दुई वर्ष बढी विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका भए सरूवा


काठमाडौं। सरकारले दुई वर्ष बढी विभागको महानिर्देशक रहेका सहसचिवलाई सरूवा गरेको छ। हुलाक सेवा विभागको महानिर्देशक मनमाया भट्टराई पंगेनी र वातावरण विभागको महानिर्देशक ज्ञानराज सुवेदीको सरूवा गरेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मनमायालाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र ज्ञानराजलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरूवा गरेको हो।

मनमाया हुलाक सेवा विभाग भएको असोजमै दुई वर्ष पूरा भइसकेको छ। त्यस्तै ज्ञानराज वातावरण विभागको महानिर्देशक भएको साउनमै दुई वर्ष पूरा भएको थियो। दुई वर्ष नाघेका दुबै महानिर्देशकलाई सरकारले सरूवा गरेको हो।

सुवेदी सरूवा भएसँगै वातावरण विभागमा नेपाल प्रशासन सेवाको सहसचिव पठाउन बन्द भएको छ। किनकी वातावरण विभागमा नेपाल प्रशासन सेवाको सहसचिव (महानिर्देशक)को दरबन्दी कटौती भइसकेको छ। अब उक्त विभागमा प्राविधिक सहसचिव महानिर्देशक बन्नेछन्।

यता दुई वर्ष पूरा भएका यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल भने “मामाघर” गएका छन्। ठगी तथा संगठित अपराधको कसूरमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले महानिर्देशक पोखरेललाई हिरासतमा लिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख हुँदा सहसचिव राजिव मलेसिया काण्डमा परेका हुन्। ‘सेटिङ मास्टर’का रूपमा परिचित राजिव पूर्व मुख्यसचिव एकनारायण अर्यालका विश्वासपात्र पोखरेल सिआईबीको हिरासतमा पुगेका छन्। मनमाया र राजिव दुबै एकनारायण ‘ग्रुप’का सहसचिव हुन्।

 सरकारले शेषनारायण पौडेललाई यातायात व्यवस्था विभागको महानिर्देशक बनाउने गरी पूर्वाधार विकास मन्त्रालयमा सरूवा गरेको छ। सिआईबीको हिरासतमा रहेका राजिवलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरूवा गर्नुपर्नेमा त्यसमा भने सरकार चुकेको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानराज सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ