गृहमन्त्रीको सचिवालयबाट विपद्मा पुगेका विमल पौडेललाई चीन पठाएर गरियो पुरस्कृत


काठमाडौं। गृहमन्त्री रमेश लेखकको सचिवालयमा रहेका शाखा अधिकृत विमल पौडेल विवादमा आएपछि सुटुक्क सरूवा गरियो। खासगरी भिजिट भिसा प्रकरणले चर्को रूप लिएपछि उक्त ‘केस’मा मुछिएका पौडेललाई सुटुक्क मन्त्रालय कै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा अन्तर्गतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखामा पुऱ्याइयो। विवादबाट केही हदसम्म जोगिनका लागि उनलाई त्यता व्यवस्थापन गरेको पुष्टि भएको छ।

गृहमन्त्री लेखकले पौडेललाई चीन पठाएर उल्टै पुरस्कृत गरेको पाइएको छ। गृह मन्त्रालयबाट पछिल्लो समय २ हप्ताकाका लागि चीनमा पठाइएको टोलीमा विवादित शाखा अधिकृत पौडेल पनि रहेको पाइएको छ। भिजिट भिसा प्रकरणको विवादमा गृहमन्त्री लेखकको सचिवालयबाट विपद्मा पुगेका पौडेललाई चीन पठाएर पुरस्कृत गरिएको हो। यसले पनि पौडेल अझै गृह मन्त्रालयभित्र हर्ताकर्ता शाखा अधिकृतको भूमिकामा रहेको पुष्टि हुन्छ।

पौडेलसहित खेमराज कोइराला, रोमाकान्त अर्याल, सरोज सुवेदीलगायत करिब २ दर्जन गृहका कर्मचारीहरू २ हप्तादेखि चीनमा रहेको पाइन्छ। उक्त टोलीमा पौडेल चीन पठाएर गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले पुरस्कृत गरेका छन्। जिल्लामा बसेर विवद्मा लामो समयदेखि काम गरेकाभन्दा पनि मन्त्रीको सचिवालयबाट विवाद छल्न विपद्तिर पुगेका पौडेल जस्ता कर्मचारी चीन पुगेका छन्। यसले गृह मन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठेको छ।

पौडेलसहितको जम्बो टोली चीन गएको विषयमा जिज्ञासा राख्दा गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले आफूलाई थाहा नभएको बताए। सूचना नै नहुने सूचना अधिकारी गृह मन्त्रालयमा देखिन्छन्। उक्त मन्त्रालय कसरी चलिरहेको भन्ने कुरा यसबाट पनि अनुमान लगाउन सकिन्छ। विवाद छल्न गृहमन्त्रीको सचिवालयबाट विपद्मा पुगेका पौडेललाई चीन पठाउनुले गृह मन्त्रालयको नियत प्रस्ट भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #चीन भ्रमण, #विमल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ