सचिव बढुवाका लागि आभा, चक्र र जयनारायणको नाम सिफारिस


काठमाडौं। नेपाल प्रशासन सेवाको सचिव बढुवाका लागि आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस भएको छ। सोमबार बसेको बढुवा समितिको बैठक सहसचिवत्रय आभा, चक्र र जयनारायणको नाम सिफारिस गरेको हो।

लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठक पहिलो नम्बरमा आभा, दोस्रो नम्बरमा चक्र र तेस्रो नम्बरमा जयनारायणको नाम सिफारिस गरेको छ। आभा तेस्रोपटक, चक्र दोस्रोपटक र जयनारायण पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएका हुन्। आभा मधेशी कोटाबाट र चक्र पिछडिएको क्षेत्रको कोटाबाट सहसचिव भएका थिए। जयनारायण भने खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्।

जयनारायण काठमाडौंको सिडिओ हुँदा नक्कली शैक्षिक प्रमाणपत्र भनेर अदालतले उल्लेख गरेपछि विवादमा परेका थिए। त्यसपछि गृह मन्त्रालयले उनलाई सिडिओबाट हटाएको थियो। उनै जयनारायण सचिव बढुवाको प्रतिस्पर्धामा उक्लिएका छन्।

आभा मधेश प्रदेश, चक्र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र जयनारायण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छन्। अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीनमध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ।

हाल राष्ट्रिय सतर्कता केन्द्रमा सचिव पद रिक्त रहेको छ। आरक्षण प्रयोग गर्नेलाई सम्बन्धित क्षेत्र वा समुदायमा खटाउदा न्यायपूर्ण कदम हुनेछ। आरक्षण बाट आएकाले उक्त क्षेत्र वा समुदायको हक हितमा काम गर्नु पर्ने भएकाले सरकारले सो अवसरमा दिन आवश्यक देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #आभा श्रेष्ठ, #चक्रबहादुर बुढा, #जयनारायण आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ