महालेखाको नजरमा अस्तव्यस्त बीपी प्रतिष्ठान
करोडभन्दा बढीको औषधि म्याद गुज्रिएर पनि भण्डारमै
काठमाडौं। अनियमितता र भ्रष्टाचारका काण्डहरूले सधै चर्चामा आउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्तमान सरकारले पदमुक्त गरेका उपकुलपति, नि. उपकुलपति समेत भएका शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले पनि पूर्व पदाधिकारीकै पदचिन्ह पछ्याएको महालेखा परीक्षण कार्यालयको प्रतिवेदनमा पाइएको छ। महालेखा परीक्षणको कार्यालयको आ.व. २०८१/०८२ को प्रतिवेदनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कृयाकलाप अस्तव्यस्त र अनियमितताको चाङ देखिएको छ हो। लेखापरीक्षणको क्रममा प्रतिष्ठानले स्वीकृत लेखामान अनुसार वित्तीय विवरण समेत तयार नगरेको पाइएको छ।
प्रतिष्ठानले मिति २०७३/०३/२८ मा सम्झौता गरि हालसम्म निर्माणाधीन नै रहेको ४०० शैयाको मातृशिशु भवनको अनियमितालाई प्रतिवेदनले गम्भीर रूप उठाएको छ। मन्त्रालयबाट ७६ करोड मात्र लागत अनुमान स्वीकृत गराएर नेपाल सरकारबाट बहुवर्षीय ठेक्काको श्रोत सुनिश्चितता समेत नलिई अनियमित तवरले २ अर्ब ४६ करोडमा प्रतिष्ठानले ठेक्का सम्झौता गरेको उक्त खरिदको प्रक्रियागत रूपमा ठेक्का सम्झौताको म्याद थपेको लेखापरीक्षणका क्रममा नपाइएको हो। त्यसैगरी पूर्वानुमान गर्न सकिने काममा समेत २५ करोड २८ लाख रुपैयाँको भेरिएसन आदेश स्वीकृत गरेर परिणाम थप गरि अनियमितता गरेको पाएको छ।
प्रतिष्ठानको गल्फ मैदान भाडा सम्झौता २०७८ सालमा समाप्त भएतापनि हालसम्म प्रतिष्ठानले ८० लाख भन्दा बढी असुल उपर नगरेको पाइएको छ। प्रतिष्ठानका हालसालै पदमुक्त रजिष्ट्रार डा. सूर्य संग्रौलाको कार्यक्षेत्रमा पर्ने यो कार्यमा निजले आर्थिक लाभ लिएको देखिन्छ। निजले प्रतिष्ठान भित्रको क्यांटीन भाडामा समेत निजकी श्रीमती तथा कांग्रेस सह-महामन्त्री डा. डीला संग्रौलाको सिफारिसमा अनियमित तवरले आफन्तलाई जिम्मा लगाएर लाखौँ अपचलन गरेको आरोप अख्तियारको छानबिनमा छ।
प्रतिष्ठानले म्याद गुज्रिएको औषधी प्रतिस्थापन नगरी सम्बन्धित व्यापारीहरूसँगको मिलिभगतमा १ करोड १९ लाख भन्दा बढीको औषधी भण्डार गरेर राखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिष्ठानका पदमुक्त अस्पताल निर्देशक डा. जगत नारायण, शिक्षाध्यक्ष प्रा. डा. संजिव कुमार शर्मा र कर्मचारीहरूलाई फार्मेसी अनियमितता सम्बन्धमा केही समय देखि अख्तियारले समेत छानबिन गरिरहेको सन्दर्भ यस प्रतिवेदनले पुष्टी गरेको छ।
प्रतिष्ठानका पदमुक्त शिक्षाध्यक्ष प्रा. डा. संजिव कुमार शर्मालाई आफ्नो छोरा बिराट मेडिकल कलेजमा भर्ना गरेर पदको दुरुपयोग गरि अनियमित तवरले पूर्णकालीन रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गराइरहेको विषयमा समेत वर्तमान सरकारले छानबिन गर्नुपर्ने प्रतिष्ठानका प्राध्यापक र कर्मचारीहरूको माग छ।



क्याटेगोरी : मेडिकल शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस