कर्णालीका ४ सांसद पद आज खारेज हुँदै


काठमाडौँ । कर्णाली प्रदेशका ३ मन्त्रीसहित ४ सांसदको पद आज खारेज हुँदैछ। पार्टीको निर्देशन (ह्विप) विपरीत माओवादी केन्द्रबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कारण उनीहरूलाई नेकपा एमालेले कारबाही गरेको हो।

कर्णाली प्रदेशको एमाले संसदीय दलले पदबाट हटाउन भन्दै प्रदेशको संसद सचिवालयमा दर्ता गराएको पत्र आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले पढेर सुनाउने कार्यक्रम छ।

योसँगै प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीको सांसद पद गुम्ने भएको हो।

यही वैशाख ३ गते ‘फ्लोर क्रस’ गरेर आफ्ना पक्षमा मतदान गरेर पद र सरकार जोगाइदिएको भोलिपल्टै मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री बनाएका थिए। अब आज सांसद पद गुमेपछि उनीहरूको मन्त्री पद पनि जानेछ।

तर सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुरूप उनीहरूलाई सकेसमम आजै साँझ पुनः मन्त्रीमा नियुक्ति दिने तयारी मुख्यमन्त्रीले गरेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश सरकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com