‘एस-म्यान’ गृहसचिव खोज्दा कांग्रेसी गृहमन्त्रीहरू विवादमा

समाचार टिप्पणी
काठमाडौं। नेपाली कांग्रेसबाट गृहमन्त्री बनेकाहरू एकपछि अर्को गर्दै विवादमा आउन थालेका छन्। भटानी शरणार्थी काण्डले राजनीतिक करियर धुमिल बनाएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणपछि रमेश लेखकको पालो आएको छ। भिजिट भिसा काण्डले गृहमन्त्री लेखकको राजनीतिक करियरमा नराम्रो ‘धक्का’ लागेको छ। गृहमन्त्री लेखकका विश्वासपात्र सहसचिव तिर्थराज भट्टराई भिजिट भिसा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायरामा पुगेपछि गृहमन्त्री लेखकमाथि नैतिक संकट परेको हो। गृहमन्त्री लेखकको राजीनामा मागेर विपक्षीहरूले सदन चल्न दिएका छैनन्।
तत्कालीन गृहमन्त्री खाँणका बेला होस् या रमेश लेखकले अहिले गृह मन्त्रालय हाँकेर अवस्था होस् गृहसचिव ‘एस-म्यान’ खोज्दा कांग्रेसी मन्त्रीहरू विवादमा परेको देखिन्छ। गृह मन्त्रालयको खासै अनुभव नभएका र मन्त्रीले जे भन्यो त्यहिँ गर्ने, मन्त्रीले हप्कायो भने पनि ‘हस् हजुर’ भनेर काम गर्ने गृहसचिव हुँदा अन्तिममा मन्त्रीको राजनीतिक करियर नै ‘ड्यामेज’ हुने खतरा बढेको छ।
बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृह भित्रिएका सचिव टेकनारायण पाण्डे गृहको अनुहार नै नदेखेका कर्मचारी हुन्। विद्यालय निरीक्षकदेखि सहसचिवसम्म शिक्षामा बसेका पाण्डे कर्णाली प्रदेशबाट भूमि मन्त्रालय हुँदै गृह मन्त्रालय छिरेका थिए। मन्त्रीले भनेको कुरा सहजै गरिदिने र यो गलत छ भन्न नसक्ने सचिव पाण्डे भुटानी शरणार्थी काण्डमा अहिले कारागारको ‘हावा’ खाइरहेका छन्। उनीसँग गृहको अनुभव नहुँदा त्यहाँ बस्दा गर्ने कामले निम्तन सक्ने परिणामको आँकलन नै गर्न सकेनन्। गृहको क्याडर नै गृहसचिव हुँदा मन्त्री र सचिवबीच कतिपय कुरामा विवाद हुने गर्थे। मन्त्रीले चाहेर पनि गलत काम गर्न सक्दैनथे। पाण्डेलाई गृहसचिव लगेका खाँणको उनीसँग कुनै विवाद भएन। अन्ततः आफै विवादमा परे। भुटानी शरणार्थी काण्डमा पनि प्रहरी हिरासत र केही समय पुर्पक्षका लागि थुनामा बस्दा गृह मन्त्रालय चलाए जस्तै ‘मिलेर’ बसे। कतिसम्म भने पाण्डे गृहसचिव हुँदा व्यापारीलाई विभूषण दिन विभूषण शाखामा गएर व्यापारीको नाम आफैले टाइप गराएको परिदृश्य पनि गृहमा देखा पऱ्यो।
अहिले गृहमन्त्री रमेश लेखकले गृहसचिव बनाएर लगेका गोकर्णमणि दुवाडी पनि ‘एस-म्यान’ सचिवको रूपमा चिनिन्छन्। टेकनारायण पाण्डे जस्तै भूमि मन्त्रालय समेत चलाएर गृह छिरेका दुवाडी मन्त्री लेखकले भनेको मान्नेमा पर्छन्। ‘एस- म्यान’ गृहसचिव दुवाडी ३ महिना सप्तरी र ६ महिना जति सिन्धुपाल्चोकको सिडिओ बनेको बाहेक उनलाई गृहको खासै अनुभव छैन। जसरी तत्कालीन गृहमन्त्री खाँणले सचिव पाण्डेलाई हप्काउँथे अहिले लेखकले पनि सचिव दुवाडीलाई त्यस्तै व्यवहार गर्ने गरेको गृहमा लामो समयदेखि बसेका अधिकारीहरू बताउँछन्। खाँणको पालामा जस्तै लेखकको पालामा पनि गृहमा मन्त्री र सचिवबीच विवाद भएको खासै सुन्नमा आएको छैन। मन्त्री र सचिवबीच विवाद नभए पनि मन्त्री भने अहिले भिजिट भिसा काण्डले गृहमन्त्री लेखक चर्को विवादमा छन्।
अनुभवी र अडान लिन सक्ने सचिव भएको मन्त्रालयमा मन्त्री र सचिवबीच विवाद भएपनि गलत काम हुन पाउँदैन र काण्डमा मन्त्री-सचिव फस्ने सम्भावना कम हुन्छ। कांग्रेसी गृहमन्त्रीहरूले ‘एस-म्यान’ सचिव खोज्दा विवादमा परेर राजनीतिक करियर नै बर्वाद बनाएको देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #'एस-म्यान' गृहसचिव, #गोकर्णमणि दुवाडी गृहसचिव, #टेकनारायण पाण्डे, #नक्कली भुटानी शरणार्थी काण्ड, #बालकृष्ण खाँण, #भिजिट भिसा, #रमेश लेखक गृहमन्त्री
तपाईको प्रतिक्रिया दिनुहोस