राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बार्षिकोत्सब अन्तर्गत खेलकुद सप्ताह सुरु
घोराही । संबिधान दिवस तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवको अवसरमा खेलकुद सप्ताह शनिबारदेखि सुरु भएको छ । नेपाल पुलिस बोर्डिङ स्कुलमा आयोजित खेलकुद सप्ताहको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले उद्घाटन गरे ।
खेलकुद सप्ताहअन्तर्गत भलिबल, फुटबल, दौड, क्रिकेटलगायत विभिन्न विधाका १७ वटा खेल आयोजना गरिएको छ । खेलकुद सप्ताह असोज १० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै रजिस्ट्रार प्रा. लम्सालले खेलकुदले शारीरिक स्वास्थ्यसँगै मानसिक स्फूर्ति, अनुशासन, आपसी सहकार्य र संस्थागत एकताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतिष्ठानको वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई शिक्षक, कर्मचारी, चिकित्सक, नर्स तथा विद्यार्थीबीचको सम्बन्ध थप सुदृढ गर्ने अवसरका रूपमा मनाउन लागिएको उनले बताए ।
उनले प्रतिष्ठानको विकास र उन्नतिमा यहाँ कार्यरत सबैको सामूहिक भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वार्षिकोत्सवका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमले संस्थागत एकता, सहकार्य र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
खेलकुद सप्ताहको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक सहप्रा. डा. सुरेश रसाइलीसहित शिक्षक तथा कर्मचारी, चिकित्सक, नर्स, एमबीबीएस तथा नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस