भोजपुरको याङपाङमा ३ रोपनी सार्वजनिक जग्गा हिनामिना भएको ठहर


काठमाडौं। भोजपुर जिल्लाको अरूण गाउँपालिका वडा नम्बर १ (साबिक याङपाङ-४)मा झन्डै ३ रोपनी जग्गा हिनामिना भएको पाइएको छ। तत्कालीन मालपोत प्रमुख विष्णुप्रसाद सिटौलाका पालामा २ रोपनी १४ आना १ दाम जग्गा डम्बर बहादुर खत्रीको नाममा दर्ता भएको खुल्न आएको हो।

मोहनरमण भट्टराई नेतृत्वको सरकारी सार्वजनिक गुठी जग्गा हिनामिना प्रतिवेदनमा भोजपुर जिल्ला अरूण गाउँपालिका वडा नम्बर १ (साबिक याङपाङ गाविस वडा नम्बर ४)स्थित कित्ता नम्बर ९ को २ रोपनी १४ आना १ दाम जग्गा डम्बरबहादुर खत्रीको नाममा दुषित दर्ता भएको उल्लेख छ। २०३६ सालमा नापी हुँदा फिल्डबुकमा जग्गावालाको नामथर ‘चिलाउने’ र बुटेन किसिम जनाइएकोमा २०६८ मा छुट दर्तामा उक्त जग्गा डम्बरबहादुर खत्रीको नाममा दर्ता भएको भट्टराई आयोगले ठहर गरेको हो। उक्त जग्गा दर्ता प्रक्रियामा मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, ना.सु. राजु मिश्र तथा खरिदार सुरेद्र अधिकारीलगायत रहेको आयोगले जनाएको छ। मालपोत ऐन २०३४ को दफा २४(२) बमोजिम डम्बरबहादुर खत्रीको नाममा खडा भएको दर्ता बदर गरी उक्त जग्गा दुषित दर्ता गर्ने प्रक्रियामा संलग्न कर्मचारी तथा व्यक्तिहरू उपर आवश्यक अनुसन्धान गरी कारबाही गर्न भट्टराई आयोगले सिफारिस गरेको हो।

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सरकारी सार्वजनिक गुठी जग्गा हिनामिना प्रतिवेदन, २०७६ (मोहनरमण भट्टराई) कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैशाख १० गतेको मन्त्रिपरिषद्को निर्णयले उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याएसँगै भोजपुर याङपाङको झन्डै ३ रोपनी सार्वजनिक जग्गा दुषित दर्ता गराउने कर्मचारी र लाभग्राही भ्रष्टाचारमा डामिने सम्भावना बढेको हो।

 

क्याटेगोरी : समाचार
ट्याग : #विष्णुप्रसाद सिटौला मालपोत अधिकृत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ