‘घुस्या’ सहसचिव झलकराम अधिकारी सधैं सरूवा भइरहन्थे आकर्षक अड्डामा 


समाचार टिप्पणी

काठमाडौं। घुस काण्डमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा चलेका सहसचिव झलकराम अधिकारी सधैं आकर्षक अड्डामा सरूवा हुने कर्मचारीमा पर्छन्। सहकारी, राजस्व अनुसन्धान, अध्यागमन जस्ता विभागमा बसेर तरमार्दै आएका सहसचिव अधिकारी घुस काण्डमा भ्रष्टाचारमा डामिएका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ७० लाख घुस/रिसवत लिएको आरोप लगाउँदै अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ। भ्रष्टाचार मुद्दा दायर भएसँगै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव रहेका अधिकारी स्वतः निलम्बन परेका छन्।

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समेत अधिकारीले अध्यागमन विभागको महानिर्देशक हुँदा जीवी राईको राहदानी फुकुवा गरेर विदेश भाग्न सहजिकरण गरेको विषयमा प्रश्न उठाएको छ। सहकारी विभागको रजिष्ट्रारको भूमिकामा अधिकारीसहित नमराज घिमिरे, डा. टोकराज पाण्डेलगायतको बयान लिएको थियो। उक्त समितिले अधिकारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको देखिन्छ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा राजस्व चुहावट नियन्त्रण गर्न भूमिका खेल्नुपर्नेमा अधिकारीले उल्टै राजस्वमाराहरूसँग घुस लिएको पाइन्छ। राजस्व छलीमा संलग्नहरू सौदाबाजी गरेर घुस खाएको तथ्य फेला परेपछि अधिकारीविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

कास्की ढिकुरपोखरीका अधिकारी शाखा अधिकृत हुँदा अध्यागमनमा बसेर एकछत्र राज गरेका थिए। २०५९ सालदेखि २०६६ सालसम्म उनी गृहका हर्ताकर्ता कर्मचारी थिए। २०७२ सालमा सहसचिव भएपछि आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर-१, आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय जस्ता आकर्षक अड्डामा जमेर बसेका थिए। सहकारी विभाग, वातावरण विभाग, अध्यागमन विभाग, राजस्व अनुसन्धान विभाग जस्ता आकर्षक अड्डामा बसेर तरमाराका अधिकारीले राजस्व चुहावट नियन्त्रणमा भन्दा घुस संकलनमा लिप्त थिए भन्ने कुरा अख्तियारको अनुसन्धानले देखाएको हो। सहसचिव भएपछि अर्थ मन्त्रालय र मातहतका निकायमा बसेर तरमारिरहेका अधिकारी राजस्व अनुसन्धान विभाग जस्तो आकर्षक ठाउँमा बसेर घुस उठाउन केन्द्रित रहेको पाइन्छ। राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा खाएको घुसले अधिकारी भ्रष्टाचारमा डामिएर निलम्बनमा परेका हुन्।

काठमाडौंको बुद्धनगरमा बस्दै आएका अधिकारीले घुस लिएर दिव्यश्वरीमा जग्गा नै खरिद गरेको अख्तियारले जनाएको छ। उनले घुस लिएर उक्त जग्गा खरिद गरेको अख्तियारले आरोप लगाएको हो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले समेत अधिकारीलाई विभागीय कारबाही सिफारिस गरेको थियो। ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो। आयोगले ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सहसचिव अधिकारीको ‘कनेक्सन’ देखाएको थियो। राजस्व अनुसन्धान विभागमा हुँदा त घुस नै लिएको पुष्टि भएको छ। उनै ‘घुस्या’ सहसचिव अधिकारीलाई अख्तियारले भ्रष्टाचारमा डामेको हो।

जहाँ गयो त्यहिँ चलखेल गर्ने सहसचिव अधिकारीको अबको बाँकी खेल विशेष अदालततिर हुनेछ। उनी ‘घुस्या’ सहसचिव रहेको अख्तियारको दाबी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ