यी हुन् बालेन सरकारलाई नटेर्ने शक्तिशाली उपसचिवहरू
काठमाडौं। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई नटेर्ने उपसचिवहरू देखा परेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरूवालाई चुनौती दिँदे सिंहदरबारमा डेरा जमाउने आधा दर्जन बढी उपसचिवहरू फेला परेका हुन्। बालेन सरकारलाई समेत नटेर्ने उपसचिवहरू झंकनाथ ढकाल, केशरबहादुर पण्डित, नवराज अधिकारी, मेघराज पन्त, श्रीधर पन्थी, विश्वरूप दाहाल, शेखर पौड्याललगायत रहेका छन्। उनीहरू अझै पनि खटाएको स्थानीय तहमा हाजिर भएका छैनन्।
बालेन सरकार आइसकेपछि चैत २६ गते, चैत ३० गते र बैशाख २ गते गरी ३ दर्जन उपसचिवलाई विभिन्न स्थानीय तहमा खटाएको थियो। तर, एक महिना बढी भइसक्दा पनि आधा दर्जन बढी उपसचिवहरू खटाएको ठाउँमा नगइ सरकारलाई अटेरी गरिरहेको पाइएको हो।
पूर्वसहरी विकासमन्त्री रामकुमारी झाक्रीमा श्रीमान पशुपति बाबु पुरीदेखि ‘जेनजी’ सरकारका खेलकुद मन्त्रीको सचिवालयमा बसेका मोहन निरौलासम्म सरूवा भएको स्थानीय तहमा हाजिर भइसकेका छन्। उद्योगबाट सप्तरीको शम्भुनाथ नगरपालिकामा सरुवा भएका पुरी र खेलकुदबाट सिरहाको धनगढीमाई नगरपालिकामा सरूवा भएका मोहन निरौला सम्बन्धित स्थानीय तहमा हाजिर भइसकेका हुन्। तर, गृहमा रहेका उपसचिव झंकनाथ ढकाल र शेखर पौड्याल, रक्षाका नवराज अधिकारी, श्रमका केशरबहादुर पण्डित, वित्त आयोगका विश्वरुप दाहाल, सामान्यका श्रीधर पन्थी र कृषिका मेघराज पन्त भने सरकारसँग अटेर गरेर बसिरहेका छन्।
सामान्य प्रशासन मन्त्रालयले उपसचिव विश्वरूप दाहाल कार्यरत रहेको राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको ठाउँमा राष्ट्रिय योजना आयोग लेखेको भनेर उनी जान मानिरहेका छैनन्। सरकारी कामभन्दा लोक सेवा तयारी कक्षा पढाउन बढी व्यस्त हुने दाहाल सानो गल्तीमा टेकेर सिंहदरबार छाड्न नमानेको पाइन्छ। सिरहाको कल्याणपुर नगरपालिकामा सरुवा भएका उनी लोक सेवा तयारी कक्षामा ‘डिस्टर्ब’ हुने भएपछि सिंहदरबारमै डेरा जमाएर बसेका हुन्।
सहसचिव बढुवामा एक नम्बरमा रहेका तीर्थप्रकाश पौडेल खोटङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेका छन्। शालिकराम दाहाल, राजु कुँवर, नवराज जैसी जस्ता उपसचिवहरू खटाएको स्थानीय तहमा हाजिर भइसक्दा चैत २६ गतेको लटमा सरूवा भएका केशरबहादुर पण्डित र विश्वरूप दाहाल अझैसम्म हाजिर नभएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन्।
पण्डित श्रम मन्त्रालयबाट रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सरूवा भएका थिए। उनी हाजिर नभएपछि उक्त नगरपालिका निमित्त राजेश गौतमले चलाइरहेका छन्। त्यस्तै सिरहाको कल्याणपुर नगरपालिकामा सरुवा भएका विश्वरूप दाहाल हाजिर नभएपछि उक्त नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुजितकुमार यादवले सम्हालिरहेका छन्।
चैत ३० गते सिरहाको गोलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका रूपनारायण खतिवडा हाजिर भइसकेका छन्। एकैदिन सरूवा भएका झंकनाथ ढकाल, नवराज अधिकारी, मेघराज पन्त, श्रीधर पन्थी र शेखर पौडेल अझैसम्म हाजिर भएका छैनन्। ढकाल गृह मन्त्रालयबाट सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए। उक्त नगरपालिका होमनाथ सुवेदीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर चलाइरहेको पाइन्छ। कृषिबाट सर्लाही बलरा नगरपालिकामा सरूवा भएका मेघराज पन्त पनि हाजिर भएका छैनन्। उक्त नगरपालिका कौशलेन्द्र मिश्रले निमित्त भएर चलाइरहेका हुन्।
रक्षा मन्त्रालयबाट बाराको सिम्रौनगढ नगरपालिका सरूवा भएका नवराज अधिकारी सिंहदरबारमै डेरा जमाएर बसेका छन्। सिम्रौनगढमा विरबहादुर साह लहेराले निमित्त चलाइरहेको पाइन्छ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको निमित्त हटाउने अभियानमा उनले असयोग गरिरहेका हुन्।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका श्रीधर पन्थी लाई समेत मन्त्रालयले पठाउन सकेको छैन। उक्त नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीले चलाइरहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयबाट पर्साको पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका शेखर पौड्याल पनि हाजिर भएका छैनन्। उक्त नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशल कुमार झाले चलाइरहेका छन्। उनीहरूले सरकारको सुशासन र कर्मचारी परिचालनको नीतिलाई ठाडो चुनौती दिइरहेका हुन्।
पर्साको बहुदरमाई नगरपालिकाका सरूवा भएका रमेश अधिकारी, रौतटहको कटहरिया नगरपालिकामा सरुवा भएका हरिप्रसाद पन्त, बाजुराको त्रिवेणी नगरपालिका सरुवा भएका बुद्धिप्रसाद उपाध्याय, दार्चुलाको महाकाली नगरपालिकामा सरूवा तर्कराज भट्ट, बैतडीको मेलौली नगरपालिकामा सरुवा हरिप्रसाद शर्मा सम्बन्धित स्थानीय तहमा हाजिर भइसकेका छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिका सरुवा भएका मोहनलाल पनेरु, धनुषाको शहिदनगर नगरपालिकामा सरूवा भएका केशव शर्मा, महोत्तरीको जलेश्वर नगरपालिका प्रकाश शर्मा ढकाल, धनुषाको क्षिरेश्वर नगरपालिकामा सरूवा भएका अनुप केसी, धनुषाको विदेह नगरपालिकामा सरूवा टोलराज उपाध्याय,धनुषाको सबौला नगरपालिकाका सरूवा भएका खिमबहादुर भुजेल पनि सम्बन्धित स्थानीय तहमा हाजिर भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयबाट सर्लाहीको ईश्वरपुर नगरपालिका सरुवा भएका शालिकराम दाहाल, सञ्चार मन्त्रालयबाट सर्लाहीको हरिपूर्वा नगरपालिकामा सरूवा भएका जगदीश अर्याल र गृहबाट कालिकोटको खडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भएर गएका सुरेशराज जोशी पनि हाजिर भइसकेका हुन्। जाजरकोटको छेडागाड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका शशिकुमार लम्साल, नलगाड नगरपलिकामा सरूवा भएका कैलाशबहादुर ठकुराठी, जुम्लाको चन्दननाथ नगरपालिकामा सरूवा भएका नवराज जैसी, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सरुवा भएका राजु कुँवर, मुगुको छायाँनाथ रारा नगरपालिकाका सरुवा भएका विष्णु पौडेल, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सरूवा भएका ललितबहादुर बस्नेत र कालिकोटको रास्कोट नगरपालिकामा सरुवा भएका महेश अधिकारी हाजिर भइसकेका छन्। केही शक्तिशाली उपसचिवहरूले भने अझैसम्म सिंहदरबार छाडेका छैनन्।




क्याटेगोरी : समाचार
ट्याग : #केशरबहादुर पण्डित, #झंकनाथ ढकाल, #नवराज अधिकारी, #मेघराज पन्त, #विश्वरूप दाहाल, #शेखर पौड्याल, #श्रीधर पन्थी


तपाईको प्रतिक्रिया दिनुहोस