युएनडिपीले युनिगाेल्ड एचआइभी टेस्ट किट समयमै नकिन्दा वार्षिक २५०० नयाँ एचआईभी केस पहिचानमा समस्या

काठमाडौं । सरकारले प्रत्येक वर्ष करिब २५०० नयाँ एचआइभी केसहरू पत्ता लाग्ने लक्ष्य राखेको छ । तर नयाँ केसहरू पत्ता लगाउन आवश्यक पर्ने किटको अभाव भएको छ। नयाँ पिआर परिवर्तन भएसँगै पछिल्लो एक महिना यता युनिगोल्ड एचआइभी टेस्ट किटको अभाव देखिएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार केसहरूको समयमै पहिचानका लागि आवश्यक युनिगाेल्ड एचआइभी टेस्ट किटहरूको आपूर्ति एक वर्षको लागि पर्याप्त हुन सक्छ। तर, यी किटहरू हाल नेपालको बजारमा उपलब्ध नहुनु र युएनडिपी मार्फत ग्लोबल फन्डको आपूर्तिमा भएको ढिलाइले एचआइभी एड्स नियन्त्रणमा गम्भीर स्वास्थ्य चुनौती खडा गरेको छ।
एचआइभी सङ्क्रमित व्यक्तिहरू (PLHIV) नयाँ रूपमा एन्टिरेट्रोभाइरल थेरापी (ART) मा दर्ता हुने संख्या पनि घट्दै गएको छ । तथ्यांक अनुसार २०७५/७६ मा २,४१४ बाट २०७९/८० मा २,५७८ र २०८०/८१ मा २,४०६ मा झरेको देखिन्छ। जुन टेस्ट किट अभावसँग जोडिएको हुन सक्छ।
नेपालले एचआइभी एड्स को रोकथाम र उपचारमा उल्लेखनीय प्रगति हासिल गरेको छ, जसमा सन् २०१० देखि नयाँ एचआइभी सङ्क्रमणमा ७५% भन्दा बढी कमी आएको छ। यस्तो प्रगतिमा र्यापिड डायग्नोस्टिक टेस्ट (RDT) किटहरू, विशेष गरी युनिगोल्ड को महत्त्वपूर्ण भूमिका छ। यी किटहरूले जोखिममा रहेका समूहहरू यौनकर्मी, समलिङ्गी पुरुष, ट्रान्सजेन्डर, र लागूपदार्थ प्रयोगकर्तामा छिटो र प्रभावकारी रूपमा HIV सङ्क्रमण पत्ता लगाउन मद्दत गर्छन्।
ग्लोबल फन्डको सहयोगमा UNDP मार्फत नेपाल सरकारलाई यी किटहरू आपूर्ति गर्ने प्रतिबद्धता गरिएको छ। तर, हाल एक महिना भन्दा बढी समयदेखि आपूर्तिमा ढिलाइ हुँदा नयाँ केसहरूको पहिचान र ART मा दर्ता प्रक्रिया प्रभावित भएको छ।
समस्याको गम्भीरता
टेस्ट किटको अभावले नयाँ HIV सङ्क्रमणहरू पत्ता लगाउन नसक्दा समयमै उपचार र रोकथामका प्रयासहरू प्रभावित भएका छन्। स्वास्थ्य सेवामा अविश्वास: स्वास्थ्य सेवा प्रदायकहरू र समुदायमा विश्वास कमजोर हुँदैछ, किनभने आवश्यक सेवाहरू उपलब्ध छैनन्।
समयमै पहिचान नहुँदा HIV सङ्क्रमण फैलिने सम्भावना बढ्छ, जसले ART मा दर्ता र उपचारमा थप चुनौती थप्छ । ग्लोबल फन्डले सन् २०२५-२०२७ को लागि नेपालको HIV/AIDS, क्षयरोग, र मलेरिया नियन्त्रणका लागि ५१.२७ मिलियन अमेरिकी डलरको अनुदान प्रदान गरेको छ। यो अनुदानले जोखिममा रहेका समूहहरूलाई लक्षित गरी स्वास्थ्य सेवाहरू सुदृढ गर्ने र HIV सङ्क्रमणलाई शून्यमा झार्ने नेपालको रणनीतिलाई समर्थन गर्छ। यद्यपि, UNDP मार्फत हुने आपूर्ति प्रक्रियामा भएको ढिलाइले यो रणनीतिलाई असर गरेको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस