सहकारीको बेथितिमा मुछिएका रक्षामा सरूवा भएका सहसचिव पण्डित


काठमाडौं। रक्षा मन्त्रालयमा सरूवा भएका सहसचिव रूद्रप्रसाद पण्डित सहकारीमा भएको बेथितिमा समेत मुछिएको फेला परेको छ। उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ अनुसार पण्डित पनि विस्तृत छानबिनका लागि सिफारिस भएका छन्। बालेन सरकारले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको पाइन्छ। तर, उक्त प्रतिवेदनले विस्तृत छानबिन गर्न कारबाही सिफारिस भएका सहसचिव पण्डित रक्षा मन्त्रालय सरूवा गरिएका हुन्।

नवलपरासीको रुपौलियामा दर्ता भएको नागरिक बचत तथा ऋण सहकारी संस्थालाई ६ ठाउँमा सेवा केन्द्र विस्तारका लागि स्वीकृति दिने रजिष्ट्रारको भूमिकामा पण्डित रहेको जाँचबुझ आयोगले औंल्याएको छ। २०७८ फागुन २ गतेदेखि २०७९ माघ २२ गतेसम्म करिब एक वर्ष सहकारी विभागको रजिष्ट्रार भएका पण्डितले सहकारीमा बेथिति निम्ताउन भूमिका खेलेको समितिको ठहर छ। आयोगले उनीमाथि समेत विस्तृत अनुसन्धान गरी कारबाहीका लागि बालेन सरकारलाई सिफारिस गरेको हो।

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले समेत पण्डितको भूमिकामाथि प्रश्न उठाएको थियो। निष्पक्ष अनुगमन गर्न नसकेको, नियमविपरीत कार्यक्षेत्र थप्ने तथा सेवाकेन्द्र खोल्न अनुमति दिने मात्र नभई सहकारीकै पैसामा विदेश घुम्न गएकोसमेत उल्लेख छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा नेपाल राष्ट्र बैंकले २०७९ माघ महिनातिर राष्ट्रिय सहकारी बैंकमा गरेको अनुगमनमा दिएको निर्देशनमा राष्ट्रिय सहकारी बैंकको खर्चमा सहकारी विभागका तत्कालीन रजिष्ट्रारलाई भियतनाम र बेल्जियम भ्रमण गराएको सन्दर्भमा भएको खर्च सम्बन्धितबाट असुलउपर गर्ने स्पष्ट उल्लेख गरिएको छ। त्यो समयमा सहकारी विभागको रजिष्ट्रार भएर भियतनाम र बेल्जियम घुम्ने उनै पण्डित रहेका थिए। सहकारी विभागका रजिष्ट्रारहरूका कारण पनि सहकारी संस्थाहरुको समस्या र अवस्था अहिलेको हालतमा पुगेको देखिन्छ। विभागको नेतृत्वकर्ताहरूले मनपरी गर्दा सहकारीमा गरिब र मजदुर नराम्रोसँग फसेका छन्।

माओवादी सत्ताका तरमारा सहसचिव पण्डितलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाएका थिए। पण्डितलाई बालकुमारी घटनामा मान्छे मरेपछि कारबाहीस्वरूप ललितपुरको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालय तानिएको थियो। माओवादी सत्ताका तरमारा सहसचिव भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारी पण्डितलाई उक्त घटनामा कुनै कारबाही नगरी उल्टै गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाइयो। श्रेष्ठ गृहमन्त्रीबाट हटेपछि पण्डित पर्यटन विभागको महानिर्देशक बने। पण्डित ललितपुरको प्रमुख जिल्ला अधिकारी हुनु अगाडि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, सहकारी विभागको रजिष्ट्रार जस्ता महत्त्वपूर्ण जिम्मेवारीमा थिए। सहकारी विभाग कै रजिष्ट्रार हुँदा पण्डित सहकारीको पैसामा भियतनाम र बेल्जियम घुमेका हुन्। उनै पण्डित फेरि विदेश घुम्न रक्षा मन्त्रालय सरूवा भएको चर्चा छ।

पम्पा भुसाल सामान्य प्रशासन मन्त्री भएका बेला ‘छायाँ मन्त्री’को भूमिकामा पण्डितले काम गरेको चर्चा हुने गरेको छ। माओवादी सरकारमा महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका घर जान लागेका सहसचिव पण्डित रक्षा मन्त्रालय सरूवा भएका हुन्।

सहकारीको दर्ता, कार्यक्षेत्र तथा सेवाकेन्द्र विस्तारमा समेत अनियमिततामा डा. टोकराज पाण्डे, लीलाप्रसाद शर्मा, झलकराम अधिकारी बढी संलग्न देखिन्छन्। उनीहरूको कार्यकालमा यस्ता निर्णय धेरै भएका दुबै प्रतिवेदनमा उल्लेख छ। छानबिनको दायरामा ल्याएर सामान्य प्रशासन मन्त्रालयको जगेडामा राख्नु पर्ने पण्डितको रक्षा मन्त्रालयमा सरुवा गरिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #रुद्रप्रसाद पण्डित, #सहकारीमा भएको बेथिति जाँचबुझ आयोग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ