सहसचिवको दरबन्दीमा आधा दर्जन उपसचिव सिडिओ, गृहको बरण्डामा १ दर्जन सहसचिव

काठमाडौं। गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले अहिले ‘सुशासनको नमूना’ प्रस्तुत गरिरहेका छन्। सहसचिवको दरबन्दी भएका झन्डै आधा दर्जन जिल्लामा उपसचिव सिडिओ राखेर उनीहरूले गृह प्रशासनमा सुशासनको नमूना प्रस्तुत गरिरहेको कर्मचारी वृत्तमा व्यंग्य सुरू भएको छ। एक दर्जन सहसचिव गृहको बरण्डामा राखेर उपसचिवलाई सहसचिवको दरबन्दीमा सिडिओ खटाएपछि गृहमन्त्री लेखक र सचिव दुवाडी ‘सुशासनका नमूना’ जोडीमा दर्ज भएका हुन्।
गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेका डडेल्धुरा, बैतडी, डोटी, सल्यान, जुम्ला उपसचिव सिडिओ खटाएको छ। सहसचिवको दरबन्दी रहेक अछाम, प्युठान, अर्घाखाँची, दैलेख र रामेछापबाट उपसचिव सिडओलाई किस्ताबन्दीमा झिके पनि बाँकी ५ जिल्लामा चलाएको छैन। शक्तिशाली उपसचिवलाई च्यापेर गृहमन्त्री लेखक र सचिव दुवाडीले निरीहता देखाएका छन्।
गृह मन्त्रालयले उपसचिव चोमेन्द्र न्यौपाने भदौ २४ गते सहसचिवको दरबन्दी भएको डडेल्धुरा सिडिओ खटाएको थियो। जुम्लाको सिडिओ उपसचिव रामबहादुर शाही असोज ९ हाजिर भएका थिए।सहसचिव कै दरबन्दी रहेको डोटीको सिडिओमा उपसचिव मोहनराज जोशी र बैतडीको सिडिओमा उपसचिव दिर्घराज उपाध्याय कार्तिक १२ गते हाजिर भएका थिए। पुस २८ गतेदेखि उपसचिव सावित्रा पुन सल्यानको सिडिओको भूमिकामा छिन्। यी सबै सहसचिवको दरबन्दी भएका जिल्ला हुन्। तर, गृहमन्त्री लेखेक र सचिव दुवाडीले उपसचिवलाई सिडिओ बनाएर सहसचिवलाई मन्त्रालयको जगेडामा राखेका छन्।
गृह मन्त्रालयको बरण्डामा सहसचिव प्रेमप्रसाद भट्टराई ४ महिना बढी समयदेखि हल्लिरहेका छन्। त्यस्तै सहसचिवहरू शंकरहरि आचार्य, अरूण पोखरेल, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा र वासुदेव दाहाल २ महिनादेखि गृह मन्त्रालयको जगेडामा छन्। आचार्य सुर्खेत, पोखरेल पूर्वी नवलपरासी, सुवेदी बाग्लुङ, शर्मा पर्वत र दहाल सिरहाको सिडिओबाट फिर्ता बोलाइएका थिए। उनीहरू अहिले गृहको बरण्डामा हल्लिएर बसिरहेका छन्।
निजामती सेवा ऐन, २०४९ को दफा १८ ख (१) मा कुनै लामो बिदामा बसेको र अन्यन्त्र काजमा खटिएको कारण पदाधिकारमा नरहेको अवस्थामा बाहेक २ महिनाभन्दा बढी जिम्मेवारी नदिई निजामती कर्मचारीलाई निष्क्रिय राख्न नपाइने प्रावधान रहेको छ। पदिय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएका पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था छ। तर, दुई महिनाभन्दा बढीदेखि सहसचिवलाई जिम्मेवारी नदिई राखेका गृहसचिव दुवाडीमाथि अहिलेसम्म विभागीय कारबाही भएको छैन। यसैले गृह मन्त्रालयमा सुशासनको नमूना प्रस्तुत भइरहेको छ। सुशासनको खिल्ली उडाउन गृहमन्त्री लेखक र सचिव दुवाडी अग्रसर देखिन्छन्।
सहसचिव सुनिता नेपाल र बुद्धबहादुर गुरुङ पनि गृहको बरण्डामै पुगेका छन्। चैतको तेस्रो साता स्याङ्जाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता बोलाइएकी नेपाल र लम्जुङका सिडिओबाट फिर्ता आएका गुरूङ गृह मन्त्रालयको बरण्डामा ‘घाम तापेर’ बस्न बाध्य छन्।
चौतर्फी आलोचनापछि गृह मन्त्रालयले सहसचिवको दरबन्दीमा रहेका केही उपसचिव सिडिओलाई फिर्ता बोलाएको थियो। अछामको सिडिओ रहेका उपसचिव शिवप्रसाद लम्साललाई गृह मन्त्रालय फिर्ता बोलाएर सहसचिव आनन्द सारूलाई सिडिओ बनाएर पठाइयो। प्युठानको सिडिओ रहेकी उपसचिव रमा आचार्य (सुवेदी)लाई गृह मन्त्रालय तानेर उक्त जिल्लाको सिडिओमा सहसचिव दिपकराज नेपाललाई लगियो। त्यस्तै अर्घाखाँचीका सिडिओ बाबुराम अर्याललाई गृह मन्त्रालय तानेर अर्यालको ठाउँमा सिडिओ बनाएर मन्त्रालयको जगेडामा रहेका सहसचिव वेदप्रसाद खरेललाई पठाइएको छ।
दैलेखको सिडिओ उपसचिव नवराज जैसी गृह मन्त्रालय तानेर जगेडामा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको सिडिओ बनाएर पठाइएको छ। त्यस्तै रामेछापमा रहेका उपसचिव राजुप्रसाद पौडेललाई मन्त्रालय फिर्ता बोलाएर तनहुँका सिडिओ सहसचिव श्यामकृष्ण थापालाई रामेछापको सिडिओमा पठाइएको हो।
गृह मन्त्रालयको जगेडामा १ दर्जन बढी सहसचिव हुँदा पनि सहसचिवको दरबन्दीमा आधा दर्जन जिल्लामा उपसचिव सिडिओहरूको रजगज चलिरहेको पाइन्छ। यसले गृह प्रशासनको बेथितिलाई राम्रोसँग उजागर भएको छ। गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले विधिको शासन र सुशासनमाथि निरन्तर प्रहार गर्दै आएका छन्। उपसचिवलाई सहसचिवको दरबन्दीमा सिडिओ कायम राख्नु र सहसचिवलाई गृहको बरण्डामा थन्क्याउनु त्यसैको उदाहरण हो।
क्याटेगोरी : समाचारट्याग : #उपसचिव सिडिओ, #चोमेन्द्र न्यौपाने, #दिर्घराज उपाध्याय, #मोहनराज जोशी, #रामबहादुर शाही, #सहसचिवको दरबन्दीमा उपसचिव सिडिओ, #सावित्रा पुन
तपाईको प्रतिक्रिया दिनुहोस