‘नक्कली मोही’ बनेर ज्ञानेन्द्रको सोल्टी होटलले पशुपतिनाथ गुठीको जग्गा खाएको खुलासा

काठमाडौं। नेपालका राजा समेत रहिसकेका ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको सोल्टी होटललले ‘नक्कली मोही’ बनेर पशुपतिनाथ गुठीको जग्गा खाएको खुलासा भएको छ। काठमाडौंको पिंगलास्थान बागमती करिडोरमा रहेको श्री पशुपतिनाथ भण्डार तहविल गुठीको जग्गामा सोल्टी होटल लिमिटेड ताहाचल मोही जनिएको पाइन्छ। नेपाल कै प्रतिष्ठित पाँच तारे होटल सोल्टी मोही बनेर आराध्यदेव पशुपतिनाथको जग्गा खान पुगेको देखिन्छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिट नम्बर १०२११०७०९ को सिट नम्बर २ क्षेत्रफल १ रोपनी १ आना ३ पैसा २ दाम जग्गा २०५५ साल चैतमा गुठी कायम भएको स्वास्थ्य लाइभले फेला पारेको छ। गुठी अधिनस्थ जनिएको उक्त जग्गामा सोल्टी होटल लिमिटेडलाई मोही बनाइएको पाइन्छ। ज्ञानेन्द्र शाह मालिक रहेको सोल्टी होटललाई मोही बनाएर पवित्र पशुपतिनाथ जोडिएको गुठीको जग्गा कब्जा गरेको खुल्न आएको हो। होटल नै जोताहा किसान (मोही) बनेर शिवस्व खान सक्रिय भएको देखिन्छ।
जहाजमा खाना पकाएर खुवाउने ठेक्का पाएको उक्त सोल्टी होटलले पशुपतिनाथ भण्डार तहविल गुठी १ रोपनी बढी जग्गा मोही बनेर कर्लप्पै खाएको हो। यसले तत्कालीन राजा ज्ञानेन्द्रले पशुपतिनाथको जग्गा हिनामिनामा संलग्न रहेको आशंका उत्पन्न भएको छ।
पछिल्लो समय सरकारी सार्वजनिक जग्गा गुठीमा लगेर नक्कली मोही खडा गरी हिनामिना गर्ने प्रवृत्ति बढ्दो छ। बागमती करिडोरमा रहेको पशुपतिनाथ भण्डार तहविल गुठीको नाममा कायम गरिएको जग्गामा सोल्टी होटललाई मोही खडा गरेर उक्त जग्गा हिनामिना गरिएको पाइन्छ। यो विषयमा सम्बन्धित सरोकारवाला निकायहरूले अनुसन्धान गर्न जरूरी देखिन्छ।
बागमती नदी उकासको जग्गा योजनाबद्ध तरिकाले गुठीमा लगेर सोल्टी होटललाई मोही कायम गरेर सरकारी जग्गा हिनामिना गरेको समेत आरोप लागेको छ। तत्कालीन राजा ज्ञानेन्द्र कै स्वामित्वमा रहेको होटललाई मोही खडा गरेर १ रोपनी बढी जग्गा अपचलन भएको विषयमा स्वास्थ्य लाइभले थप खोजबिन गर्नेछ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र शाह, #नक्कली मोही र गुठी, #पशुपतिनाथ भण्डार तहविल गुठी, #होटल सोल्टी लिमिटेड
तपाईको प्रतिक्रिया दिनुहोस