मुख्यसचिव अर्यालको नेतृत्व मान्न कर्मचारीहरू अनइच्छुक

काठमाडौं। एक्सिडेन्टल मुख्यसचिव एकनारायण अर्यालको नेतृत्व मान्न आम कर्मचारीले अनइच्छा प्रकट गरेका छन्। भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरूद्ध उठेको ‘जेन-जी’ आन्दोलनले ल्याएको सुशिला कार्की नेतृत्वको सरकारले प्रशासनिक नेतृत्व पनि परिवर्तन गर्नु पर्ने आम कर्मचारीको माग छ। अध्यादेश मार्फत कानुन ल्याएर मुख्यसचिवसहित ५५ कटेका अधिकांश सचिवहरू हटाएर ५० प्रतिशत सचिवहरू बाहिरबाट ल्याउँदा पनि फरक नपर्ने असन्तुष्ट कर्मचारीहरूको भनाइ छ।
सिंहदरबार जल्दा लापत्ता भएका मुख्यसचिव अर्याल नागरिक सरकार बन्ने निश्चित भएपछि सिंहदरबारमा झुल्किएर उक्त सरकारसँग मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए। ‘जेन-जी’को आन्दोलनबाट जोगिन निर्वाचित सरकार राजीनामा दिएर भूमिगत भएपछि स्थायी सरकार (कर्मचारी प्रशासन)को नेतृत्व गरेका अर्यालले अभिभावकीय भूमिका खेलेर जनतामा आशा जगाउने काम नगरेको भन्दै उनीप्रति सिंहदरबारका आम कर्मचारी रूष्ट छन्। मुख्यसचिव अर्यालको नेतृत्व नमान्ने र उनलाई नमस्कार पनि नगर्ने भन्ने लाइन कर्मचारीहरूमा भित्रभित्रै भुसको आगोझैं फैलिरहेको छ। उक्त आगो सिंहदरबार जलेजस्तै अवस्थामा बाहिर आउन सक्ने सम्भावना देखिन्छ।
‘जेन-जी’ आन्दोलनको बाध्यात्मक पृष्ठभूमि तयार पार्न मुख्यसचिव अर्यालको पनि विशेष भूमिका रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालको डिजाइनमा मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गराउने र त्यसलाई कार्यान्वयन गर्न मुख्यसचिव अर्यालले विशेष चासो र भूमिका खेलेको ‘ओपन सेक्रेट’जस्तै छ। त्यहिँ कारणबाट उठेको आन्दोलनले सिंहदरबार जल्दा लापत्ता भएका उनलाई नेतृत्व स्वीकार्न आम कर्मचारीलाई असहज भएको पाइन्छ।
मुख्यसचिव अर्याल सिंगो कर्मचारीको अभिभावक बन्न सकिरहेका छैनन्। आफ्नो जागिर लम्ब्याउन र अख्तियारमा जान ‘कुलिङ अफ पिरियड’को प्रावधान हटाउन उनले जुन चलखेल र हर्कत गरे त्यो त जगजाहेर नै छ। मुख्यसचिव अर्यालको दैउसीभैलो शैलीले उनी ट्रेड युनियनको नेतामाथि उठ्न नसकेको उच्च पदस्थ कर्मचारीहरू नै टिप्पणी गर्छन्। ट्रेड युनियनको नेताको शैलीमा मुख्यसचिव अर्याल प्रस्तुत भएर आफ्नो स्वार्थ पूर्ति गर्न लागेपछि संघीय निजामती सेवा विधेयकले हावा खाएको छ। संसद नै भंग भएपछि उनको नेतृत्वमा खेलिएको देउसीभैलोले खोजेको एउटा माग पूरा भएको हो।
मुख्यसचिव अर्यालले यस पटक निजामती सेवा दिवसका दिन पुरस्कृत हुने कर्मचारीको नाम समेत घोषणा गराउन सकेनन्। ओलीलाई खुसी पारेर वरिष्ठ सचिवहरूलाई माइनस गरेर मुख्यसचिव बन्न सफल भएका अर्याल निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम घोषणा गर्न/गराउन असफल भएपछि आम कर्मचारीले उनीसँग मन कुड्याएका छन्।
निजामती सेवा दिवसको अवसरमा आयोजित मुख्यसचिव-११ र ट्रेड युनियन-११ बीचको मैत्रीपूर्ण फुटबल खेलमा स्वर्ण पदक प्राप्त गर्नुबाहेक उनले ट्रेड युनियनभन्दा माथि उठेर समग्र कर्मचारी प्रशासनको हक हितमा काम गर्न नसकेको आम कर्मचारीको बुझाई छ। एमाले र ओलीसँग बफादार रहँदै आएका अर्यालले आफूलाई मात्र लाभ हुने काम गरेपछि आम कर्मचारी रिसाएका हुन्। ‘एमालेका झोलेहरू’को मात्र स्वार्थमा काम गरेको उनीमाथि आरोप लाग्दै आएको छ।
राजधानीमा राष्ट्रिय विपत्ति पर्दा आँधिखोलामा पञ्चेबाजे बजाएर अबिर जात्रा मनाएका मुख्यसचिव अर्यालले ‘कुलिङ अफ पिरियड’देखि सिंहदरबार जल्दासम्म खेलेको भूमिकालाई लिएर कर्मचारीहरूले आलोचना गर्दै आएका छन्। अधिकांश कर्मचारीहरू मुख्यसचिव अर्यालको नेतृत्वविरूद्ध बिद्रोहको बिगुल फुक्ने तयारीमा रहेकाले नयाँ सरकारले उनको बिदाइ गरेर कर्मचारी प्रशासनमा पनि नयाँ नेतृत्व स्थापित गर्न आवश्यक देखिन्छ। नत्र कर्मचारी प्रशासनमा पनि असन्तुष्ट कर्मचारीले ‘जेन-जी’ ‘मुभमेन्ट’ नल्याउलान भन्न सकिन्न।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस