युएनडिपीको पीआर र खरिद विवादमा अख्तियार सक्रिय, प्रधानमन्त्री कार्यालयदेखि स्वास्थ्यसम्म परिपत्र

खुला प्रतिस्पर्धाबाट भएको निर्णय उल्ट्याएर युएनडिपीलाई पुनः पीआर दिने तयारीमा स्वास्थ्य सचिव र मन्त्रीको भूमिकामाथि प्रश्न


काठमाडौं । सुशासन, पारदर्शिता र जवाफदेहिताको नारा दिएर बनेको सरकारले आफ्नै स्वास्थ्य मन्त्रालयभित्र भएको निर्णय र त्यसपछि विकसित घटनाक्रमको जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको छ।

ग्लोबल फण्डको अनुदानअन्तर्गत नेपालका लागि प्रिन्सिपल रिसिपियन्ट (पीआर) छनोट, विवादित एचआईभी डुअल टेस्ट किट खरिद र अनुदान रकमको उपयोगमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि अर्थ, परराष्ट्र, महिला, बालबालिका तथा स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरेको छ। गृह मन्त्रालयमार्फत देशभरका जिल्ला प्रशासन कार्यालयलाई समेत छानबिनका लागि परिपत्र गरिएको विवरण प्राप्त भएको छ।

अख्तियारको चासो बढिरहेका बेला स्वास्थ्य मन्त्रालय भने ग्लोबल फण्डको आठौँ अनुदान चक्र (ग्रान्ट साइकल–८) अन्तर्गत नेपालका लागि पीआर पुनः संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) लाई दिने तयारीमा जुटेकाे छ । ग्लाेेबल फण्डकाे टिमसँग साेमबार स्वास्थ्य मन्त्राालमा छलफल हुने तय छ ।

आफ्नाे निर्णय विपरीत सुशासनको ध्वज्जी उडाउदै पुन युएनडिपीलाइ पीआर सुम्पने तयारीमा रहका स्वास्थ्य सचिव डा. विकास देवकोटा र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।

विवादको मुख्य विषय आफ्नै सरकारी संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सीसीएम) ले प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरेको छनोटलाई मन्त्रालयले किन निरन्तरता दिन सकेन भन्ने हो।

गत असार ३१ गते बसेको सीसीएम बैठकले पीआर छनोटका लागि खुला आवेदन आह्वान गरी मूल्यांकनका आधारमा संस्था छनोट गर्ने निर्णय गरेको थियो। विगतमा मन्त्री र सचिवको चाहनाअनुसार संस्था छनोट हुने गरेको आलोचनाबीच यसपटक पहिलोपटक प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको थियो। तर, अन्तिममा बालेन सरकारकाे सुशासनलाई बल पुर्याउनुकाे अलवा दाग लगाउन सचिव र मन्त्री तयार हुनुकाे पछाडि ठुलै चलखेल रहेकाे अधिकारीहरु बताउँछन् ।

उक्त प्रक्रियामा युएनडिपी, युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेज (युनोप्स), सेभ द चिल्ड्रेन र प्लान इन्टरनेशनलले आवेदन दिएका थिए।

प्राप्त मूल्यांकन विवरणअनुसार युनोप्सले ८२.१०, युएनडिपीले ८१.५३ र प्लान इन्टरनेशनलले ६९ अंक प्राप्त गरेका थिए। सेभ द चिल्ड्रेनले मुख्यालयबाट जारी हुनुपर्ने अनुमति पत्र (अथोराइजेसन लेटर) संलग्न नगरेको भन्दै मूल्यांकन प्रक्रियाबाट बाहिर राखिएको थियाे ।

तर, पछि ग्लोबल फण्डले सेभ द चिल्ड्रेनले पेस गरेको अनुमति पत्रलाई आधिकारिकता दिन सकिने स्पष्ट जवाफ दिएको दाबी गरिएको छ। यस्तो अवस्थामा उक्त संस्थाको आवेदनसमेत मूल्यांकन गर्नुपर्नेमा त्यसो नगरी युएनडिपीलाई नै पुनः पीआर बनाउने निर्णयको पत्र पठाइएको विषयले विवाद थप चर्काएको छ। प्रधानमन्त्री कार्यालयले समेत उक्त पत्रका आधारमा मुल्यांकन गर्न भनेपछि मन्त्री सचिवले अटेर गर्दै आएका छन् ।

सचिवको जवाफ र मन्त्रीको बदलिएको अडान

सीसीएमको निर्णयपछि त्यसलाई कार्यान्वयन गराउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको पनि हो। तर, अहिले मन्त्रालयबाटै उक्त निर्णयलाई निरन्तरता दिनुको सट्टा युएनडिपीलाई पुनः पीआर दिने बाटो खोलिएको आरोप छ। यसमा स्वास्थ्य सचिव डा. विकास देवकोटाको भूमिका सबैभन्दा बढी प्रश्नको घेरामा परेको छ।

स्रोतका अनुसार सचिव देवकोटाले ग्लोबल फण्डले एडिसनल सेफगार्ड पोलिसी लागू गरिसकेकाले अब मन्त्रालयले केही गर्न नसक्ने जवाफ दिने गरेका छन्। तर, नेपालमा उक्त नीति लागू गर्नुपर्ने अवस्था किन आयो? त्यसका लागि कसले पहल गर्‍यो? सीसीएमको निर्णय हुँदाहुँदै त्यसलाई निष्प्रभावी बनाउने अवस्था कसरी सिर्जना भयो? यी प्रश्नको जवाफ सचिवले दिनुपर्ने देखिन्छ।

यश अगाडि सेभ द चिल्ड्रेनलाई ग्लाेबल फण्डले सेफगार्ड पाेलिसि लगाएर पीआर दिदा स्वास्थ्य सचिव डा राेशन पाेखरेल र मन्त्री माेेहन बस्नेतले सरकारी निर्णय मात्रै आधिकारिक हुुने भन्दै ग्लाेबल फण्डलाइ थर्काएपछि पीआर युएनडिपी भएको थियाे ।

त्यसैले विगतको नजिर हुँदाहँुदै ग्लोबल फण्डको निर्णय भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। मन्त्रालयको प्रशासनिक नेतृत्व गरेका सचिवले सरकारी संयन्त्रको निर्णय कार्यान्वयन गराउन के पहल गरे र निर्णय परिवर्तन हुन लागेको अवस्थामा किन स्पष्ट अडान लिन सकेनन् भन्ने विषय सार्वजनिक हुनुपर्छ।

अझ रोचक पक्ष त मन्त्री निशा मेहताको अघिल्लो अडान र अहिलेको तयारीबीच देखिएको विरोधाभास हो। मन्त्री मेहताले यसअघि युएनडिपीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उसलाई पीआर नदिने बताएकि थिइन् । तर, अहिले पुनः युएनडिपीलाई नै जिम्मेवारी दिने प्रक्रिया अघि बढेको हो भने मन्त्रीको अडान किन परिवर्तन भयो?

हिजो युएनडिपीको कार्यशैलीमाथि प्रश्न उठाउने मन्त्री आज उसैलाई पीआर दिने निर्णयमा कसरी सहमत हुन पुगिन्? सचिवले ग्लोबल फण्डको नीतिलाई आधार बनाएर जिम्मेवारीबाट पन्छिने र मन्त्रीले आफ्नो अघिल्लो अडान परिवर्तन गर्ने अवस्थाको वास्तविक कारण के हो? के मन्त्रालयले सीसीएमको निर्णयभन्दा बाह्य संस्थाको निर्णयलाई प्राथमिकता दिन खोजेको हो?
यी प्रश्नको जवाफ मन्त्री र सचिव दुवैले दिनुपर्ने हुन्छ। सुशासनको प्रतिबद्धता भाषण र सार्वजनिक अभिव्यक्तिमा मात्र सीमित हुने कि सरकारी निर्णय कार्यान्वयनमा पनि देखिने भन्ने परीक्षा यही घटनाले गरिरहेको छ।

विवादित किट खरिद र अनुदान खर्चमा पनि प्रश्न

युएनडिपीमार्फत ग्लोबल फण्डको अनुदानमा नेपालमा प्रयोगमा नरहेको एचआईभी डुअल टेस्ट किट खरिद गरिएको विषय अर्को गम्भीर विवाद हो।

नेपालमा उक्त किटको आवश्यकता, प्रयोगको स्वीकृति, प्राविधिक औचित्य र खरिद प्रक्रियाबारे प्रश्न उठाइएको छ।
नेपालको राष्ट्रिय स्वास्थ्य कार्यक्रमको आवश्यकतासँग मेल नखाने किट खरिद किन गरियो? त्यसको प्राविधिक मूल्यांकन कसले गर्‍यो? खरिदको निर्णय कसले गर्‍यो? राज्यको स्वास्थ्य प्रणालीमा प्रयोगको अवस्था नभएको सामग्रीमा अनुदान रकम खर्च गर्ने आधार के थियो?

यी प्रश्नको जवाफ युएनडिपीले मात्र होइन, खरिद प्रक्रिया र कार्यक्रम कार्यान्वयनमा संलग्न सम्बन्धित सरकारी अधिकारीहरूले पनि दिनुपर्छ।

त्यसैगरी ग्लोबल फण्डको अनुदानबाट सञ्चालित कार्यक्रम, युएनडिपीमार्फत भएका खरिद, कार्यक्रम कार्यान्वयन र सब–रिसिपियन्ट (एसआर) संस्थाहरूको गतिविधिमा समेत अनियमितता भएको आशंकासहित अख्तियारले सुक्ष्म अनुसन्धान अगाडि बढाएको हाे। यस्ता अवैधानिक गतिविधि गर्ने र पफमेन्स “डि” आएको संस्थालाई नै पुन पीआर दिन चलखेल हुनुकाे पछाडि के रहस्य रहेकाे छ खाेजी हुन जरुरी छ ।

प्रधानमन्त्री कार्यालयदेखि जिल्ला प्रशासनसम्म अख्तियारको पत्राचार

यिनै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सरकारी निकायको ध्यानाकर्षण गराएको छ। प्राप्त विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्राचार गरिएको छ। गृह मन्त्रालयमार्फत देशभरका जिल्ला प्रशासन कार्यालयलाई समेत छानबिनको प्रयोजनले परिपत्र गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिवलाई सम्बोधन गरी पठाइएको अख्तियारको पत्रमा आयोगमा दर्ता भएको उजुरीका सम्बन्धमा निर्णय भएको उल्लेख छ। पत्रमा उजुरीसहित पाँच पानाको छायाप्रति संलग्न गरी आवश्यक कारबाहीका लागि सबै सम्मबन्धीत मन्त्रालयमा पठाइएको छ।

यसले विषयलाई एउटा मन्त्रालय वा एउटा संस्थाको प्रशासनिक विवादमा मात्र सीमित नराखी विभिन्न सरकारी निकायको ध्यानाकर्षण गराएको देखिन्छ।

सुशासनको नारा कि निर्णयमा जवाफदेहिता?

जेन्जी आन्दोलनपछि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धतासहित बनेको सरकारकै स्वास्थ्य मन्त्रालयमा खुला प्रतिस्पर्धाबाट भएको निर्णय उल्ट्याउन लाग्नु सामान्य प्रशासनिक विषय होइन।

एउटा सरकारी संयन्त्रले मूल्यांकन गरेर संस्था छनोट गर्छ, अर्को अन्तर्राष्ट्रिय निकायको पत्र आएपछि त्यही निर्णय कार्यान्वयनमा अन्योल सिर्जना हुन्छ र मन्त्रालयका जिम्मेवार पदाधिकारीले स्पष्ट जवाफ दिन सक्दैनन् भने त्यसको जवाफदेहिता कसले लिने?

मन्त्री र सचिवले आफ्नो जिम्मेवारीबाट पन्छिएर ग्लोबल फण्डको निर्णयलाई मात्र देखाउन मिल्दैन। सरकारी निर्णयको सम्मान, राष्ट्रिय स्वास्थ्य कार्यक्रमको आवश्यकता र सार्वजनिक अनुदानको पारदर्शी उपयोग सुनिश्चित गर्नु उनीहरूको पनि जिम्मेवारी हो।

प्रधानमन्त्री कार्यालयले अब स्वास्थ्य मन्त्रालयसँग पीआर छनोटको निर्णय परिवर्तन गर्न खोजिएको कारण, मन्त्रीको अघिल्लो अडान र अहिलेको भूमिकाबीचको अन्तर, सचिवले लिएको निर्णय तथा एडिसनल सेफगार्ड पोलिसी लागू गर्नुको आधारबारे स्पष्ट जवाफ माग्नुपर्ने देखिन्छ।

अख्तियारले उठाएका उजुरीका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ। छानबिनको निष्कर्ष नआउँदै पीआर छनोटको निर्णय परिवर्तन गर्न खोजिएको हो भने त्यसको कानुनी र प्रक्रियागत आधार सार्वजनिक हुनुपर्छ।

सुशासनको जगमा बनेको सरकारका लागि अहिलेको मुख्य प्रश्न यही हो—आफ्नै सरकारी संयन्त्रको निर्णय मान्ने कि जिम्मेवार पदाधिकारीको चाहनाअनुसार निर्णय परिवर्तन गर्ने? यसको जवाफ प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवले दिनैपर्छ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार, सुशासन
ट्याग : ##CCM Nepal, ##Global Found NEPAL, ##UNDP NEPAL

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ