विवादित सहसचिवहरूलाई छानीछानी जिम्मेवारी दिने गृहमन्त्री रमेश लेखक

समाचार टिप्पणी
काठमाडौं। विवादित पृष्ठ भूमिका सहसचिव तीर्थराज भट्टराईलाई लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिँदा गृहमन्त्री रमेश लेखकको जागिर धरापमा परेको छ। त्रिपाल खरिद घोटालामा मुद्दा खेपेका ‘लालची’ सहसचिव भट्टराईलाई गृहमन्त्री लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले ‘टिआईए’को प्रमुख अध्यागमन अधिकृत बनाएर पठाएका थिए। राष्ट्रिय परिचयपत्र ठेक्का विवादमा मुछिएका भट्टराईले भिजिट भिसामा सेटिङ हान्न थालेपछि अख्तियारको फन्दामा परेका छन्। जहाँ गयो त्यहीँ विवादमा परेका सहसचिव भट्टराईलाई महत्त्वपूर्ण जिम्मेवारी दिने गृहमन्त्री लेखक र सचिव दुवाडी उनैलाई दोष देखाएर उम्किन खोजिरहेका छन्। तर, भटराईलाई अध्यागमन पठाउने र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हान्न लागेपछि रातारात मन्त्रालय सरूवा गर्ने गृहमन्त्री लेखकमाथि गम्भीर र चौतर्फी प्रश्न उठेको छ। पार्टीभित्र र बाहिरबाट राजीनामा दिन दबाब आउन थालेको हो। आफू संलग्न भए मन्त्रीबाट मात्र होइन राजनीतिबाटै राजीनामा दिने लेखकले प्रस्टीकरण दिन थालेका छन्।
सहसचिव भट्टराई मात्र होइन विवादित पृष्ठभूमिका लालबाबु कवारीलाई कानुनको धज्जी उडाउँदै गृहमन्त्री लेखक र सचिव दुवाडीले गृहजिल्ला महोत्तरीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाए। गोरखाको सिडिओमा सरूवा हुँदा कैफियत देखिएपछि हाजिर हुन नपाएका कवारीलाई लेखक र दुवाडीले सिडिओ बनाएर ससम्मान घर पठाएका थिए। गृह मन्त्रालयले बनाएको सिडिओ पदस्थापन वा सरुवा कार्यविधिमा गृहजिल्लामा कर्मचारीलाई सिडिओ नबनाउने भनेको छ। गृहले बनाएको उक्त कार्यविधिको दफा ५ (ङ) मा ‘कर्मचारीको स्थायी ठेगाना भएको जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन, सरुवा गर्न वा काजमा खटाइनेछैन’ भन्ने उल्लेख छ। तर, उक्त कार्यविधिलाई ‘घाममा सुकाउँदै’ गृह मन्त्रालयले लालबाबु कवारीलाई गृहजिल्ला महोत्तरीको सिडिओ पठाइयो।
महोत्तरीका सिडिओ हुनेवित्तिकै कवारी विवादमा परे। कवारीको मातहतमा काम गरिरहेका नीयब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेपछि सिडिओ समेत शंकाको घेरामा परेका हुन्। सवारी ज्यान कसुर मुद्दामा कृया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जाँदा घुस/रिसवत लिएको भेटेपछि सुब्बा यादवलाई अख्तियारले रंगेहात समातेको हो। महोत्तरीमा सिडिओ कवारीको गतिविधिको चौतर्फी विरोध भएपछि पठाउनेहरूले नै अहिले फिर्ता बोलाएका छन्। कानुनविपरीत गृहजिल्ला मकवानपुरको सिडिओ बनाइएकी स्किम श्रेष्ठलाई भने चलाइएको छैन। यसरी गृहमन्त्री लेखक र सचिव दुवाडीको सुशासन कस्तो छ भन्ने प्रस्ट देखिन्छ।
गृहमन्त्री लेखकले विवादित पृष्ठभूमिका सहसचिव टोकराज पाण्डे, गोगनबहादुर हमाललाई मन्त्रालयको महाशाखा प्रमुख राखेर आफ्नो ‘टिम’ बनाए। नक्कली लाइसेन्स प्रकरणमा विवादमा तानिएका यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशकद्वय पाण्डे र हमाललाई गृहमन्त्री लेखकले मन्त्रालयमै राखे। सिडिओको अनुभव नै नभएका पाण्डेलाई नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा हुँदै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख बनाए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख हुँदा भिजिट भिसा विवादमा तानिएका र प्रहरीसँग लफडामा परेका हमाललाई गृहमन्त्री लेखकले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख हुँदै कैलालीको सिडिओ बनाएका हुन्। नक्कली लाइसेन्स प्रकरणमा अख्तियारले छानबिन गरिरहेका सहसचिवहरूलाई गृहमन्त्री लेखक र सचिव दुवाडीले खोजीखोजी महत्त्वपूर्ण जिम्मेवारी दिएका छन्।
गृहमन्त्री लेखकले काठमाडौंको सिडिओ बनाएका सहसचिव जयनारायण आचार्य सर्वोच्च अदालतको न्यायिक टिप्पणीमा परे। शाखा अधिकृत हुँदा भारतबाट ल्याएर पेस गरेको शैक्षिक प्रमाणपत्र सर्वोच्च अदालतको बृहत्त पूर्ण इजालसले नक्कली भएको ठहर गरेपछि उनी विवादमा तानिए। तर, गृहमन्त्री लेखकले आचार्यलाई लामो समयसम्म सिडिओबाट हटाएनन्। सिडिओबाट हटाएपनि गोगनलाई कैलालीको सिडिओ बनाएर आचार्यलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाए। गृहबाटै ‘आउट’ गर्नु पर्ने विवादित सहसचिव गृहमन्त्री लेखकको ‘कोर टिम’मा पर्न सफल भए।
यातायातमा मात्र होइन काठमाडौं महानगरपालिका स्वास्थ्यको कर्मचारी ‘किर्ते’ भर्ना विवादमा मुछिएका सहसचिव वसन्त अधिकारीलाई गृहमन्त्री लेखकले बाराको सिडिओ बनाए। भिजिट भिसा प्रकरणमा मुद्दा खेपेका विमल पौडेललाई सचिवालयमा राखे।
विवादित सहसचिवहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिएर गृह मन्त्रालयलाई ‘श्रम यातायात क्लब’ जस्तो बनाएका गृहमन्त्री लेखक अहिले आफै विवादमा तानिएका छन्। विवादित सहसचिव भट्टराईलाई अध्यागमनको जिम्मा लगाएका गृहमन्त्री लेखकलाई ‘पाप’ कराउन थालेको छ। अन्य विवादित सहसचिवको जिम्मेवारीको ‘पाप’को भार समेत उनले बोक्नु पर्ने दिन आउन सक्छ। राजीनामाको माग त गृहमन्त्री लागि ‘ट्रेलर’ मात्र हुन सक्छ। विवादित सहसचिवको घेरामा परेका गृहमन्त्री लेखकको ‘फिल्म’ नै सार्वजनिक हुँदा उनकै शब्द सापटी लिँदा राजनीतिबाटै राजीनामा दिनुपर्ने दिन पनि आउन सक्छ।
क्याटेगोरी : समाचारट्याग : ## वसन्त अधिकारी, #गोगनबहादुर हमाल, #जयनारायण आचार्य, #डा. टोकराज पाण्डे, #तीर्थराज भट्टराई, #लालबाबु कवारी
तपाईको प्रतिक्रिया दिनुहोस