बढ्दै मातृ मृत्युदरको ग्राफ


काठमाडौं । कोभिड–१९ जनस्वास्थ्य महामारीका कारण विश्वले सन् २०३० सम्म स्वास्थ्यको सर्वव्यापी पहुँचको लक्ष्य प्राप्त गर्न निकै कठिन देखिएको छ । नेपालमा पनि यसको असर नराम्रोसँग पर्ने देखिएको छ । नेपालका स्वास्थ्य अधिकारीहरुले राज्यका तर्फबाट संचालित कार्यक्रमहरुमा निकै अवरोध पुगेका कारण दिगो विकास लक्ष्यअन्तर्गतको स्वास्थ्यको लक्ष्य पूरा हुनेमा अधिकारीहरुले आशंका जनाएको छन् ।

परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा पुण्या पौडेल सन् २०३० मा प्रतिलाख जीवित शिशुको जन्ममा मातृ मृत्यु ७० मा झार्ने बताउँछीन् । २०२० मा मातृ मृत्यु १२५ मा झार्ने लक्ष्य थियो । तर, बढेको छ । सरकारी तथ्यांक अनुसार ०७४–०७५ मा ९५ जना आमाको मृत्यु भएको थियो । त्यस्तै ०७५–०७६ मा ९८ जना आमा ०७६–०७७ मा १३० जना गर्भवतीको मृत्यु भएको छ । यता साउन ०७७ देखि असार ०७८ सम्म १३८ जना गर्भवतीको मृत्यु भएको छ ।

सन् १९९० मा प्रतिलाख ५३९ रहेको नेपालको मातृ मृत्युदर अहिले २३९ रहेको छ । जुन २०१७ सम्ममै १७० मा झरिसक्नु पथ्र्यो । त्यो हुन सकेको देखिदैन । अझै २०३० सम्ममा ७० मा झार्नु पर्ने चुनौती बाँकी नै छ अधिकारीहरुले भनेका छन् । सरकारी तथ्यांक अनुसार वार्षिक करिब सातलाख महिला गर्भवती हुने गरेका छन् । तीन लाख भन्दा बढीले घरमै बच्चा जन्माउने गरेको तथ्याङ्क छ ।

स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने गर्भवती महिलाहरूको संख्या प्रतिशतमा हेर्ने हो भने ५९ प्रतिशत मात्रै छ । चिकित्सकहरु भन्छन्, विशेष गरी भौगोलिक विकटता, स्वास्थ्य सेवामा असहजता, परम्परागत मान्यता, शिक्षा र जनचेतनाको कमी, आर्थिक समस्याजस्ता कारणले पनि मातृ मृत्युदर उच्च छ । नेपालको संविधानले महिलाको सुरक्षित मातृत्व र प्रजाननसम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । तर कार्यान्वयन तहमा हेर्ने हो भने यो अवस्था छैन ।

स्वास्थ्य मन्त्रालयले बाहिर देखाएको भन्दा मातृ मृत्युको अवस्था भित्र निकै भयावह छ । एनजिओको कब्जामा सफ्टवेरको आइडी पासवर्ड भएकाले पनि सरकारी अधिकारीहरुको सहज पहुँच छैन । यसले गर्दा तथ्यांक दुरुपयोग गर्न र सही सुचना बाहिर नदिन ठुलो भुमिका निर्वाह गरेको अधिकारीहरु बताउँछन् ।

‘हामी तथ्यांकको बारेमा कसैलाई पनि भन्दैनौं परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा पुण्या पौडेलले भनिन्, ‘अहिले मातृ मृत्युदर बारे कुनै कुरा नगरौं ।’ सही सुचना बाहिर मिडियामा नबोल्न सचिव लक्ष्मण अर्याल देखि स्वास्थ्य सेवा विभागका महानिर्देशक सम्मले उर्दि जारी गरेको कर्मचारीहरु बताउँछन् ।

यो सरकारी तथ्यांकले विगतमा भन्दा अहिले मातृ मत्यु बढेको देखिएको छ । यसको मुख्य कारण कोरोना महामारी भएको धेरैको अनुमान छ । तर, सरकारले कोरोनाका कारण मातृ मृत्युमा बढवा आएको औपचारीक घोषणा गरेको छैन ।

नेपालमा कोरोनाबाट पहिलोपटक सुत्केरीकै मृत्यु भएको थियो । ०७७ जेठ ३ गते सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएकी थिइन् । उनी १० दिनकी सुत्केरी थिइन् । बि. स ०७७ साउन देखि ०७८ असार सम्म ४० जना आमाहरुको गर्भमा बच्चा हुदै मृत्यु भएको थियो । ०७६ साउन देखि ०७७ असार सम्म गर्भमा बच्चा हुदै मृत्यु हुनेको संख्या १९ थियो ।

त्यसैगरी सुत्केरी हुने बेला साउन ०७७ देखि असार ०७८ सम्ममा २७ जनाको मृत्यु भएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या कम हो । अघिल्लो वर्ष सुत्केरी हुने बेला ४३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । सुत्केरी भइसकेपछि हुने मृत्यु भने योवर्ष पनि बढेको छ । तथ्यांक अनुसार साउन ०७७ देखि ०७८ असार सम्म ७१ जनाको सुत्केरी भइसकेपछि मृत्यु भएको छ । अघिल्लो वर्ष ०७६ साउन देखि ०७७ असार सम्ममा ६८ जनाको मृत्यु भएको थियो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com