‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्न साझेदार र सरोकारवालाबाट पृष्ठपोषण: स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट पहिचान, निदान र उपचार गर्ने योजना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘मानसिक स्वास्थ्य नीति’ तर्जुमा गर्न थालेको छ । यसका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने क्षेत्रसँग सम्बन्धित संघसंस्था, स्वास्थ्यकर्मी, पुनःस्थापना केन्द्रका प्रतिनिधिहरुबाट पृष्ठपोषण लिएको छ। आइतबार स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनको अध्यक्षतामा बसेको पृष्ठपोषण बैठकमा मानसिक स्वास्थ्य समस्या न्यूनीकरण, पहिचान, निदान तथा उपचारका लागि महानगरपालिकाका कानुनी दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर पृष्ठपोषण लिइएको थियो।
त्यस क्रममा संयोजक महर्जनले, शारीरिक भौतिक अवस्थाको स्वास्थ्यप्रति लगानी भएको, सचेतना र प्रवर्धनका लागि काम भएको उल्लेख गर्दै मानसिक स्वास्थ्यका बारेमा अपेक्षित प्राथमिकता नभएकोले यसलाई महानगरपालिकाले नीतिबाटै सम्बोधन गर्न लागेको बताए। ‘यो समस्या भएका व्यक्ति आफूलाई के भएको हो, थाहा हुँदैन। परिवारले थाहा पायो भने लुकाउन खोज्छ । कोही उपचारका लागि गइहाले पनि उपयुक्त ठाउँमा पुगेको देखिँदैन । स्वास्थ्य सेवा प्रदायकले पनि आफूले समाधान गर्ने समस्या नभए पनि विरामीको उपचार थाल्ने गरेको देखिन्छ । विरामीलाई समस्या समाधानका लागि उचित स्थान देखाउने गरेको पाइँदैन। यस्ता व्यवहारका कारण विरामी झन पीडित बन्दै गएका छन् । त्यसैले, महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा मानसिक समस्याको पहिचान गर्ने, निदान र उपचार गर्ने योजना बनाएको छ । आउँदो आर्थिक वर्षदेखि हामी चरण चरणमा वडाहरुमा सेवा प्रवाह गर्न थाल्नेछौँ।’
महानगरपालिकाका स्वास्थ्य सल्लाकार डा. मणिन्द्र गोर्खालीले, विज्ञबाट प्राप्त सुझाव ग्रहण गरेर अहिले देखिएका मानसिक स्वास्थ्यका समस्या र आउँदा दिनका सम्भावित जोखिमका पूर्वअनुमान गरेर नीति तर्जुमा गर्ने धारणा राखे। स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले, शारीरिक स्वास्थ्य परीक्षणजत्तिकै सरल, सहज र पहुँचयुक्त मानसिक स्वास्थ्य परीक्षण संयन्त्र निर्माण गर्ने दिशामा महानगरपालिकाले काम गरिरहेको उल्लेख गरे ।
काठमाडौं महानगरपालिकाले तर्जुमा गर्ने मानसिक स्वास्थ्य नीतिमा रुपान्तरित व्यक्ति, परिवार, समाजको अवस्था र व्यवस्था, उमेर समूहसँग सम्बन्धित परिस्थिति जस्ता पक्ष समेट्ने गरी नीति तर्जुमा गर्न सुझाव प्राप्त भएको छ। प्रा. डा. सरोजकुमार ओझा, प्रा. डा. रवि शाक्य, डा. वासुदेव कार्की, डा. सुरज शाक्य, अभियन्ता रञ्जु दर्शनासहित वक्ताले अवस्थाको सुक्ष्म अध्ययन गरेर समस्या समाधानको उपायलाई नीतिमा बिम्बित गर्नुपर्ने सुझाव दिएका हुन् । स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्यको पहिचान तथा उपचारका लागि क्षमता विकास गर्नुपर्ने सुझाव दिएका छन् ।
शिक्षा र जानकारीका अभाव मानसिक स्वास्थ्य पहिचानका लागि सबैभन्दा ठुलो चुनौती रहेको बताउँदै छलफलमा सचेतनाका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके मात्र पनि धेरै समस्या समाधान गर्न सकिनेमा जोड थियो। यसका लागि विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान समावेश गर्न सके सचेतनाका एउटा महत्वपूण अध्याय पूरा हुनेछ । यो काम गरौँ। विज्ञहरुको सुझाव छ। यससँगै मनोसामाजिक परामर्श, जोखिमपूर्ण मानसिक समस्याका व्यक्तिहरुको उद्धार, हेरचाह, मनोसामाजिक परामर्श तथा फर्माकोलोजिक थेरापीसहितको उपचार र पुनःस्थापना संयन्त्रका बारेमा महानगरपालिकाले काम गर्नुपर्छ। विज्ञ तथा वक्ताहरुले सुझाव दिनुभएको स्वर्णिम योजना ‘आरोग्य जीवन’ कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीले जानकारी दिए।
बैठकमा प्रा. डा. शान्ता निरौला, डा. पुष्पराज पौडेल, डा. रचना शर्मा, डा. कमल गौतम, डा. नर्मदा देवकोटा, डा. दिपेश भट्टराई, डा. ज्यासम्नि मा, डा. प्रभाकर मनु, निकिता प्रधान, श्रुती राणा, तिलरूपा भट्टराई, रामलाल श्रेष्ठले व्यक्ति व्यक्तिका बिचमा मानसिक मानसिक स्वास्थ्य बढ्दै गएको अवस्थालाई अहिले नै पहिचान गरेर सम्भावित ठूलो जोखिम घटाउनु पर्नेमा जोड दिए।
सन् २०२२ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रतिवेदन अनुसार हरेक ८ जनामध्ये १ जना व्यक्तिमा मानसिक समस्या छ । विकासोन्मुख र मध्यम आय भएका देशमा बस्ने नागरिकहरुमा यसको भार धेर छ। व्यक्तिलाई अपाङ्गता बनाउने १० वटा प्रमुख कारणमध्ये मानसिक स्वास्थ्यसँग सम्बन्धित २ वटा कारण छन् । यी कारणहरु डिप्रेसिभ डिस्अडर्स दोस्रो स्थानमा छ । यस्तै एन्जाइटी डिस्अडर्स छैटौँ नम्बरमा छ ।
यस्तै समस्यासँग जोडिएको आत्महत्याको समस्या पनि नेपालमा बढ्दो क्रममा छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष (सन्) २०२३/०२४ मा नेपालभरि ७ हजार ३९९ व्यक्तिले आत्महत्या गरे । यो संख्या अघिल्लो वर्ष (२०२२/०२३) मा ६ हजार ९९३ थियो । यो मानसिक स्वास्थ्यले निम्त्याएको मानवीय क्षति हो ।
नेपालमा मानसिक स्वास्थ्य सेवालाई ख्याल नै गरिँदैन । स्वस्थ्य जीवनका लागि शारीरिक, मानसिक र सामाजिक अवस्था राम्रो हुनुपर्छ । शारीरिक अवस्था राम्रो भएर मात्र पुग्दैन । यसकारण महानगरपालिकाले तर्जुमा गर्न लागेको मानसिक स्वास्थ्य नीति समय सान्दर्भिक देखिन्छ । यसमा के कस्तो अवस्था, व्यवस्था र संयन्त्र आवश्यक पर्ला? महानगरपालिकाले सम्बद्ध पक्षबाट सुझावको अपेक्षा रहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस