मधेश प्रदेश खटाएको छ। बालेन सरकारलाई गाली दिँदै मधेश प्रदेशबाट भदौभित्र सिंहदरबार नल्याए राजीनामा दिने घोषणा गरेका शोभाकान्तले राजीनामा दिएकाे विषय अहिलेसम्म सार्वजनिक भएको छैन।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस