टेकु अस्पतालले सुरु गर्यो कुष्ठरोग उपचार सेवा


काठमाडौं । देशको एक मात्र सरुवारोग अस्पताल टेकुले कुष्ठरोगबाट पीडित बिरामीहरुको उपचार सुरु गरेको छ । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशकअघि नै घोषणा गरिए पनि १७ जिल्लाबाट अझै यो रोग हट्न नसकेका विवरणहरु आइरहेका छन् ।

देशको एउटा मात्रै सरुवारोग भएपनि कुष्ठरोगीको उपचार नहुनु दु:खद भन्दै अस्पतालले सबै प्रकारका सुविधासहित उपचार सुरु गरेको हो । अझै उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा देखिएको छ ।

कुष्ठरोग विशेषज्ञ डा. सिबेन्द्र कुमार झाका अनुसार संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन । रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा समस्या पुरानै रहेको अधिकारीहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति थियो तर, असफल भएको छ । कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख रबिन्द्र बास्कोटा अहिले पनि प्रत्येक वर्ष २१ सय कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । उनिहरुले औषधि सेवन गरिरहेका छन् ।

कुष्ठरोग विशेषज्ञ डा. झाका अनुसार भारको सिमानाका क्षेत्रमा कुष्ठरोगको कुनै खोजपर्ताल भएको छैन । सबै भन्दा पहिला रोगी पत्ता लगाउनु पर्ने चुनौती देखिएको छ । हामीले अब टेकुमै बिरामीको उपचार गर्नुपर्छ भनेर सुरुवात गरेका हौं । विगत दुई वर्षमा टेकुमा एक जनाले मात्रै कुष्ठरोगको औषधि खाएका छन् । उनलाई पनि असपतालले आनन्दबन अस्पताल पठाएका थिए । तर, अब भने उपचार, औषधि, परिक्षण भर्ना सबै काम टेकु अस्पतालमै हुने भएको डा. झाले बताए ।

अस्पतालले बिरामीको बायोप्सी गर्नु परेको खण्डमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग सहकार्य गरेको छ । ल्याब र केही स्वास्थ्यकर्मीलाई अस्पतालले तालिम दिइसकेको छ । हाल टेकुमा दश जनाले औषधि खाइरहेका छन् ।

बिरामीमाथि हुने सामाजिक भेदभावका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको हो । अझैपनि बिरामीले छोएको नखाने, बिरामी घरबाटै निकाल्ने प्रवृत्ति हट्न सकेको छैन । डा. झाका अनुसार ‘शरीरमा फुस्रो र नदुख्ने दाग देखिनु यो रोगको प्रमुख लक्षण हो ।

के हो कुष्ठरोग ?

डब्ल्यूएचओका अनुसार, माइक्रोब्याक्टेरियम लेप्रे ब्याक्टेरियाबाट हुने कुष्ठरोग दीर्घकालीन संक्रामक रोग हो । यसको लक्षण देखिन २० वर्षसम्म लाग्न सक्छ । माइक्रोब्याक्टेरियम लेप्रेले बिस्तारै आफ्नो संख्या बढाउँछ ।

यो रोगले मुख्यतः छाला, बाहिरी स्नायु, माथिल्लो श्वासमार्गको झिल्ली (म्युकोसा), आँखालाई प्रभावित गर्छ । यो रोग उच्च संक्रामक नभए पनि उपचार नगरिएका बिरामीको मुख र नाकबाट निस्किने पानीका ससाना थोपाका माध्यमले तिनको निरन्तर सम्पर्कमा आउने व्यक्तिमा सर्ने गर्छ । सबै उमेर समूहकालाई हुन सक्ने कुष्ठरोग तीन सातादेखि ७० वर्ष माथिकामा समेत देखिएको छ ।

उपचार

बहुऔषधि उपचारले कुष्ठरोग निको हुन्छ । यो रोग बढी कीटाणु भएको मल्टी ब्यासिलरी (एमबी) र कम कीटाणु भएको पासी ब्यासिलरी (पीबी) गरी दुई प्रकारको हुन्छ । यस्तै, मल्टी ब्यासिलरी अर्थात् बोर्डरलाइन कुष्ठरोगको तीव्रता मध्यम खालको हुन्छ । यो सबैभन्दा सामान्य रूप हो । यसमा छालामा दाग टयुबरकुलाइड कुष्ठरोगमा जस्तै देखिन्छ । तर त्यो धेरै बढी संख्यामा र अनियमित हुन्छ । ठूलो दागले पूरा अंगलाई प्रभावित गर्न सक्छ ।

एमबी भए एक वर्ष र पीबी भए ६ महिना नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । उपचार प्रक्रियामा आएर औषधि सेवन गरिरहेकाहरूबाट यो रोग सर्दैन । बहुऔषधि उपचारको एक मात्रा औषधि सेवन गरेदेखि नै यसले शरीरमा भएको कुष्ठको ९९ प्रतिशत ब्याक्टेरियालाई निष्क्रिय बनाउँने चिकित्सक बताउँछन् ।

लक्षण

➡️शरीरमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखिनु ।

➡️ आखीभौँ लगायतका रौँहरू झर्नु ।

➡️ हातखुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुनु ।

➡️ खुट्टा निरन्तर झमझमाउनु ।

➡️ हातखुट्टा छुँदा थाहा नहुनु ।

➡️ स्नायु सुन्निनु वा दुख्नु ।

➡️ मांशपेसी कमजोर हुनु ।

➡️ कानको लोती बाक्लो हुनु ।

➡️ अनुहार र शरीरमा गिर्खाहरू देखिनु ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, #उपचार सुरू, #कुष्ठरोग, #कुष्ठरोग विशेषज्ञ डा. सिबेन्द्र कुमार झा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com