परराष्ट्र सचिव राजदूत भएर गएकै राजदूतावास ‘बेकामे’, यी हुन खारेज गर्नुपर्ने राजदूतावासहरू


काठमाडौं। परराष्ट्र सचिव भरतराज पौड्याल राजदूत भएर गएको क्यानडाको अटोवास्थित नेपाली आवासीय राजदूतावास ‘बेकामे’ देखिएको छ। सरकारले अनावश्यक भन्दै अटोवास्थित नेपाली आवासीय राजदूतावासलाई खारेजीको प्रक्रियामा लाने भएको हो। विशेष सुविधा दिएर पौड्यालाई राजदूत बनाएर पठाएको क्यानडाको अटोवास्थित नेपाली आवासीय राजदूतावास औचित्यहीन देखिएपछि खारेजीको सूचीमा परेको हो। यस्तो औचित्यहीन दूतावासमा राज्यको करोडौं लगानी भएको छ। क्यानडाका लागि आवासीय राजदूतले क्युबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को स्थायी प्रतिनिधिको रूपमा समेत काम गर्दै आएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित उच्चस्तरीय शासकीय सुधार आयोगले म्यानमार (बर्मा)को यांगौनस्थित नेपाली आवासीय राजदूतावास पनि अनावश्यक र औचित्यहीन रहेको भन्दै खारेजीको तयारी गरेको छ। परराष्ट्र सेवा कै सहसचिव हरिशचन्द्र घिमिरे राजदूत भएर गएको यांगौनस्थित नेपाली आवासीय राजदूतावास खारेज गर्नुपर्ने खालको रहेको सरकार कै ठम्याइ छ। यस्ता अनावश्यक दूतावास पालेर परराष्ट्र मन्त्रालयले राज्यकोषको सत्यानाश पार्दै आएको पाइन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली कै जोडबलमा सुम्निमा तुलाधर राजदूत बनाइएको डेनमार्कको कोपनहेगनस्थित नेपाली आवासीय राजदूतावास समेत ‘बेकामे’ देखिएको छ। उक्त अनावश्यक राजदूतावासमा आईएनजीओकर्मीलाई राजदूत बनाएर राज्यको ढुकुटीमाथि अनावश्यक व्यभार थप्ने काम भएको छ।

बहराइनको मनामास्थित नेपाली आवासीय राजदूतावासको पनि खासै काम छैन। उक्त राजदूतावासबाट नेपाल र नेपाली नागरिकले खासै लाभ लिन नसकेपनि देशले अनावश्यक खर्च गरेर दूतावास र कर्मचारी पालिरहेको छ। परराष्ट्र सेवा कै तिर्थराज वाग्ले राजदूत बनेर गएको बहराइनस्थित नेपाली आवासीय राजदूतावास खारेज गर्नुपर्ने सूचीमा परेको छ।

ओमनको मस्कटथित नेपाली आवासीय राजदूतावास पनि अनावश्यक रहेको सरकारी कार्यदलको निष्कर्ष छ। परराष्ट्र सेवा कै सहसचिव डोरनाथ अर्याल राजदूत रहेको मस्कटमा राजदूत र राजदूतावास पालिराख्नु भनेको राज्यकोषलाई अनावश्यक भार मात्र हो। उक्त राजदूतावास खारेजीमा जाने सूचीमा परेको छ।

ब्राजिलको ब्रासिलियास्थित नेपाली आवासीय राजदूतावास पनि खारेजीको सूचीमा परेको छ। परराष्ट्र सेवा कै निर्मलराज काफ्ले राजदूत रहेको ब्राजिलमा नेपालीहरू पनि खासै गएको पाइँदैन। तलब भत्ता र अन्य सुविधा खानुबाहेक ब्रासिलियास्थित नेपाली आवासीय राजदूतावासको कुनै काम नभएको परराष्ट्र कै उच्च अधिकारीहरू बताउँछन्। ब्रासिलियास्थित नेपाली आवासीय राजदूतावास नेपालका लागि ‘सेता हात्ती’ बनेको छ। यस्ता ‘सेतो हात्ती’ पाल्नुभन्दा फाल्नु नै जाती हुन्छ।

प्रशासन तर्फको सहसचिव मधुकुमार मरासिनी महावाणिज्यदूत बनेर गएको अमेरिकाको न्युयोर्कस्थित महावाणिज्यदूतावास जागिर खानका लागि मात्र पठाउने ठाउँ हो। बीचैमा मधु फर्किएपछि परराष्ट्र सेवाका उपसचिव पुष्पराज भट्टराईले चलाएका थिए। अहिले परराष्ट्रकाले ठूलो भाग खान परराष्ट्र कै सहसचिव महावाणिज्यदूत बन्ने गरी दरबन्दी थपे। दधिराम भण्डारी महावाणिज्यदूत बनेर गएपनि उक्त महावाणिज्यदूतावासको काम र आवश्यकता देखिँदैन। त्यसैले सरकारले पनि खारेजीमा लाने तयारी गरेको छ।

खारेजीमा जाने राजदूतावास र महावाणिज्यदूतावासको काम छेउछाउमा रहेका नियोगले हेर्ने भएकाले राखिराख्नुको औचित्य नरहेको सरकारको निष्कर्ष देखिन्छ। हुन पनि हो यस्ता अनावश्यक र औचित्यहीन नियोग राख्नुभन्दा खारेज गर्नु नै मुलुकको हितमा छ। परराष्ट्र मन्त्रालयमा अनावश्यक रूपमा थपिएका महाशाखाहरू पनि अनावश्यक र औचित्यहीन रहेकाले ढिलो-चाँडो खारेज हुने परराष्ट्र कै अधिकारीहरू बताउँछन्।

क्याटेगोरी : समाचार
ट्याग : #डोरनाथ अर्याल, #तिर्थराज वाग्ले, #दधिराम भण्डारी, #निर्मलराज काफ्ले, #भरतराज पौड्याल, #सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत, #हरिशचन्द्र घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ